प्रसूतिगृहले मनायो ६०औँ वर्षगाँठ, वर्षदिनमा २४,१४७ डेलिभरी, २ लाखलाई ओपिडीसेवा

थापाथलीस्थित परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालले स्थापनाको ६ दशक पार गरेको छ । अस्पताले शुक्रबार स्थापनाको ६०औँ वार्षिकोत्सव मनाएको हो । वि.सं. २०१६ मा ४० शैय्याबाट सेवा सुरु गरेको अस्पतालले हाल ४ सय ८९ शैय्यामार्फत बिरामीलाई सेवा दिइरहेको छ ।

वार्षिकोत्सवका अवसरमा आयोजित समारोहमा अस्पताललको प्रगति विवरण पेस गर्दै निर्देशक प्रा.डा. जागेश्वर गौतमले अस्पतालको वार्षिक आम्दानी २० करोड रहेको जानकारी दिए । ‘अस्पतालमा दैनिक औसत ६६ महिला सुत्केरी हुने गरेका छन्,’ ‘डा. गौतमले भने, ‘पछिल्लो समय अस्पतालमा स्वाभाविकभन्दा सिजेरियन सेक्सनबाट बच्चा जन्माउने संख्या वृद्धि भइराखेको छ । तर, हामीले आमा र बच्चालाई जोखिम भएको खण्डमा मात्र शल्यक्रिया गर्दै आएका छौँ ।’ अस्पतालमा करिब २१ प्रतिशत प्रसूतिमा मात्र शल्यक्रियाको प्रयोग हुने गरेको डा. गौतमले बताए ।

गत वर्ष २४,१४७ महिलाले जन्माए प्रसूतगृहमा बच्चा
अस्पतालको तथ्यांकअनुसार गत आर्थिक वर्षमा कुल ३० हजार ६ सय २७ महिला भर्ना भएकामा २४ हजार १ सय ४७ जनाले बच्चा जन्माएका थिए । अस्पतालले सञ्चालन गरेको सुरक्षित गर्भपतन सेवामार्फत गत वर्ष १ हजार २ सय ६६ महिलाले सेवा लिएका छन् । त्यसैगरी ५ वर्षअघि ओपिडीसेवा लिने बिरामीको संख्या १ लाख रहेकोमा हाल २ लाखभन्दा बढीले वार्षिक सेवा लिँदै आएको गौतमले जानकारी दिए ।

वार्षिकोत्सव कार्यक्रमका प्रमुख अतिथि उपप्रधान एवम् स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादवले सुत्केरी हुन नसकी अकालमा कुनै आमा तथा नवजात शिशुको मृत्यु हुन नदिने विषय सरकारको उच्च प्राथमिकतामा रहेको दाबी गरे । सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य ऐन कार्यान्वयन गर्ने नियमावली तयार भएको जानकारी दिँदै मन्त्री यादवले प्रजनन सेवा र शिक्षाको केन्द्रीय अस्पतालका रूपमा रहेको प्रसूति अस्पताललाई थप सहयोग गर्ने आश्वासन दिए ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय