यसरी मिलाउनुहोस् दर र व्रतको सन्तुलन

उत्तम आचार्य
प्रकाशित
२०७६ भदौ १५ गते १९:४०

हाम्रो समाजमा विशेषगरी हिन्दू धर्मावलम्बी महिलाले हरितालिका तिजमा उपवास बस्ने प्रचलन परापूर्वकालदेखि नै चलिआएको छ । व्रतको अघिल्लो दिन रातिको समयमा आफन्त जम्मा भएर विशेष परिकारहरु बनाएर खाने चलन छ, जसलाई दर खाने भनिन्छ । व्रतको दिन अधिकांश हिन्दू महिला निराहार बस्ने गर्छन् ।

व्रत बस्नु सामान्यतया स्वास्थ्यका लागि राम्रो मानिन्छ । तर, सुगरलगायत स्वास्थ्यसमस्या भएका मानिसले लामो समयसम्म नखाएर बसेको खण्डमा स्वास्थ्यमा थप जटिलता आउन सक्छ । नेपाली समाजमा व्रत बस्नुअघि आवश्यकभन्दा धेरै खाने र निराहार (कठोर) व्रत बसेपछि पुनः आवश्यकभन्दा धेरै खानेकुरा खाने चलन छ, जुन शरीरका लागि घातक हुन सक्छ । शरीरको संयन्त्रले थोरै मात्रामा तर समय–समयमा खाना चाहन्छ । यद्यपि, सन्तुलित रुपमा समय–समयमा राखिने उपवास नर्मल मानिसका लागि लाभदायक नै हुन्छ ।

मानिसको शरीरको कुनै भागको अप्रेसन गर्नुपर्दा निश्चित समयअघिदेखि नै खाना नखुवाईकन राखिन्छ र अप्रेसन गरेपश्चात् समान्य झोलबाट बिस्तारै खाना खुवाउन थालिन्छ । त्यसैगरी, व्रत बसिसकेपछि एकैचोटि खाना खानुहुँदैन । खानाको अन्तर भएपछि शरीरको संयन्त्रलाई ठिक ठाउँमा ल्याउन बिस्तारै झोल कुराहरुबाट सुरु गर्नुपर्छ ।

दर र व्रतको सन्तुलन कसरी मिलाउने ?
विशेषगरी सहरमा एक महिनाअघिदेखि दर खाने प्रचलन मौलाउँदो छ । अहिले समाजमा दर र विवाह, व्रतबन्धका भोजमा फरक पाउन छोडिएको छ । दरमा चिल्लोयुक्त माछामासु, मसालेदार खानेकुरा खाँदा स्वास्थ्यमा समस्या देखिन्छ । जस्तो कि शीघ्र समस्याका रुपमा झाडापखाला हुने सम्भावना बढी हुन्छ । त्यसैगरी, यस्ता खानाले दीर्घकालीन समस्या मुटु, श्वासप्रश्वासमा समस्या देखिन्छ भने सँगैसँगै मानिसको तौल बढ्ने पनि हुन्छ । दरका नाममा महिनौँसम्म अधिक खानेकुरा खाँदा ५ केजीसम्म बढ्ने गरेका उदाहरण भटिएका छन्, जुन अनावश्यक तौल घटाउनका लागि निकै समय लाग्ने गर्छ ।

पोषणका हिसाबले दरमा दुग्धजन्य खाद्यपदार्थ खानु राम्रो मानिन्छ । दूध, दही, मखन, घिउजस्ता खानेकुराले शरीरलाई लामो समय शक्ति दिने गर्छन् । शरीरका लागि ग्लुकोज तथा कार्बोहाइड्रेड दिनेखालका खानेकुरा खानु फलदायी हुन्छ । यसका लागि फलफूल तथा अन्नबाट बनेका परिकार खानुपर्छ । मधुमेह, रक्तचाप, ग्यास्ट्रिकका समस्या भएका बिरामीले दर खाँदा खानाको सन्तुलनमा विशेष ध्यान दिनुपर्छ ।

व्रत बस्नुअघि धेरै चिल्लोयुक्त खानेकुरा अत्यधिक मात्रामा खाएर घण्टौँसम्म निराहार बस्दा पेटमा विभिन्न किसिमका असर देखापर्छन् । त्यस्ता असरले ग्यास्ट्रिक हुँदा पाचनप्रणालीमा प्रत्यक्ष असर गर्छ । व्रतका दिन खानेकुरा नखाए पनि प्रशस्तै रुपमा पानी खानुपर्छ । त्यसैगरी, धेरै कमजोर रहेका महिलाले ताजा फलफूलको जुस खानुपर्छ । यसबाट कमजोर महिलाका लागि शरीरमा चाहिने पोषणतत्त्व प्राप्त हुन्छ । व्रतालुलाई रिँगटा लाग्ने, शरीर झुम्म हुने, वाकवाकी लाग्ने भएमा तुरुन्तै ग्लुकोजपानी खाइहाल्नुपर्छ । दर खाँदा सकेसम्म परम्परागत खीर तथा चामलका परिकार खानु उत्तम हुन्छ । आजभोलि दरका नाममा मदिरासेवन गर्ने चलन बढ्दै गएको छ । स्वास्थ्यका लागि केही समयको अन्तरालमा व्रत बस्नु राम्रो हुन्छ । यसो गर्दा हाम्रो पाचन प्रणालीले एक किसिमको आराम पाउने गर्छ ।

तेलमा तारेको खानेकुरा धेरै खाँदा पेटमा विभिन्न समस्या देखिन सक्छ । नुन धेरै सेवन गर्दा धेरै प्यास लाग्ने भएकाले निर्जल व्रत बस्नेलाई समस्या हुन सक्छ । निर्जल व्रत बस्ने प्रचलनलाई रोक्न नसकिए पनि निरुत्साहित भने गर्नुपर्छ । पोषणका हिसाबले दरमा दुग्धजन्य खाद्यपदार्थ खानु राम्रो मानिन्छ । दूध, दही, मखन, घिउजस्ता खानेकुराले शरीरलाई लामो समय शक्ति दिने गर्छन् । शरीरका लागि ग्लुकोज तथा कार्बोहाइड्रेड दिनेखालका खानेकुरा खानु फलदायी हुन्छ । यसका लागि फलफूल तथा अन्नबाट बनेका परिकार खानुपर्छ । मधुमेह, रक्तचाप, ग्यास्ट्रिकका समस्या भएका बिरामीले दर खाँदा खानाको सन्तुलनमा विशेष ध्यान दिनुपर्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय