ग्यारेजमा थन्किए नेपालगन्ज उपमहानगरका ४ घुम्ती शौचालय, ५९ लाखमा किनेर ४ महिना सञ्चालन

नेपालगन्ज उपमहानगरपालिकाका मुख्य चोकहरूमा सार्वजनिक शौचालय छैनन् । यहाँका मुख्य चोकमा सवारीसाधन र पैदलयात्रुको भिडभाड नै हुन्छ । यसैलाई मध्यनजर गर्दै एसियाली विकास बैंकको सहयोगमा नेपालगन्ज उपमहानगरपालिकाले ५९ लाखमा ४ वटा घुम्ती शौचालय खरिद गरेको थियो । तर, पछिल्लो समय ती घुम्ती शौचालय प्रयोगविहीन अवस्थामा थन्क्याइएका छन् ।

सुरुवातमा करिब ४ महिना चोक–चोकमा राखिएका घुम्ती शौचालय हाल जिल्ला समन्वय समिति बाँकेको सवारी पार्किङमा थन्क्याइएका छन् । यात्रुहरू घुम्ती शौचालयमा शौच गर्नै नआएको तथा शौचालय प्रयोग गरेबापत पैसा तिर्न नमानेका कारण थन्क्याइएको उपमहानगरको भनाइ छ । यद्यपि, शौचजस्तो अत्यावश्यक पक्षमा पैसा नतिरेको बहानामा भएको शौचालयलाई थन्क्याएर सर्वसाधारणलाई सास्ती दिने काम उपमहानगरका लागि कत्ति पनि सुहाउँदो भने होइन । खुला शौचको समस्या हटाउन नेपालगन्ज उपमहानगरपालिकाले त्रिभुवन चोक, धम्बोझी चोक, बिपी चोक, पुष्पलाल चोकलगायत सार्वजनिक शौचालय नभएका अन्य स्थानमा घुम्ती शौचालय राख्ने गरेको थियो ।

ठेकेदारमार्फत सञ्चालन गरिएका घुम्ती शौचालय प्रयोग गरेबापत निश्चित शुल्क तिर्नुपर्ने व्यवस्था गरिएको थियो । तर, शौच गर्न आउने ग्राहकले पैसा तिर्न नमानेपछि ठेकेदारले शौचालय सञ्चालन गर्न इच्छा देखाएनन् । सञ्चालन खर्च नै नउठ्ने देखिएपछि शौचालय थन्क्याइएका हुन् । उपयोग हुने–नहुने अवस्थाबारे अध्ययन नै नगरी खरिद गरिएका घुम्ती शौचालय उपयोगविहीन भएपछि स्थानीयले आक्रोश व्यक्त गरेका छन् ।

जिल्लाका विभिन्न स्थान तथा बाहिरी जिल्लाबाट कामका लागि आउने सेवाग्राहीलाई शौच गर्न समस्या भएपछि उपमहानगरपालिकाले घुम्ती शौचालय खरिद गरेको थियो । चोकमा शौच गर्न नपाएर पैदलयात्रीहरू शौचालय खोज्दै होटेलमा पुग्ने गर्छन् । तर, कतिपय होटेल सञ्चालकले शौच गर्न दिँदैनन् । यस्तो अवस्थामा घुम्ती शौचालय उपयोगविहीन बनाउनु राम्रो नभएको फुल्टेका–७ का बृजेश त्रिपाठीले बताए ।
‘पैसा नतिर्ने ग्राहकलाई सम्झाएर घुम्ती शौचालयमै शौच गर्न लगाउने कि पैसा नतिर्ने भए भनेर ग्यारेजमा थन्क्याउने ? उनले प्रश्न गर्दै भने, ‘यसरी थन्क्याउने भए खरिद नै नरेको भए हुन्थ्यो ।’

उपमहानगरपालिका–७ कै सुष्मा थापाले यहाँका चोकमा सार्वजनिक शौचालय नहुँदा धेरै ठूलो समस्या रहेको सबैलाई थाहा भएको बताइन् । उनले सोधिन्, ‘शौचालय खरिद गरी ल्याउने, अनि त्यसलाई व्यवस्थापन र सञ्चालन गर्न नसक्ने ?’ घुम्ती शौचालयबाट संकलित मलमूत्रलाई प्रांगारिक मल बनाएर प्रयोगमा ल्याउने योजना उपमहानगरपालिकाको थियो ।

उपमहानगरले ३ महिनाका लागि शौचालय सञ्चालन गर्न ७० हजारमा सरसफाइकर्मी भानु भट्टलाई जिम्मेवारी दिएको थियो । सञ्चालन खर्चका लागि ग्राहकसँग पिसाब गरेबापत ५ रूपैयाँ र दिसा गरेबापत १० रूपैयाँ शुल्क लिइँदै आए पनि ग्राहकले पैसा तिर्न नमान्दा शौचालय बन्द गर्नुपरेको उनले बताए । अत्यधिक भिडभाड हुने धम्बोझी चोकमा सार्वजनिक शौचालय नहँुदा शौच गर्नकै लागि आसपासका होटेलहरूमा छिर्नुपर्ने सर्वसाधारणको बाध्यता लामो समयदेखि कायमै रहेको एक होटेल सञ्चालकको भनाइ छ । होटेल सञ्चालक निक्की शेर्पा भन्छन्, ‘शौच गर्न मेरो होटेलमा मानिसको लाइन लाग्छ, शौचालय छिट्टै भरिन्छ ।’ उनका अनुसार अधिकांश सर्वसाधारण नास्ता खानभन्दा पनि शौचालय जानकै लागि उनको होटेलमा आउने गर्छन् ।

शौचालय नहुँदा नेपालगन्ज आउने अधिकांश यात्रुले दिनहुँ सास्ती खेप्नुपरेको विकट क्षेत्र नरेनापुरबाट नेपालगन्ज आएका दाताराम यादवले बताए । उनले भने, ‘शौचालय जानकै लागि चिया–नास्ता खाने बहाना मिलाएर होटेलमा जानुपर्ने अवस्था छ । पश्चिम नेपालकै ठूलो सहरमै सार्वजनिक शौचालय नहुनु दुःखद पक्ष हो ।’ सार्वजनिक शौचालय अभावमा सबैभन्दा धेरै महिलाले हैरानी बेहोर्नुपरेको उनको भनाइ छ ।

नेपालगन्ज उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरि प्याकुरेलले भने उपयोगविहीन भएका कारण शौचालय नथन्क्याएको दाबी गरे । ‘पैसा नतिर्ने समस्या देखिएकै हो । तर, त्यही कारणले थन्क्याउनुपरेको भने होइन,’ प्याकुरेलले भने, ‘अब हामी अलि फरक तरिकाले त्यसको उपयोग गर्छौं ।’ प्याकुरेलका अनुसार सभा–समारोह, महोत्सवजस्ता कार्यक्रमका लागि घुम्ती शौचालय एकदमै उपयोगी साबित भएको छ ।

उनले भने, ‘आठौँ राष्ट्रिय खेलकुदमा त असाध्यै उपयोगी साबित भयो । अब हामी मुख्य रूपमा यस्तै कार्यक्रममा प्रयोग गर्छौं ।’ सार्वजनिक कार्यक्रमका साथै नेपालगन्ज भन्सार, बसपार्कजस्ता क्षेत्रमा घुम्ती शौचालय राख्ने तयारी छ । ‘शौच गर्ने ठाउँको भने चरम अभाव छ,’ प्रमुख प्रशासकीय अधिकृत प्याकुरेलले भने, ‘सार्वजनिक शौचालय नहुँदा चोकमा सर्वसाधारणलाई आपत् पर्ने गरेको छ । हामी व्यवस्थापनका विषयमा योजना बनाउँदै छौँ ।’

नेपालगन्ज बजारमा अहिले पनि ११ वटा सार्वजनिक शौचालय छन् । तीमध्ये ४ वटा मात्रै प्रयोगमा छन् । भएका सार्वजनिक शौचालयलाई राम्ररी प्रयोगमा ल्याउन नसकेको उपमहानगरपालिकाले एकैपटकमा ६ जनाले शौच गर्न मिल्ने घुम्ती शौचालय खरिद गरेर सञ्चालनमा ल्याएको थियो । तर, शौचालय प्रयोग गर्ने सर्वसाधारणले पैसा तिर्न आनाकानी गरेको बहानामा नयाँ काम बीचमै अलपत्र परेको छ । शौचालय अभावमा अहिले पनि बजारमा आउने सर्वसाधारणले शौचका लागि समस्या झेल्दै आएका छन् ।

उपमहानगरपालिकाभित्र डेढ दर्जन शौचालय बन्नेक्रममा रहेको बताउँदै प्रमुख प्रशासकीय अधिकृत प्याकुरेलले घुम्ती शौचालयलाई व्यवस्थित रूपमा सञ्चालनका लागि छलफल भइरहेको जानकारी दिए । उनका अनुसार धम्बोझीमा अत्याधुनिक सुविधासम्पन्न शौचालय सञ्चालनमा आउने तयारीमा रहेको र त्यसबाहेक प्रत्येक वडामा सुविधासम्पन्न शौचालय निर्माणको काम सुरु गरिएको दाबी गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय