आत्महत्याको मिडियाकरणले आमआत्महत्या

पत्रकार सालिकराम पुडासैनीले चितवन पुगेर गरेको आत्महत्याको घटना अहिले देशैभर चर्चामा छ । त्यसपछि पनि निरन्तर आत्महत्याका घटना सार्वजनिक भइरहेका छन् । मुलुककै प्रशासनिक केन्द्र सिंहदरबारको सरकारी कार्यालयभित्र होस् या काठमाडौंको नयाँ बसपार्कको होटेलमा, आत्महत्याका घटना घटि नै रहेका छन् । नेपालमा दैनिक औसत १४ जनाले आत्महत्या गर्ने गरेका छन् । नेपाल प्रहरीको रेकर्डअनुसार विगतका वर्षभन्दा आत्महत्याको दर ८ प्रतिशतले बढेको पाइएको छ । मानिस किन आत्महत्या गर्न विवश हुन्छ ? क्षणभरको आवेगमा आएर मानिस कसरी अमूल्य जीवन नफर्किने गरी समाप्त गर्न तत्पर हुन्छ ? मानिस किन जीवनसित सजिलै हार खान पुग्छ ? आत्महत्याका कारण के–के हुन सक्छन् ? यिनै विषयसँग सम्बन्धित रहेर हेल्थपोस्टकर्मी पुष्पराज चौलागाईंले गरेको कुराकानीका क्रममा मानसिकरोग विशेषज्ञ डा. रितेश थापा यसरी व्यक्त भए–

हाम्रो समाजमा आत्महत्याको विषयलाई लिएर धेरै भ्रम रहेका छन् । आत्महत्या भन्नेबित्तिकै दिमाग खुस्किएको अथवा दिमाग नभएको मानिसले वा कायर वा मूर्खले गर्ने हो भन्ने सोच व्याप्त छ, जुन अवधारणा गलत हो । मानिस जब मानसिक तनाव झेल्न नसकेर डिप्रेसनमा जान्छ वा उसलाई अन्य कुनै मानसिक रोग लाग्छ र त्यसबाट बाहिर निस्कने कुनै पनि उपाय पाउँदैन वा धेरै पीडा भएका बखत कम गर्न नसक्ने अवस्थामा पुग्छ, तब ऊ आत्महत्यामा जाने गर्छ ।

९०% आत्महत्याको कारण मानसिक रोग
आत्महत्याको मुख्य कारण मानसिक रोग हो । अध्ययनहरूले ९० प्रतिशत आत्महत्याको कारण कुनै न कुनै किसिमको मानसिक रोग भएको देखाएका छन् । ९० प्रतिशतमा पनि सबैभन्दा मुख्य कारण डिप्रेसन अथवा मनसँग सम्बन्धित रोग भएको पाइएको छ । आत्महत्या गर्ने मानिसमा पहिलेदेखि नै डिप्रेसनका लक्षणहरू जस्तै, मन उदास हुने, झर्को लाग्ने, नकारात्मक सोच आउने, शरीरमा स्फूर्ति नआउने, नरमाइलो लाग्ने, एक्लो भएर बस्न मन लाग्ने आदि हुन्छ । डिप्रेसन बढ्दै गएपछि जब व्यक्तिले कतै पनि तनाव वा समस्याको समाधान भेट्दैन, त्यसपछि उसमा बाँचेर काम छैन, मर्न पाए हुन्थ्यो भन्ने सोच आउन थाल्छ । अब उसले पीडा कम गर्ने उपाय नै मुत्यु हो भन्ने सोच राख्दै जान्छ । मेरा कारण सबैजनालाई दुःख भयो, मैले बाँचेर अरूलाई दुःख दिनुभन्दा मर्न पाए पनि हुन्थ्यो जस्तो लाग्न थाल्छ । आत्मग्लानि भएका कारण मानिस आत्महत्याको बाटो रोज्ने गर्छ । आत्महत्या गर्नु धेरै नै गाह्रो काम हो ।

आत्महत्याअघि २० पटकसम्म आत्महत्या प्रयास
डिप्रेसन वा मानसिक रोग जसलाई पनि लाग्न सक्छ । जीवनको कालखण्डमा जोकोही यसको सिकार बन्न सक्छ । अनुसन्धानका अनुसार आत्महत्या गरेर जसले मृत्युवरण गर्छन्, उनीहरूले त्यसअघि धेरैपटक आत्महत्याको प्रयास गरेका हुन्छन् । उनीहरूले २० पटकसम्म पनि आत्महत्याको प्रयास गरेका छन् भनेर अनुसन्धानले देखाएको छ ।

कहिलेकाहीँ आवेगमा आएर पनि मानिसले आत्महत्या गर्छन् । समाजले महत्त्वका साथ हेर्ने कुनै परीक्षामा फेल भएका कारण, जीवनमा केही घटना घटेपछि आफ्नो दिमागमा केही तनाव भएपछि नियन्त्रण गर्न नसकेर मानिसले आत्महत्याको प्रयास गर्ने गरेका धेरै उदाहरण छन्, जसमा केहीले मृत्युवरण गर्छन् त केही कुनै कारणले प्रयास विफल हुँदा जोगिन पुग्छन् ।

सुसाइट नोट र त्यसमा कसैप्रति आरोप
पछिल्लो समय कुनै मानिसविशेषलाई दोष लगाएर कुनै सन्देश वा सुसाइट नोट छोडेर आत्महत्या गर्ने घटना पनि बढेका छन् । अधिकांश आत्महत्यामा कुनै न कुनै प्रकारको मानसिक रोगको भूमिका हुने हुँदा कुनै व्यक्तिे यही कारणले मानिसको नाम लिएर आत्महत्या गर्छ भनेर पत्ता लगाउन भने सकिँदैन । उसले मृत्युवरण गरिसकेको अवस्थामा उसले आत्महत्या गर्नुअघि भनेका कुरा वा कसैविरुद्ध लगाएका आरोप सही हुन् या गलत भनी छुट्याउन गाह्रो हुन्छ । तर, प्रायः मानिस तनावै कारण आत्महत्यामा पुग्ने हुन् ।

जापान, जर्मनी, अस्ट्रेलियालगायत देशमा आत्महत्यामा मिडियाको रोलबारे धेरै अनुसन्धान भएका छन् । केही समयपहिले ‘थर्टिन रिजन्स ह्वाई’ नामक एक टेलिसिरियल प्रसारण हुन्थ्यो । उक्त सिरियल प्रसारण हुन थालेपछि गुगलमा कसरी आत्महत्या गर्न सकिन्छ भनेर सर्च गर्ने मानिसको संख्या बढेको देखियो, जसका कारण टेलिसिरियल बन्दै भयो । तसर्थ, यस्ता विषयमा मिडियाको ठूलो प्रभाव रहेको हुन्छ ।

उदाहरणका लागि पैसाको लेनदेन, पारिवारिक समस्या, सामाजिक समस्या वा सम्बन्धनका कारण उसको तनावको स्तर झेल्न नसक्ने अवस्थामा पुगेको हुन सक्छ । त्यसैले पनि कतिपय मानिसले आत्महत्या गर्नुपूर्व आफू तनावमा पर्नुको कारणबारे सुसाइट नोट लेख्ने गरेका पनि छन् । मैले यो कारणले मर्नुपर्यो वा दुःख पाएँ । दुःख पाएँ भनेर लेख्दै गर्दा फलानो व्यक्तिले दुःख दियो, श्रीमती वा श्रीमान्बाट दुःख झेल्नुपर्यो, जीवनमा सफलता हासिल गर्न सकिनँ, परिवारको सपना पूरा गर्न सकिएन इत्यादि सोच आइरहेका हुन्छन् । यही विषयलाई नै सुसाइट नोटमा लेख्ने गरेको पाइन्छ । अहिले मिडियाको जमाना आएकाले मिडियाको प्रयोग बढी हुन थाल्यो । सञ्चार र प्रविधिको विकाससँगै आत्महत्यापूर्व रेकर्ड गर्ने, म्यासेज गर्ने वा भिडियो नै रेकर्ड गरेर छोडिदिने प्रचलन बढेको छ । यद्यपि, यो विलकुलै नयाँ प्रयोग भने होइन, प्रकार मात्र परिवर्तन भएको हो ।

स्वैच्छिक मृत्युवरण गर्न लागेका मानिसले आफ्नो मनमा लागेका कुरा सुसाइट नोटमा लेखेर छोड्ने गरेको पाइन्छ । यो विषय मान्छेमा भरपर्ने कुरा हो, उसले अरूलाई दोष दिन्छ कि दिँदैन । तर, प्रायः आत्महत्या गर्ने मानिसले अरूलाई मात्र होइन कि, आफूलाई पनि दोष दिइरहेका हुन्छन् ।

तनावका कारण
व्यक्तिमा तनाव आफ्नो व्यक्तिगत कारणले पनि हुन सक्छ भने पारिवारिक कारणले पनि हुन्छ । परिवार छुट्टिएर बसेका कारण एकआपसमा सद्भाव तथा सपोर्ट नभएको मानिसलाई तनाव बढ्न सक्छ । त्यसैगरी, सामाजिक कारण पनि तनाव हुन्छ । बदलिँदो समाजिक परिवेशमा विदेश जानेक्रम बढिरहेको छ । समाजमा नकारात्मक कुराहरू बढी आउन थालेका छन् । यसले गर्दा प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा मानिसलाई असर गरिरहेको हुन्छ ।

घटनाको मिडियाकरण हुँदा आत्महत्यालाई प्रश्रय, एक आत्महत्याको समाचारले २ सयसम्म आत्महत्या
तनावमा अर्को वेदर इफेक्ट पनि हुन्छ । सार्वजनिक मिडिया तथा सामाजिक सञ्जालमा कसैको आत्महत्यालाई लिएर अतिरञ्जित गरेर प्रकाशन–प्रसारण गरेको खण्डमा आत्महत्याले प्रश्रय पाइरहेको हुन्छ । प्रख्यात मानिस तथा सेलिब्रेटीले गरेको आत्महत्याको विषयमा रिपोर्टिङ भएपछि धेरै पछिसम्म पनि त्यसैकिसिमका आत्महत्या बढ्दै गएका उदाहरण छन् । कतिपय मानिसले त्यसलाई कपी गर्न खोज्छन् । अन्य मानिसले पनि तनाव झेलिरहेका हुन सक्छन् र उनीहरूमा पनि आत्महत्याको सोच आइरहेको हुन सक्छ । तर, उनीहरूले आत्महत्याको प्रयास गर्न सकिरहेका हुँदैनन् । मिडियामा आत्महत्याको विषय बढी प्रचारित हुँदा वैधानिकताजस्तो ठानेर यसअघि आत्महत्याको प्रयासमा रोकिएका मानिसले पनि आत्महत्याका धेरै घटना समाजमा घटाइरहेका छन् । एकजनाले आत्महत्या गरेपछि २ सय जनासम्मले कुनै न कुनै रूपमा त्यसैबाट प्रेरित भएर आत्महत्या गरेका उदाहरण पनि छन् । त्यही समय मिलाएर, उही उमेर समूहका मानिसले, त्यस्तै प्रकारले आत्महत्या गरिरहेका हुन्छन् ।

तनाव मोडरेट लेबलमा पुगेको छ भने खालि योग वा काउन्सिलिङ गरेर मात्र ठिक हुँदैन । किनभने, डिप्रेसन भनेको रोग हो, जसको उपचार मनोपरामर्श र औषधिबाट हुन्छ । यदि कोही मानिस सिभियरको तहमा डिप्रेसनमा गएको छ र आत्महत्या गर्ने सोच बारम्बार आइरहेको छ भने त्यस्ता बिरामीलाई तुरुन्तै भर्ना गरेर उपचार गर्नुपर्ने हुन्छ । अस्पताल भर्ना भएर काउन्सिलिङ तथा स्वास्थ्यकर्मीको निगरानीमा औषधि दिने गरिन्छ ।

आत्महत्याको रिपोर्टिङका लागि छुट्टै गाइडलाइन बनाइएका छन् । विश्वमा धेरै पत्रकारले यो गाइडलाइनको फलो गरेका छन् । तर, दुर्भाग्यवश हाम्रो देशमा फलो गरेको पाइँदैन । कुन विषयलाई कसरी प्रकाशित गर्नुपर्छ भन्ने कुराको ज्ञान सञ्चारकर्मीमै कम भएको पाइएको छ । त्यसैले पनि एक आत्महत्याको केसले अन्य आत्महत्यालाई प्रश्रय दिइरहेको छ । यस विषयमा विश्वमा धेरै अनुसन्धान भएका छन् । जापान, जर्मनी, अस्ट्रेलियालगायत देशमा आत्महत्यामा मिडियाको रोलबारे धेरै अनुसन्धान भएका छन् । केही समयपहिले ‘थर्टिन रिजन्स ह्वाई’ नामक एक टेलिसिरियल प्रसारण हुन्थ्यो । उक्त सिरियल प्रसारण हुन थालेपछि गुगलमा कसरी आत्महत्या गर्न सकिन्छ भनेर सर्च गर्ने मानिसको संख्या बढेको देखियो, जसका कारण टेलिसिरियल बन्दै भयो । तसर्थ, यस्ता विषयमा मिडियाको ठूलो प्रभाव रहेको हुन्छ ।

तनावका ३ तह र लक्षण
तनाव हुँदा सुरु–सुरुमा मानिसमा शारीरिक लक्षण बढी देखिने गर्छन् । टाउको दुख्ने, जिउ भारी भइराख्ने, निद्रा नलाग्ने, खान मन नलाग्ने तनावका सुरुवाती लक्षण हुन् । बिस्तारै व्यक्तिको काममा इच्छा हराउँदै जाने, मन उदास तथा निरास हुने, दिक्क लाग्ने, स–साना कुरामा झर्किने, एक्लो भएर बस्न मन लाग्ने, अरूले भनेको कुरालाई नकारात्मक रूपमा लिने तथा त्यसै रूपमा प्रतिक्रिया दिनेजस्ता लक्षण विकसित हुन थाल्छन् । त्यसैगरी, परिवारमा घुलमिल कम हुने, पढाइ वा काममा ध्यान कम जाने र नकारात्मक सोच आउने हुन थाल्छन्, जुन डिप्रेसनका लक्षण हुन् । यस्ता लक्षण लगातार दुई सातासम्म प्रायः दिन वा समयमा देखिएमा त्यसलाई डिप्रेसन भनिन्छ । मन उदास हुने, जिउमा स्फूर्ति कम आउने र पहिले रमाइलो लाग्ने कुराहरू नरमाइलो लाग्ने, यौन इच्छा कम हुनेलगायत छटपटी भइरहेको खण्डमा आफैँले त्यसको मूल्यांकन गरेर पनि रोग चिन्न सकिन्छ ।

तनावको उपचार
सुरुवाती लक्षण देखिँदैमा चिकित्सककहाँ गएको खण्डमा डिप्रेसन हो कि होइन, औषधि खानुपर्छ कि पर्दैन, कुन लेबलमा पुगेको छ, पत्ता लगाउन सकिन्छ । डिप्रेसनबाटै आत्महत्याको सोच आउने हो । कहिलेकाहीँ मानिसको व्यवहारमा परिवर्तन भइरहेको हुन्छ, तर उसलाई तनावमा भएकै कारण व्यवहारमा परिवर्तन भएको थाहा हुँदैन । कतिपय मानिसले तनाव होइन, यस्तो जसलाई पनि हुन्छ, म आफैँ नियन्त्रण गर्छु भनेर बसिरहेका हुन्छन् । तनाव के कारणले भयो भनेर पत्ता लगाउन सक्नुपर्छ । कारण पत्ता लागेपछि आफ्नो तर्फबाट वा पारिवारको सल्लाहले उपचार गर्न सकिन्छ । त्यसैगरी, योग गर्ने, सकारात्मक सोच राख्ने, लागुऔषध सेवन नगर्ने, निद्रा मिलाउनेजस्ता अभ्यासले पनि सामान्य तनावलाई व्यवस्थापन गर्न सकिन्छ । यस्ता अभ्यासले पनि तनाव व्यवस्थापन गर्न सकिएन भने डाक्टरकहाँ जानुपर्छ । डिप्रेसनका पनि माइल्ट, मोडरेट, सिभियर गरेर ग्रेडिङ गरिएको छ ।

आत्महत्या मानसिक रोगको उपज हो भनेर बुझ्नुपर्छ । आत्महत्याको प्रयास गर्ने व्यक्तिलाई चिढ्याउने, घृणा गर्ने, उडाउने गर्नुहुँदैन । मिडियाले आत्महत्याबारे निर्धारित गाइडलाइनको फलो गरेर मात्र रिपोर्टिङ गरेको खण्डमा आत्महत्याको दर धेरै हदसम्म घटाउन सकिन्छ ।

सुरुवाती अवस्थाको तनावमा उपचारका लागि आएको अवस्थामा समस्यासँग सम्बन्धित मनोपरामर्श दिएर घर पठाउने गरिन्छ । तनाव मोडरेट लेबलमा पुगेको छ भने खालि योग वा काउन्सिलिङ गरेर मात्र ठिक हुँदैन । किनभने, डिप्रेसन भनेको रोग हो, जसको उपचार मनोपरामर्श र औषधिबाट हुन्छ । यदि कोही मानिस सिभियरको तहमा डिप्रेसनमा गएको छ र आत्महत्या गर्ने सोच बारम्बार आइरहेको छ भने त्यस्ता बिरामीलाई तुरुन्तै भर्ना गरेर उपचार गर्नुपर्ने हुन्छ । अस्पताल भर्ना भएर काउन्सिलिङ तथा स्वास्थ्यकर्मीको निगरानीमा औषधि दिने गरिन्छ । आत्महत्याको सोच आइरहेको व्यक्तिको दिमागबाट त्यस्तो सोच बाहिर निस्किएपछि मात्र घर फर्काउने गरिन्छ ।

आत्महत्या मानसिक रोगको उपज हो भनेर बुझ्नुपर्छ । आत्महत्याको प्रयास गर्ने व्यक्तिलाई चिढ्याउने, घृणा गर्ने, उडाउने गर्नुहुँदैन । मिडियाले आत्महत्याबारे निर्धारित गाइडलाइनको फलो गरेर मात्र रिपोर्टिङ गरेको खण्डमा आत्महत्याको दर धेरै हदसम्म घटाउन सकिन्छ ।

नेपालमा दैनिक औसत १४ जनाले आत्महत्या गर्ने गरेका छन् । पुलिसको रेकर्डअनुसार विगतका वर्षभन्दा आत्महत्याको दर ८ प्रतिशतले बढेको पाइएको छ । यसको रोकथामका लागि सबैजनाको साथ र सहयोग आवश्यक छ ।

(डा. थापा रिदम न्युरो साइक्याट्रिक हस्पिटल एन्ड रिसर्च सेन्टर प्रालिमा कार्यरत छन् ।)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय