दोस्रो वर्ष : थप परिपक्व, अझै जिम्मेवार

हेल्थपोस्ट
प्रकाशित
२०७६ भदौ ९ गते १०:०५

संविधानले नागरिकका लागि सुनिश्चित गरेको मौलिक हकको वास्तविक अर्थमा प्रत्याभूत गराउन सञ्चारमार्फत अनवरत पहरेदारी गर्ने प्रणसहित हेल्थपोस्टनेपालडटकमले यात्रा आरम्भ गरेको एक वर्ष पूरा भएको छ ।

राज्यका नीति–निर्माता नै स्वास्थ्यको महत्ताबारे संवेदनशील र पर्याप्त रूपमा सचेत नभएको मुलुकमा यस विषयमा आमनागरिकलाई जागरुक गराउनु र नीति–निर्माताको सोच र शैली बदल्नु आफैँमा जटिल र लामो यात्रा हो, जुन सीमित अभ्यासबाट सम्भव छैन । तर, समग्र स्वास्थ्य क्षेत्रप्रति प्रतिबद्ध विशिष्टीकृत सञ्चारमाध्यमले त्यसमा अवश्य पनि मजबुत इँटा थप्न सक्छन् भन्ने हाम्रो निष्कर्ष हो ।

स्वास्थ्य क्षेत्रलाई विकृति–विसंगतिको चंगुलबाट छुटकारा दिलाउने र व्यापक चेतनाको अभिवृद्धिमार्फत आमनागरिकलाई स्वस्थ बनाउने लामो यात्रामा एक वर्ष निकै छोटो समय हो, मानव जीवनमा जन्मिएपछिको एक वर्षजस्तै । यात्रा आरम्भका हिसाबले शिशुकाल भए पनि पाठकसामु संप्रेषित सामग्री, तिनमा उठान गरिएका विषयवस्तु, अभियान र लक्ष्यगत दृढताका हिसाबले यो सुरुवाती वर्षले हामीमा निकै परिपक्वता विकास गरेको अनुभूत गरेका छौँ । स्वास्थ्य पत्रकारिताकामा हामीमा आबद्ध पत्रकारहरू नौला नभए पनि तपाईं पाठकमाझ हेल्थपोस्टनेपाल नयाँ थियो । यस अवधिमा हामी यस अर्थमा सबैभन्दा बढी उत्साही छौँ कि, छोटो समयमा तपाईं पाठकले हामीलाई निष्पक्ष र परिपक्व पत्रकारिता गर्ने अनलाइन मिडियाका रूपमा परिचय दिनुभएको छ । हाम्रो पहिलो वर्षको सबैभन्दा ठूलो कमाइ नै यही हो ।

एकजना विद्वान्ले भनेका छन्– पत्रकारिता हतारको साहित्य हो । यद्यपि, पत्रकारिता साहित्यजस्तो सिर्जनशीलता वा कल्पनाशीलताबाट जन्मिने वा हतारको नाममा हचुवामा असंगत विषयवस्तु पस्किने, दुवै चरित्रको हुनुहुँदैन भन्नेमा हामी दृढ छौँ । पत्रकारिता न कल्पनाश्रित काव्य हुन सक्छ, न त विषयवस्तुमा नभई मात्र समयको तीव्रतामा आधारित दौड प्रतियोगिता नै ।

इन्टरनेटको प्रभुत्व स्थापित आजको युगले अब आमनागरिक पत्रकार (सिटिजन जर्नालिज्म) को अवधारणालाई व्यापक बनाएको छ । अब नागरिकले पाएका सूचना छाप्न सञ्चारगृह धाउनुपर्ने युग समाप्त भएको छ । सामाजिक सञ्जाल नै सूचना ब्रेकिङ गर्न काफी भएका छन् । यो ब्रेकिङको निरपेक्ष दौडमा हामी सधैँ अगाडि भएनौँ होला । तर, हामीले तथ्यपरकता, सन्तुलन र विश्वसनीयतालाई मूल मन्त्र बनाएर ‘केही ढिलै भइहालेछ भने पनि विश्वसनीयतामा नचुकौँ’ भन्ने मर्मलाई पछ्याइरह्यौँ ।

हामीले आनलाइनका नाममा छिटो गर्ने होडमा पत्रकारिताको धर्म, समाचारको वैधता, सामग्रीमाथिको विश्वसनीयता र भाषागत अनुशासनमा सम्झौता गर्ने धृष्टता कहिल्यै गरेनौँ । तपाईं पाठक, सामग्रीका स्रोत, विज्ञापनदाता र सरोकारवालाले हामीप्रति दर्साउनुभएको विश्वासको जग पनि यही हो भन्ने हामीलाई बोध भएको छ । आगामी दिनमा पनि हामी अझै विश्वसनीय ढंगले यथासमयमा पूर्ण सूचना दिने अनलाइनका रूपमा तपाईंहरूको भरोसा अझै बढाउन चाहन्छौँ ।

एकजना विद्वान्ले भनेका छन्– पत्रकारिता हतारको साहित्य हो । यद्यपि, पत्रकारिता साहित्यजस्तो सिर्जनशीलता वा कल्पनाशीलताबाट जन्मिने वा हतारको नाममा हचुवामा असंगत विषयवस्तु पस्किने, दुवै चरित्रको हुनुहुँदैन भन्नेमा हामी दृढ छौँ । पत्रकारिता न कल्पनाश्रित काव्य हुन सक्छ, न त विषयवस्तुमा नभई मात्र समयको तीव्रतामा आधारित दौड प्रतियोगिता नै । दोस्रो वर्षमा पनि हामी स्वास्थ्य क्षेत्रका सूचना, नीतिको विश्लेषण, नीतिगत बहस, मार्गनिर्देशनसँगै आमनागरिकका स्वास्थ्यसँग जोडिएका मसिना विषयलाई पनि ‘फोकल लेन्स’ लगाएर तपाईंले बुझ्ने गरी पस्किने प्रयत्नमा रहने प्रण गर्दछौँ ।

स्वास्थ्यमा राज्यको बजेटरी प्राथमिकता, राजनीतिक प्रतिबद्धता कम छ भन्ने हामीलाई राम्ररी बोध छ । तर, अर्कोतिर बढ्दो अनियमितता, अपारदर्शिता र नीतिगत तहमै व्याप्त उदासीनताले स्वास्थ्य क्षेत्रको अवस्था झन्–झन् खस्किँदै गएको छ । यस सन्दर्भमा आगामी दिनमा हाम्रा कलम अझै तिखा हुनेछन्, आँखा र कान अझै चनाखा हुनेछन् । तपाईं पाठकसँगको सम्पर्क र अन्तरक्रिया अझै बलियो बनाउनुपर्नेछ ।

स्वास्थ्यमा राज्यको बजेटरी प्राथमिकता, राजनीतिक प्रतिबद्धता कम छ भन्ने हामीलाई राम्ररी बोध छ । तर, अर्कोतिर बढ्दो अनियमितता, अपारदर्शिता र नीतिगत तहमै व्याप्त उदासीनताले स्वास्थ्य क्षेत्रको अवस्था झन्–झन् खस्किँदै गएको छ । यस सन्दर्भमा आगामी दिनमा हाम्रा कलम अझै तिखा हुनेछन्, आँखा र कान अझै चनाखा हुनेछन् । तपाईं पाठकसँगको सम्पर्क र अन्तरक्रिया अझै बलियो बनाउनुपर्नेछ ।
आगामी वर्ष हामी विगतको सिकाइबाट परिस्कृत भएर स्वास्थ्य चेतना अभिवृद्धि र नीति–निर्माताप्रतिको खबरदारीलाई अझै सघन रूपमा अगाडि बढाउने प्रतिबद्धता दोहोर्याउँछौँ ।

पहिलोे वर्ष पूरा र दोस्रो वर्ष प्रवेशका सन्दर्भमा तपाईं पाठक, विज्ञापनदाता, सरोकारवालाले पुर्याउनुभएको अपार सहयोगप्रति हार्दिक धन्यवाद व्यक्त गर्दछौँ । हामीलाई यहाँसम्म ल्याइपुर्याउने यहाँहरूको सञ्जीवनीरूपी सहयोगप्रति सधैँ कृतज्ञ रहनेछौँ । आगामी यात्रामा तपाईंहरूको हामीप्रतिको विश्वास र भरोसालाई अझै सघन बनाउन निरन्तर प्रयत्नशील रहने आशा र विश्वास व्यक्त गर्दछौँ ।

धन्यवाद !

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय