पित्तथैलीको शल्यक्रिया : धेरैमा मध्यमखालको, तर जटिलता आउँदा ज्यानसमेत जान सक्ने

पित्तथैलीको शल्यक्रिया किन ?
पछिल्लो समयमा पित्तथैलीमा रहेको ढुंगाका निम्ति गरिने शल्यक्रिया कोलेसिस्टेक्टोमी गर्ने संख्या बढ्दै गएको छ । मुख्य रूपमा कोलेसिस्टेक्टोमी शल्यक्रिया पित्तथैलीमा रहेको ढुंगा (गल स्टोन) का निम्ति गरिन्छ । यसबाहेक कहिलेकाहीँ पित्तथैलीमा पलाउने सानो मासु (गल ब्लाडर पोलिस) का निम्ति पनि गरिन्छ ।

पित्तथैलीको शल्यक्रिया जनरल सर्जन अथवा ग्यास्ट्रोइन्टेस्टाइनल सर्जनले गर्ने गर्छन् । यो शल्यक्रिया धेरैमा जटिलखालको नहुने भए पनि कहिलेकाहीँ भने अवस्था हेरी जटिलता आउन सक्छन् । पित्तथैलीको क्यान्सरका निम्ति गरिने शल्यक्रिया भने पित्तथैलीका लागि गरिने शल्यक्रियाभन्दा पूर्ण रूपमा भिन्न हो ।

शिक्षण अस्पतालमा मात्रै दैनिक दुईदेखि तीनवटा पित्तथैलीको शल्यक्रिया गरिन्छ । यो हिसाबले शिक्षण अस्पतालमा मात्रै वार्षिक रूपमा ४ सयदेखि ५ सयको हाराहारीमा कोलेसिस्टेक्टोमी शल्यक्रिया गरिन्छ । देशका अन्य ठूला सरकारी अस्पताल, प्राइभेट अस्पताल तथा ठूला मेडिकल कलेज सबैतिरको शल्यक्रियाको संख्या जाड्ने हो भने यो शल्यक्रिया हजारौँको संख्यामा गरिन्छ ।

पित्तथैलीको शल्यक्रिया (कोलेसिस्टेक्टोमी) कसरी गरिन्छ ?
१५ देखि २० वर्षअघिसम्म पित्तथैलीको शल्यक्रिया चिरेर गर्ने गरिन्थो, जसलाई ओपन कोलेसिस्टेक्टोमी भनिन्छ । तर, समयसँगै ल्याप्रोस्कोपी प्रविधिको विकास भयो र प्रयोग हुन थाल्यो । हाल देशमा ठूला सरकारी, निजी अस्पताल तथा मेडिकल कलेजमा पित्तथैलीको शल्यक्रिया धेरै प्रतिशत ल्याप्रोस्कोपिक विधिबाट हुन्छ, जसलाई ल्याप्रोस्कोपिक कोलेसिस्टेक्टोमी भनिन्छ । तर, सबै ठाउँमा ल्याप्रोस्कोपीको सेवा नपुगेको अवस्था छ । कतिपय ठाँउमा शल्यक्रिया गर्न सक्ने सर्जन भए तापनि ल्याप्रोस्कोपिक प्रविधि नभएका कारण चिरफार विधिबाटै शल्यक्रिया हुने गरेको छ ।

ल्याप्रोस्कोपिक विधिबाट शल्यक्रिया गराउँदा घाउ सानो हुनेदेखि बिरामीलाई २ देखि ३ दिनभित्रै घर पठाउन मिल्ने सम्भावना रहन्छ । कतिपय अवस्थामा ओपन कोलेसिस्टेक्टोमी गर्नुपर्ने अवस्था आउँछ । चिरेर शल्यक्रिया गर्दा सर्जनको हातले नै धेरै कुरा गर्ने हँुदा ल्याप्रोस्कोपिक विधिभन्दा काम गर्न केही हदसम्म सजिलो हुन्छ ।

ल्याप्रोस्कोपिक विधिबाट शल्यक्रिया गर्नेक्रममा रगतका नलीबाट रगत बग्न सक्ने, छुट्याउनेक्रममा कलेजोबाट रगत बग्न सक्ने सम्भावना रहन्छ । धेरैजसो अवस्थामा रगत बग्ने समस्यालाई तुरुन्तै नियन्त्रण गर्न सकिन्छ ।

पित्तथैलीको शल्यक्रिया गर्दा के–कस्ता समस्या आउन सक्छन् ?
धेरैजसो अवस्थामा पित्तथैलीको शल्यक्रिया मध्यमखालको शल्यक्रिया मानिन्छ, जसमा त्यस्तो कुनै ठूलो समस्या देखिँदैन । शल्यक्रिया गरेको २–३ दिनको बीचमा ९५ प्रतिशत बिरामी घर फर्किन सक्छन् । शरीरका अन्य कुनै भाग जस्तै मुटु, छातीमा समस्या वा अन्य कुनै समस्या पहिलेदेखि नै बिरामीमा रहेको अवस्थामा मात्रै अस्पताल बसाइ लामो हुन सक्छ । तर, पित्तथैलीको शल्यक्रिया गर्दा केही प्रतिशत बिरामीमा भने शल्यक्रियाका कारण समस्या आउन सक्छन् । पित्तथैलीको शल्यक्रियाका ल्याप्रोस्कोपी र चिरफार विधिमध्ये ल्याप्रोस्कोपिक विधिका धेरै फाइदा भए पनि यसमा चिरफार विधिभन्दा समस्या आउन सक्ने सम्भावना केही हदसम्म बढी हुन्छ ।

ल्याप्रोस्कोपिक विधिबाट शल्यक्रिया गर्नेक्रममा रगतका नलीबाट रगत बग्न सक्ने, छुट्याउनेक्रममा कलेजोबाट रगत बग्न सक्ने सम्भावना रहन्छ । धेरैजसो अवस्थामा रगत बग्ने समस्यालाई तुरुन्तै नियन्त्रण गर्न सकिन्छ । तर, कहिलेकाहीँ रगत बग्ने समस्या जटिल हुन सक्छ । त्यस्तै, कहिलेकाहीँ पित्तथैली, पित्तनली, अन्य नसा तथा आन्द्रामा गुजमुजिएर बसेको अवस्थामा हुन सक्छन् । यस्तो अवस्थामा पित्तथैली छुट्याउनेक्रममा रगत बग्ने, पित्तनलीमा चोट लाग्ने, काटिने तथा आन्द्रामा चोट लाग्ने सम्भावना हुन्छ । यीबाहेक सामान्य समस्याका रूपमा शल्यक्रिया गरेको घाउ पाक्ने, धेरै रगत बग्ने वा शरीरका अन्य कुनै भागमा इन्फेक्सन हुने सम्भावना रहन्छ ।

कस्तो अवस्थामा जटिलता आउन सक्छ ?
शरीरमा पित्तथैलीको रोगको स्थिति खराब रहेको अवस्थामा जटिलता आउन सक्ने सम्भावना हुन्छ । पित्तथैली एकदमै सुन्निएर बसेको, टाँसिएको वा भित्रको संरचना नै राम्रोसँग नदेखिएको अवस्थामा जटिलता आउन सक्छ । केही प्रतिशत मानिसमा सबैमा हुने बनावट (नर्मल यानाटोमी) नहुन सक्छ । यसको अर्थ रगतका नसा तथा पित्तनलीहरू ती मानिसमा भिन्न तरिकाले बनेका हुन्छन् । एउटा बाटोबाट आउनुपर्ने रगतका नसा तथा नलीहरू सधैँभन्दा भिन्न तरिकाले आउन सक्छन् । यस्तो अवस्थामा सधैँ सबै सर्जनले नदेखेको हुन सक्छन् । यस्तो अवस्थामा शल्यक्रियाका क्रममा नसा तथा नलीहरूमा चोट लागी जटिलता आउन सक्ने सम्भावना रहन्छ ।

ल्याप्रोस्कोपिक विधिबाट शल्यक्रिया गर्नेक्रममा हुनै समस्या आइपरेमा वा शंका लागेमा तुरुन्तै चिरेर गर्ने तथा आफूभन्दा अनुभवी सर्जनको सल्लाह, सुझाब र सहयोग लिई समस्या र परिस्थितिको सामना गर्नुपर्छ र कुन अवस्थामा ठूला अस्पतालमा रेफर गर्ने जानकारी हुनुपर्छ ।

कुन अवस्थामा बिरामीको मृत्यु हुन सक्छ ?
सधैँ गरिने पित्तथैलीको शल्यक्रिया अर्थात् कोलेसिस्टेक्टोमीका कारण बिरामीको मृत्यु नै हुने सम्भावना धेरै नै कम हुन्छ, तर सम्भावना भने सधैँ नै रहन्छ । बिरामीको शल्यक्रियाका क्रममा वा शल्यक्रियापछि रगत बगेको समस्या नियन्त्रण गर्न सकिएन भने बिरामीको मृत्यु पनि हुन सक्छ । त्यस्तै, पित्तनली काटिएको, चुँडिएको वा आन्द्रा प्वाल पर्न गई पेटमा संक्रमण भएमा जटिलता आएर बिरामीको मृत्यु हुन सक्छ । यसबाहेक यदि बिरामीमा पहिलेदेखि नै शरीरमा अन्य जटिल समस्या जस्तै, मुटुरोग, फोक्सोको रोग वा अन्य कुनै जटिल रोग भएको अवस्थामा पनि बिरामीको मृत्यु हुन सक्छ ।

पित्तथैलीको शल्यक्रिया गर्दा आउने समस्या कसरी घटाउन सकिन्छ ?
पित्तथैलीको शल्यक्रिया जस्तोसुकै अनुभवी सर्जनले गरे पनि समस्या आउन सक्छ । धेरैजसो अवस्थामा शल्यक्रिया गर्नुअघि नै बिरामीमा समस्या आउन सक्छन्, असहज हुन सक्छ, चिरेर गर्नुपर्ने अवस्था आउन सक्ने सम्भावना हुन्छ भन्ने कुराहरू अनुमान लगाउन सकिन्छ । पेटको अल्ट्रासाउन्ड वा बिरामीका लक्षणहरू सोधेर केही हदसम्म भए पनि समस्या आउन सक्ने अनुमान लगाउन सकिन्छ । त्यस्तो अनुमान गरिएको बिरामीको शल्यक्रिया अनुभवी सर्जनले अथवा अनुभवी सर्जनको निगरानीमा गरेमा समस्या आउन सक्ने सम्भावनालाई कम गर्न सकिन्छ । यस्तै, समस्या आइहालेको खण्डमा पनि त्यसको तुरुन्तै सही व्यवस्थापन गर्न सकिन्छ र पछि हुने जटिलता कम गर्न सकिन्छ ।

प्रविधिको आवश्यक मात्रामा विकास नभएका अस्पतालमा यी शल्यक्रिया कम संख्यामा गरिन्छ । यस्ता अस्पतालमा सर्जनले यो शल्यक्रिया गर्न खोजेमा सजिलोखालका केसहरू छानेर गरेमा जोखिम कम गर्न सकिन्छ । त्यस्तै, ल्याप्रोस्कोपिक विधिबाट शल्यक्रिया गर्नेक्रममा हुनै समस्या आइपरेमा वा शंका लागेमा तुरुन्तै चिरेर गर्ने तथा आफूभन्दा अनुभवी सर्जनको सल्लाह, सुझाब र सहयोग लिई समस्या र परिस्थितिको सामना गर्नुपर्छ र कुन अवस्थामा ठूला अस्पतालमा रेफर गर्ने जानकारी हुनुपर्छ । यस्तो गरेमा ठूला शल्यक्रिया गर्दा जटिलता आए पनि त्यसको समाधान गर्न सकिने सम्भावना रहन्छ ।

(हेल्थपोस्टकर्मी पुष्पराज चौलागाईंसितको कुराकानीमा आधारित)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय