आइओएमको ताला खोल्न नेविसंघको आग्रह, प्रवेश परीक्षा रोकिए डिनले राजीनामा दिनुपर्ने

नेपाल विद्यार्थी संघ, महाराजगन्ज चिकित्सा क्याम्पस एकाइले चिकित्साशास्त्र अध्ययन संस्थान (आइओएम)को डिन कार्यालय र परीक्षा सञ्चालन शाखामा दुई दिनदेखि लगाइएको ताला खेलेर तोकिएकै मितिमा प्रवेश परीक्षा गर्न माग गरेको छ । आइओएमअन्तर्गत स्नातक तहका सम्पूर्ण प्रवेश परीक्षाको मुखमा चिकित्साशिक्षा संघर्ष समितिले आइतबार लगाएको तालाप्रति आफ्नो संगठनको गम्भीर ध्यानाकर्षण भएको नेविसंघले जनाएको छ । एक साताअघि गठित संघर्ष समितिले आइतबार आइओएममा तालाबन्दी गरेसँगै प्रवेश परीक्षा अनिश्चित हुँदा १९ हजारभन्दा बढी विद्यार्थीको भविष्य अन्योलमा परेको छ ।

मंगलबार विज्ञप्ति जारी गर्दै नेविसंघले जुनकुनै अवस्थामा तोकिएकै समयमा प्रवेश परीक्षा सञ्चालन गर्न माग गरेको हो । आइओएमको पृथक् गरिमा रहेको स्मरण गराउँदै नेविसंघले प्रवेश परीक्षा रोकिँदा तमाम विद्यार्थीको जीवनमा खेलवाड हुने ठहर गरेको छ । तोकिएको मितिमा प्रवेश परीक्षा हुन नसके त्यसको जिम्मेवारी आइओएम डिन कार्यालयले लिनुपर्ने नेविसंघको भनाइ छ । प्रवेश परीक्षा रोकिन गएमा आइओएमका डिन र सहायक डिनले राजीनामा दिनुपर्ने निष्कर्ष नेविसंघको छ ।

नेविसंघले क्याम्पसका स्वतन्त्र विद्यार्थी युनियनका सभापति समेत एकलौटी ढंगबाट चलेको आरोप लगाएको छ । स्ववियु सभापति त्रिवि नियमबमोजिम क्याम्पसको विद्यार्थी नै नरहेको दाबी गर्दै नेविसंघले उनको एकलौटी निर्णयप्रति नेविसंघका तर्फबाट निर्वाचित स्ववियुका पदाधिकारीहरूको विरोध रहेको जनाएको छ । महाराजगन्ज क्याम्पसका स्ववियु सभापतिसमेत संलग्न भई आइतबार चिकित्साशिक्षा संघर्ष समितिले प्रवेश परीक्षा बिथोल्ने मनसायले आइओएममा तालाबन्दी गरेकाले नेविसंघले यस कदमको विरोध गरेको हो ।

यसअघि त्रिभुवन विश्वविद्यालयले पनि आइओएमको तालाबन्दी खोलेर तोकिएकै मितिमा प्रवेश परीक्षा सञ्चालन गर्न आग्रह गरिसकेको छ । त्रिविका कुलसचिव डिल्लीराम उप्रेतीले सोमबार विज्ञप्ति जारी गर्दै आइओएमले विद्यार्थीको माग सम्बोधनका लागि वार्ता टोली गठन गरिसकेको अवस्थामा ताला खोलेर वार्ताबाट समस्याको समाधान गर्न आग्रह गरेका हुन् ।

संघर्ष समितिले राष्ट्रिय चिकित्साशिक्षा ऐनले व्यवस्था गरेको ७५ प्रतिशत छात्रवृत्तिको प्रावधान लागू गर्नुपर्ने, मेडिकल कलेजले विभिन्न शीर्षकमा लिँदै आएका मनोमानी शुल्क फिर्ता हुनुपर्ने, समयानकूल पाठ्यक्रम परिमार्जन गरी गुणस्तरीय र प्रविधिमैत्री पाठ्यक्रम बनाउनुपर्नेलगायत ८ बुँदे माग राखेर आइओएममा तालाबन्दी गरेको थियो । विद्यार्थीका माग जायज हुँदाहुँदै पनि हजारौँ विद्यार्थीको मिहिनेत र भविष्यमाथि खेलवाड हुने गरी प्रवेश परीक्षा बिथोल्ने मनसायका साथ गरिएको तालाबन्दीप्रति भने चौतर्फी विरोध हुन थालेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय