म्याग्दी स्वास्थ्य कार्यालयका निमित्तप्रमुख आचार्यसहित स्टोरकिपर र लेखापालविरुद्ध अख्तियारको आरोपपत्र, १,३०,००० बिगो

जिल्ला स्वास्थ्य कार्यालय म्याग्दीका निमित्त कार्यालय प्रमुख जनस्वास्थ्य निरीक्षक भीमप्रसाद आचार्यसहित कार्यालयका अन्य दुईविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा भष्टाचार मुद्दा दायर गरेको छ । निमित्तप्रमुख अचार्यसहित कार्यालयमा स्टोरकिपरका रुपमा कार्यरत छैटौँ तहका अधिकृत रघुनाथ रेग्मी र लेखापाल हरिशंकर शर्माविरुद्ध शुक्रबार विशेषमा आरोपपत्र दर्ता गराएको अख्तियारले विज्ञप्तिमार्फत जानकारी दिएको छ । आरोपपत्रमा अख्तियारले तीनैजनालाई १ लाख ३० हजार रुपैयाँ बिगो कायम गरी भ्रष्टाचार निवारण ऐन २०५९ बमोजिम कारबाहीको माग गरेको छ ।

अख्तियारको पोखरा कार्यालयबाट खटिएको टोलीले कार्यालय प्रमुख आचार्य, जिन्सी शाखा प्रमुख रेग्मी, लेखापाल शर्मा र हलुका सवारीचालक भगदत्त जैसीलाई सेवाग्राहीसँग एक लाख तीस हजार घुसबापतको रकम लिइसकेको अवस्थामा रंगेहात नियन्त्रणमा लिएको थियो । आरोपितमध्ये सवारीचालक जैसीलाई भने अख्तियारले सजयछुटसहित आयोगको साक्षीका रुपमा विशेषमा पेस गर्ने भएको छ । सेवाग्राहीबाट घुस–रिसवतबापतको रकम लिई जम्मा गर्न जानेक्रममा पक्राउ परेका सवारीचालक जैसीले कसुरको मतियारका रूपमा कार्य गरेको देखिए पनि उनले भ्रष्टाचारजन्य कसुरमा दोषीलाई कारबाही गराउने कार्यमा आयोगलाई सहयोग पुर्याएकाले उनलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ५५ बमोजिम हाललाई सजायको मागदाबीमा पूर्ण रूपमा छुट दिई आयोगको साक्षीको रूपमा पेस गरिएको अख्तियारको विज्ञप्तिमा उल्लेख छ ।

कार्यालयबाट सञ्चालित विभिन्न कार्यक्रमबापतको पेस्की फस्र्योट गरिदिने बहानामा सेवाग्राहीसँग घुस रकम माग गरिरहेको भन्ने सूचना एवम् उजुरीका आधारमा उनीहरुमाथि टोलीले अनुसन्धान गर्दा घुस लिइसकेको अवस्थामा रंगेहात पक्रिएको थियो । पक्राउ परेकाहरुमाथि अनुसन्धानका क्रममा उनीहरुले सेवाग्राहीले सञ्चालन गरेको कार्यक्रमको पेस्की फस्र्योट गर्ने–गराउने बहानामा घुस रकम मागेर लिई बाँडीचुँडी खाने बदनियतले सवारीचालकमार्फत जम्मा गर्न पठाएको सप्रमाण पुष्टि भएको अख्तियारको दाबी छ ।

विज्ञप्ति
जिल्ला स्वास्थ्य कार्यालय, म्याग्दीका निमित्त कार्यालय प्रमुख (जनस्वास्थ्य निरीक्षक) भीमप्रसाद आचार्य, स्टोरकिपर (अधिकृत छैठौँ) रघुनाथ रेग्मी, लेखापाल हरिशंकर शर्माले कार्यालयबाट सञ्चालित विभिन्न कार्यक्रमबापतको पेस्की फस्र्योट गरिदिने बहानामा सेवाग्राहीसँग घुस रकम माग गरिरहेको भन्ने सूचना एवं उजुरीका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय पोखराबाट खटिई गएको टोलीले कार्यालय प्रमुख (जनस्वास्थ्य निरीक्षक) भीमप्रसाद आचार्य, जिन्सी शाखा प्रमुख (अधिकृत छैठौँ) रघुनाथ रेग्मी, लेखापाल हरिशंकर शर्मा र हलुका सवारीचालक भगदत्त जैसीलाई सेवाग्राहीसँग रु. १,३०,०००।– (एक लाख तीस हजार) घुसबापतको रकम लिइसकेको अवस्थामा रंगेहात नियन्त्रणमा लिएको थियो ।

अनुसन्धानको क्रममा निजहरू भीमप्रसाद आचार्य, रघुनाथ रेग्मी तथा हरिशंकर शर्माले सेवाग्राहीले सञ्चालन गरेको कार्यक्रमको पेस्की फस्र्योट गर्ने–गराउने बहानामा घुस रकम माग गरी रु. १,३०,०००।– (एक लाख तीस हजार) घुस–रिसवत रकम लिई बाँडीचुँडी खाने बदनियतले सवारीचालकमार्फत जम्मा गर्न पठाएको देखिँदा निजहरुले भ्रष्टाचार निवारण ऐन,२०५९ को दफा ३ को उपदफा (१) को कसुर गरेको सप्रमाण पुष्टि भएकाले निजहरूलाई बिगो रु. १,३०,०००।– (एक लाख तीस हजार) कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) र दफा ३ को उपदफा (१) को देहाय (घ) बमोजिम जरिवाना र कैद सजाय हुन मागदाबी लिई आज विशेष अदालत काठमाडौंमा आरोप–पत्र दायर गरिएको छ ।

साथै, आरोपित भगदत्त जैसीले सेवाग्राहीबाट घुस–रिसवतबापतको रकम लिई जम्मा गर्न जानेक्रममा पक्राउ परी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) को कसुरको मतियारका रूपमा कार्य गरेको देखिए तापनि निजले भ्रष्टाचारजन्य कसुरमा दोषीलाई कारबाही गराउने कार्यमा आयोगलाई सहयोग पुर्याएको आधार कारणबाट निजलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ५५ बमोजिम हाललाई सजायको मागदाबीमा पूर्ण रूपमा छुट दिई आयोगको साक्षीको रूपमा पेस गर्ने ।

प्रवक्ता
प्रदीपकुमार कोइराला

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय