प्रधानमन्त्री ओलीको प्लाज्मा फेरेसिस सुरु, अझै केहीपटक गरिने निजी चिकित्सक शाहको भनाइ

प्रत्यारोपित मिर्गौलामा समस्या देखिएपछि उपचारका लागि सिंगापुरमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीको प्रथम चरणको प्लाज्मा फेरेसिस प्रक्रिया सुरु भएको छ । सिंगापुरको नेसनल युनिभर्सिटी हस्पिटलमा शुक्रबारदेखि नै प्लाज्मा फेरेसिस गर्ने प्रक्रिया सुरु भएको प्रधानमन्त्रीकी निजी चिकित्सक डा. दिव्या सिंह शाहले हेल्थपोस्टलाई जानकारी दिएकी छिन् ।
प्रधानमन्त्री ओलीको प्लाज्मा फेरेसिस केहीपटक अझै गरिने डा. शाहको भनाइ छ । डा. शाहले भनिन्, ‘सम्माननीय प्रधानमन्त्रीज्यूको उपचारका क्रममा प्लाज्मा फेरेसिस प्रक्रिया गत शुक्रबारबाट नेसनल युनिभर्सिटी हस्पिटल सिंगापुरमा सुरु गरिएको छ । यो उपचार प्रक्रिया अरू केहीपटक गरिनेछ । उहाँको स्वास्थ्यस्थिति सामान्य अवस्थामा रहेको छ ।’
१२ वर्षअघि मिर्गौला प्रत्यारोपण गराएका प्रधानमन्त्री ओलीले २ साताअघि सिंगापुरको सोही अस्पतालमा गराएको परीक्षणका क्रममा उनको शरीरमा मिर्गौलासम्बन्धी एन्टिबडीको संख्या बढेको पाइएको थियो । सोही एन्टिबडीको निष्कासनका लागि प्लाज्मा फेरेसिस विधामार्फत उपचार गर्न लागिएको हो ।
एक–दुईपटक प्लाज्मा फेरेसिस गर्दा बढेको एन्टिबडीमा सुधार आएको खण्डमा थप केहीपटक गर्नुपर्ने मिर्गौलारोग विशेषज्ञले बताउँदै आएका छन् । विशेषज्ञका अनुसार दुईपटकसम्म प्रयास गर्दा पनि सुधार नदेखिएको अवस्थामा थप प्रयास गरिँदैन ।
वरिष्ठ मिर्गौलारोग विशेषज्ञ डा. ऋषिकुमार काफ्लेका अनुसार प्रधानमन्त्रीको स्वास्थ्योपचारमा ३ विकल्प छन्, प्लाज्मा फेरेसिस, पुनः प्रत्यारोपण र डायलाइसिस । प्लाज्मा फेरेसिस उपचार सबैमा उपयोगी नहुने र यदि त्यस्तो भएको खण्डमा प्रत्यारोपण वा डायलाइसिसको बाटो रोज्नुपर्ने उनको भनाइ छ । ६८ वर्ष उमेरका प्रधानमन्त्री ओलीको मुटु, कलेजो, ब्रेन, फोक्सोको अवस्था राम्रो रहेका कारण पुनः प्रत्यारोपण गर्नुपर्ने अवस्था आएको खण्डमा पनि प्रत्यारोपण सम्भव रहेको डा. काफ्लेको भनाइ छ ।
प्रधानमन्त्री