सरकारी अस्पतालबाट बिरामी तानेर निजीमा ब्रह्मलुट, बिचौलियाको घेराबन्दीमा बिरामी, डाक्टरको कार्यकक्ष नै बिचौलियाको अड्डा

भेरी अस्पतालमा उपचारका लागि आएका सुर्खेत सिम्ता गाउँपालिका–२ का रमेश बुढा अस्पतालभित्र छिर्नै पाएनन् । भेरी अस्पतालको गेटसम्म पुगेका उनलाई गेटछेउमा योजनाबद्ध रूपमा घुमिरहेका २–३ जना युवाले सोझै नेपालगन्ज मेडिकल कलेज पुर्याए । पत्थरीसम्बन्धी चेकजाँजका लागि आएका बुढा सरकारी अस्पतालमा जेकजाँच गर्नै नपाउँदै महँगो निजी अस्पतालको बिरामी बन्न बाध्य पारिए ।

सरकारी अस्पतालको सहुलियतपूर्ण सेवा लिन आएका बुढा ‘सस्तोमा छिटो, छरितो र राम्रो उपचार पाउने’ प्रलोभनमा फसेर निजी अस्पताल पुगे । ‘२० हजार रूपैयाँ बोकेर सरकारी अस्पतालमा उपचार गर्न आएको थिएँ, तर निजीमा पुग्दा ४० हजारभन्दा बढी रकम सकियो,’ उनले भने, ‘पैसा नपुगेर घरबाट मगाउनुपर्यो ।’ सरकारी अस्पतालको गेटमै बिचौलियाको सिकार बन्दा आफू लुटिन पुगेको गुनासो बुढाको छ ।

सरकारी अस्पतालको सेवा लिन आउने बिरामी यसैगरी दैनिक बिचौलियाको प्रभावमा परेर निजी अस्पताल र क्लिनिकबाट ठगिरहेका छन् । बिरामी तान्न केही निजी अस्पताल र क्लिनिकले यसरी दलाल नै परिचालन गरेर ठगी गरिरहेको यो एउटा प्रतिनिधि घटना हो । दुर्गम गाउँ र जिल्लाबाट सरकारी अस्पतालमा उपचार गर्न आउने बिरामीलाई झुक्याउँदै निजी अस्पतालमा पुर्याउने कार्यमा यस्ता धेरै युवा संलग्न छन् । निजीमा राम्रो उपचार र डाक्टर छन् भन्दै बिरामी फसाउनु उनीहरूको दैनिकी नै हो । यसका कारण बिरामीलाई दुई गुणाभन्दा बढी आर्थिक भार थपिने गरेको छ ।

निजी अस्पतालमा औषधोपचारका क्रममा चिकित्सकले आफूलाई कमिसन आइरहेको मेडिकलमा औषधि किन्न लगाउनुलगायत घटना यदा–कदा आइरहेको बाँकेमा पछिल्लो समय भने सरकारी अस्पतालबाट बिरामी तानेर निजीमा लाने गरेको पाइएको छ । अस्पतालवरिपरि घुमिरहेका बिचौलियाले कहिले फकाएर, कहिले सस्तो र राम्रो सेवाको प्रलोभन देखाएर त कहिले सरकारी अस्पतालको बदख्वाइँमार्फत संवेगात्मक ब्ल्याकमेलिङ गरेर बिरामीलाई निजी अस्पतालमा पुर्याउने गरेको पीडितको गुनासो छ । ठगीमा संलग्न गिरोहको मिसन नै बिचौलियामार्फत सीधासाधा बिरामीलाई दिग्भ्रमित तुल्याई निजी स्वास्थ्यसंस्थामा पुर्याउनु हो । मध्य तथा सुदूरपश्चिम क्षेत्रका बिरामीका लागि सजिलो र सुलभ सेवाका रूपमा रहेको भेरी अस्पतालमा समेत त्यस्तो ठगी हुने गरेको पाइएको छ ।

डाक्टरको कार्यकक्षमै पुगेर बिरामी निजीमा लैजान्छन् बिचौलिया
डाक्टरको कार्यकक्षमै गएर बिरामीका आफन्तलाई तानेर निजी क्लिनिक तथा अस्पतालसम्म पुर्याउनु भेरी अस्पतालभित्रको नयाँ दृश्य होइन । अस्पतालमा सक्रिय दलाल तथा बिचौलियाले दैनिक यस्तो धन्दा चलाइरहेका छन् । दलाल र अस्पतालका डाक्टर तथा कर्मचारीबीच कमिसनमा सेटिङ भएकाले त्यहाँ दलाललाई कुनै रोकतोक हुँदैन । ‘सीधै चिकित्सकको कार्यकक्षमा जान्छन्, तानेर ल्याउँछन्, उनीहरूले भनेकै ठाउँमा औषधि किन्नुपर्छ,’ बिरामी कुरुवाहरूको गुनासो छ ।

बाँकेकै दुर्गम क्षेत्र नरैनापुरबाट उपचारमा आएका बिरामीका कुरुवा सेवकराम यादवले अस्पताल व्यवस्थापनले नियन्त्रण गर्न नसक्दा बिचौलियाको बिगबिगी बढेको बताए । फितलो व्यवस्थापनका कारण अस्पतालका चिकित्सकदेखि कार्यालय सहयोगी र बिचौलियासमेत यो धन्दामा सक्रिय छन् । अस्पतालमा दलाल तथा बिचौलियाको दबदबा बढेसँगै उपचारका लागि अस्पताल आउने बिरामीले दैनिक सास्ती भोग्दै आएका छन् ।

प्रशासनले देखाउँदैन चासो, चिकित्सकदेखि पियनसम्म गिरोहको मतियार
अस्पताल प्रशासनले भने यस विषयमा चासो नदेखाएको उपचारका लागि अस्पतालमा आएका बिरामी तथा कुरुवाहरू बताउँछन् । सरकारी अस्पतालमा आएका बिरामी दलालमार्फत निजीमा पुगेको बारेमा भेरी अस्पताल प्रशासन बेखबर भने छैन । नेपालगन्जमा आधा दर्जन ठूला निजी अस्पताल छन् । १ सय ५० को हाराहारीमा क्लिनिक नै छन् । ती क्लिनिकमा एकदेखि सातजनासम्म विशेषज्ञ चिकित्सकका बोर्ड झुन्ड्याइएका छन् ।

सरकारीमा राम्रो सेवा नपाइने, राम्रा चिकित्सक नहुने, उपचारमा समस्या भएर रोग झन् थपिने, ल्याब परीक्षण गर्न आवश्यक चिकित्सक र उपकरण नहुने, रोगअनुसार औषधि नदिने, झन् बिरामी बढ्दै जानेलगायत समस्या हुने भन्दै डर देखाएर झुक्याउँदै निजी अस्पताल र क्लिनिक पुर्याउने गरेको पीडितहरूको गुनासोे छ । कुरुवा पुनका अनुसार बिचौलियाले अस्पतालको गेट र फार्मेसीनजिकबाट दलाली गर्ने गरेका छन् ।

‘अस्पताल र यहाँका कर्मचारी तथा चिकित्सक यस विषयमा चिन्तित छैनन्,’ बिरामी कुरुवा पुनले भने ।

अस्पतालमा कार्यरत चिकित्सकदेखि कार्यालय सहयोगीसम्मले निजीमा बिरामी स्थानान्तरणमा प्रत्यक्ष–अप्रत्यक्ष रूपमा सहयोग गरिरहेको बिरामीको गुनासो छ । ठगी गिरोहले अस्पताल प्रशासनदेखि चिकित्सक, कर्मचारीलगायतलाई कब्जामा लिइसकेकाले नै काउन्टर वा डाक्टरको कार्यकक्षमै आएर बिचौलियाले हाकाहाकी बिरामीको तस्कर गरिरहेको पीडितको दाबी छ ।

अस्पतालमा बिचौलिया हाबी भएको स्विकार्छन् मेसु
बिचौलिया हाबी हुँदा विगतमा डाक्टरको काउन्टरदेखि वार्डमै गएर बिरामीका आफन्तलाई समातेर निजी क्लिनिक तथा अस्पतालमा लैजाने गरेको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. रूपमानन्द अधिकारी स्वीकार गर्छन् । विगतमा भन्दा अहिले अस्पतालमा बिचौलियाको सक्रियता बढेको स्वीकार गर्दै मेसु डा. अधिकारीले पछिल्लो समय एजेन्टका रूपमा काम गर्नेमाथि निगरानी बढेको बताए ।

मेसु डा. अधिकारीले अस्पतालमा उपचार गर्न आउने बिरामीलाई झुक्याएर निजीमा लैजाने दलालसँग सजग रहन आग्रह गरे । उनले भने, ‘सरकारी अस्पतालको उपचार सेवा निजीको भन्दा सस्तो र राम्रो छ । बिरामीलाई भ्रममा नपर्न मेरो आग्रह छ ।’

खुलेआम भइरहेको ठगी नियन्त्रणमा अस्पतालले प्रभावकारी पहल र गतिलो कदम चाल्न नसक्दा बिचौलियाका कारण बिरामी र कुरुवाले सास्ती भोगेका छन् । अस्पतालमा निगरानी बढे पनि बिचौलियाको धन्दा भने नरोकिएको बिरामीका आफन्त चन्द्र दाहालले बताए । उनले बिचौलिया तथा दलालको रोकथाम र नियन्त्रणका लागि अस्पताल प्रशासनले प्रभावकारी रूपमा कदम चाल्न नसकेको र चासोका साथ पहल नगरेको जनाउँदै भने, ‘अस्पतालले प्रभावकारी पहल र गतिलो कदम चाल्न नसक्दा बिचौलियाका कारण बिरामी र कुरुवाले सास्ती भोगेका छन् ।’

बिरामीलाई दिग्भ्रमित बनाएर पुर्याइन्छ निजी अस्पताल
दलालले अस्पतालमा राम्रा डाक्टर नभएको, उपचार सेवा नभएको लगायत भ्रामक जानकारी दिँदै बिरामीलाई निजी अस्पताल र क्लिनिकमा लैजाने गर्छन् । पीडित बिरामी र तिनका आफन्तको कानमा पुर्याउने र बिरामीलाई निजीमा जान बाध्य बनाउने गिरोह अहिले पनि भेरी अस्पतालमा सक्रिय छ । तर, अस्पताल प्रशासन भने दलाल र बिचौलियासामु निरीह देखिएको बिरामीका आफन्तको गुनासो छ ।

सरकारीमा निःशुल्क उपचार हुने रोगको एक बिरामी निजीमा पुर्याएबापत १० हजार कमिसन
बिरामीलाई निजी अस्पताल र क्लिनिकमा पुर्याएबापत राम्रै कमिसन पाउने भएकाले दलालको सक्रियता दिनप्रतिदिन बढ्दो छ । निजी अस्पतालले बिरामीको रोग हेरेर दलाललाई कमिसन दिने गरेका छन् । दलाललाई हाडजोर्नीका बिरामी लगेबापत प्रतिबिरामी तीन हजार, प्रसूतिको पाँच हजार, स्नायुसम्बन्धी बिरामीको १० हजार, भिडियो एक्स–रे, इन्डोस्कोपीलगायत जाँचका लागि निजी अस्पताल र क्लिनिकसम्म पुर्याउँदा त्यहीअनुसार कमिसन दिने गरिन्छ ।

सरकारी स्वास्थ्यकर्मीलाई अव्यवस्था नै प्यारो
सरकारी अस्पताल व्यवस्थित रूपमा सञ्चालन हुँदा पूरा समय दिनुपर्ने र बिरामीको चाप बढ्ने भएकाले अधिकांश चिकित्सक र कर्मचारी अस्पतालमा अव्यवस्था नै मन पराउँछन् । निजी क्लिनिकमै व्यस्त रहने चिकित्सक र पैसा कमाउने ध्याउन्न बोकेका निजी अस्पताल वा क्लिनिकबीच अघोषित सहमति नै हुने गरेको छ । सोही सम्झौताबमोजिम दलालहरू सरकारी अस्पतालमा सक्रिय हुने गरेका छन् ।

भेरी अस्पतालमा कतिपय उपचार सेवामा बिरामीको सुविधाका लागि विद्युतीय टोकन प्रणाली जडान गरिएको छ । तर, कर्मचारीको बदमासीले नियमित रूपमा सञ्चालन हुन सकेको छैन । अस्पतालमा बिरामीले उपचार नपाउँदा निजी अस्पताल तथा क्लिनिक चाहार्नुपर्ने बाध्यता रहेको बिरामीको भनाइ छ । सरकारी अस्पताललाई अस्तव्यस्त बनाउने तथा ठगीका गिरोह हाबी भएको नागरिकसमाजका अगुवाहरू बताउँछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय