चितवनमा ह्वात्तै बढ्यो डेंगु संक्रमण, भदौ नलाग्दै गत वर्षभन्दा ६ गुणा बढी संक्रमित फेला

चितवनमा डेंगुका बिरामी बढेका छन् । साउनमा मात्रै १ सय ८३ जनामा डेंगु संक्रमण फेला परेको स्वास्थ्य कार्यालय चितवनले जनाएको छ । कार्यालयका अनुसार डेंगुका बिरामी फेलापर्नेक्रम बढिरहेको छ भने अधिकांश संक्रमित भरतपुर महानगरभित्रका छन् । यद्यपि, यसअघि नै महानगरले जोखिम मानिएका वडाहरूमा तीनदिने ‘खोज र नष्ट गर’ अभियान सञ्चालन गरिसकेको छ ।

‘धेरैजसो संक्रमित महानगर क्षेत्रका छन्,’ स्वास्थ्य कार्यालयका कीटनियन्त्रक राम केसीले भने, ‘अधिकांश अस्पतालमा ज्वरोका बिरामी धेरै छन्, जसमध्ये धेरैमा डेंगुको संक्रमण पाइएको छ ।’ नेपालमा सन् २००४ मा पहिलोपटक चितवनमै एक व्यक्तिमा डेंगुको संक्रमण पाइएको थियो ।

नारायणी अस्पतालमा मात्र ७० संक्रमित
केसीका अनुसार भरतपुर अस्पतालमा ५६, नारायणी सामुदायिक अस्पतालमा ७०, पुष्पाञ्जली अस्पतालमा १४, सेन्ट्रल अस्पतालमा ९ जनामा डेंगु संक्रमण देखिएको छ । चितवन मेडिकल कलेज, भरतपुर सामुदायिक अस्पतालमा ५–५ जनामा डेंगु भेटिएको उनले जानकारी दिए ।
‘बुधबारसम्म चितवनका ७८ जना बिरामीमा संक्रमण भेटिएको छ, जसमध्ये ६९ जना भरतपुर क्षेत्रका छन्,’ उनले भने, ‘सहरी क्षेत्रका बिरामी बढी छन् ।’ बाँकी संक्रमित भने चितवनबाहिरका हुन् । उनका अनुसार भरतपुरको १, २ र ३ मा बढी डेंगुका बिरामी भेटिएका छन् ।

‘सावधानी बढाउनुपर्छ, लामखुट्टेको टोकाइबाट बच्नुपर्छ,’ केसीले भने, ‘झाडी, पानी जम्मा हुने क्षेत्रमा लार्भा हुर्कन सक्छन्, लामखुट्टेको वासस्थान नष्ट अभियानमा सबै लाग्नुपर्ने देखिन्छ ।’

सरकारी अस्पतालमा डेंगु परीक्षण निःशुल्क हुन्छ । तर, निजी अस्पतालमा १ हजारदेखि १ हजार ७ सयसम्म पर्छ । डेंगुको संक्रमण एडिस एजिप्टाई जातको पोथी लामखुट्टेको टोकाइबाट हुन्छ ।

निःशुल्क परीक्षण हुने सरकारीमा किट अभाव हुँदै, १ हजार किट माग
उनका अनुसार ज्वरोका धेरै बिरामी देखा पर्न थालेपछि डेंगु परीक्षण गर्न कीटको माग बढेको छ । भरतपुर अस्पतालमा बुधबार ५० किट दिइएको थियो । ‘भरतपुर अस्पताल र बकुलहर अस्पतालबाट कीटको माग भइरहेको छ,’ उनले भने, ‘केन्द्रमा पहल गरिरहेका छौँ, पाएको ३ सय १० किटसमेत सकिँदै छ ।’
केसीले छिट्टै १ हजार किट ल्याउन पहल भइरहेको बताए । सरकारी अस्पतालमा बिरामीको चाप धेरै हुन थालेपछि अधिकांश बिरामी निजी अस्पतालमा महँगो शुल्क तिरेर रगत परीक्षण गर्न बाध्य छन् । ज्वरोका बिरामीले रगत परीक्षणमा करिब ४ हजार रूपैयाँ खर्चिनुपर्ने अवस्था छ ।

भरतपुर महानगरको जनस्वास्थ्य शाखाका हेल्थ असिस्टेन्ट सूर्य तिवारीले डेंगु संक्रमण फैलिएपछि सचेतनामूलक कार्यक्रम गरिएको बताए । ‘लामखुट्टेको लार्भा खोजी र नष्ट अभियान ३ दिनसम्म चलायौँ,’ उनले भने, ‘अधिकांश क्षेत्रमा लार्भा भेटिएका छन्, लामखुट्टेको संख्या बढ्ने खतरा बढी छ, भेटिएजति लार्भा नष्ट गरेका छौँ ।’ कबाडी पसल, ग्यारेज, वर्कसप, होटेल क्षेत्रमा धेरै लामखुट्टे हुर्किने अवस्था देखिएको उनले बताए । ‘हरेक घरदैलोमा लामखुट्टेबाट जोगिने उपायबारे ब्रोसर बाँडेका छौँ, स्थानीयलाई सचेत बनाएका छौँ,’ उनले दाबी गरे । महानगरले स्वास्थ्य कार्यालयको समन्वयमा ३१ साउनदेखि डेंगुका बढी जोखियुक्त वडाहरूमा तीनदिने अभिमुखीकरण तथा खोज र नष्ट गर अभियान सञ्चालन गरेको थियो ।

सरकारीमा निःशुल्क परीक्षण, निजीमा १७ सयसम्म शुल्क
सरकारी अस्पतालमा डेंगु परीक्षण निःशुल्क हुन्छ । तर, निजी अस्पतालमा १ हजारदेखि १ हजार ७ सयसम्म पर्छ । डेंगुको संक्रमण एडिस एजिप्टाई जातको पोथी लामखुट्टेको टोकाइबाट हुन्छ । संक्रमण पत्ता लगाउन रगत परीक्षण गर्नुपर्छ । डेंगुको संक्रमण देखिएका बिरामीमा टाउको दुख्ने, कम्मर दुख्ने, रक्तचाप परिवर्तन भइरहने, झाडाबान्ता हुनेलगायत लक्षण देखिन्छन् ।

डेंगु रोगबाट बच्न लामखुट्टेको टोकाइबाट बच्नुपर्छ । तर, अस्पतालपरिसरमै लामखुट्टेको बिगबिगी पाइन्छ । अस्पतालमा फूलबारी, शय्या, चमेनागृह, शौचालयमा लामखुट्टे प्रशस्तै भेटिन्छन् ।

भदौ नलाग्दै गत वर्षको कुल संक्रमित संख्याको ६ गुणामा संक्रमण
अघिल्ला वर्षहरूमा भदौपछि मात्रै डेंगुका बिरामी भेटिने गर्थे । यसपालि भने साउनमै संक्रमितको संख्या बढेको छ । गत वर्ष संक्रमण भेटिएका कुल बिरामीको झन्डै ६ गुणामा यसवर्ष साउनमै संक्रमण भेटिसकिएको छ । गत वर्ष चितवनमा १ हजार ९ सय ५१ जनाको रगत परीक्षण गर्दा ३१ जनामा संक्रमण भेटिएको थियो । ०७४–७५ मा १ हजार २ सय ९१ जनाको परीक्षण गर्दा ५९ जनामा संक्रमण देखिएको थियो । ०७३–७४ मा २ हजार ५ सय ६२ जनामा परीक्षण गर्दा ६ सय ८७ जनामा संक्रमण देखिएको थियो ।

अस्पतालमै लामखुट्टेको बिगबिगी
डेंगु रोगबाट बच्न लामखुट्टेको टोकाइबाट बच्नुपर्छ । तर, अस्पतालपरिसरमै लामखुट्टेको बिगबिगी पाइन्छ । अस्पतालमा फूलबारी, शय्या, चमेनागृह, शौचालयमा लामखुट्टे प्रशस्तै भेटिन्छन् । अस्पतालमा भर्ना भएका अधिकांश बिरामीलाई झुलको समेत व्यवस्था छैन । अस्पताल हाताभित्रै टायर, डस्टबिन, गमला, ढलवरिपरि लामखुट्टे सहजै भेटिन्छन् । अस्पतालपरिसर सरसफाइ गर्न कर्मचारी खटाइएको भए पनि लामखुट्टे नियन्त्रण गर्न चासो दिएको पाइँदैन । जिल्ला जनस्वास्थ्य कार्यालय चितवनका वरिष्ठ जनस्वास्थ्य प्रशासक दीपकप्रसाद तिवारी अस्पतालहरूले समेत सावधानी अपनाउनुपर्ने बताउँछन् । ‘उपचार गराउन आएका बिरामी र आफन्त उल्टै बिरामी नहोऊन् भनेर सोच्नुपर्छ,’ उनले भने, ‘सरसफाइको अवस्थाबारे छिट्टै अनुगमन गर्छौं ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय