स्वास्थ्यका ३१,६५० कर्मचारी :  कुन सरकारमातहत कति ? कुन प्रदेशमा कति ? कति दरबन्दी रिक्त ?

मुलुकले नयाँ शासन व्यवस्थाका रुपमा संघीय शासन प्रणालीलाई अंगीकार गरेदेखि नै चर्चा सुरु भएको स्वास्थ्यका कर्मचारीको समायोजनको विषय अझै पनि टुंगोमा पुग्न सकेको छैन । समायोजनले पूर्णता नपाउँदा एकातिर स्वास्थ्यका रिक्त दरबन्दीमा पदपूर्ति तथा स्तरवृद्धिका काम हुन सकेका छैनन् भने अर्कोतर्फ आवश्यक ठाउँमा कर्मचारी खटिनपुग्दा सेवाप्रवाहमा समस्या भइरहेको छ । लामो सकसपूर्ण कसरतपछि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले पठाएको समायोजन सूचीले थप जटिलता निम्त्याउने देखेपछि आफैँ समस्या सुल्झाउनतर्फ केन्द्रित भएको स्वास्थ्य मन्त्रालय गुनासो दर्ता गराएका करिब ७ हजार कर्मचारीको समायोजन तथा पदस्थापनमा आइपुग्दा भने थप अन्योलमा फसेको छ ।

तुलनात्मक रुपमा समस्या नभएका पदहरु तथा माथिल्लो तहका कर्मचारीको समायोजन सूची क्रमशः जारी गर्दै पदस्थापनसमेत गरिसकेको मन्त्रालयका लागि गुनासोका कर्मचारीले समायोजनको हलो अड्काएको अवस्था छ । अनवरत प्रयासका बाबजुद पनि समायोजनको गाँठो नखुलेपछि स्वास्थ्यले राय मागसहित ९ बुँदे पत्र सामान्यमा पठाएको छ । यद्यपि, स्वास्थ्यका ३१ हजार ६ सय ५० कर्मचारीमध्ये को कुन सरकारमातहत समायोजित हुने भन्ने विषय भने यकिन भइसकेको छ । यहाँ केन्द्र, प्रदेश र स्थानीय सरकारमा समायोजित हुने कर्मचारीको संख्या, तिनको प्रदेशगत विवरण र रिक्त दरबन्दीबारे जानकारी प्रस्तुत गरिएको छ ।

प्रदेश तहमा ३ हजार ५ सय ९३ कर्मचारी
प्रदेश तहमा स्वास्थ्यका ३ हजार ५ सय ९६ कर्मचारी समायोजित हुने भएका छन् । यसमध्ये सबैभन्दा बढी प्रदेश ५ मा ८ सय ७२ कर्मचारी र सबैभन्दा कम कर्णाली प्रदेशमा ३ सय ६७ कर्मचारीको समायोजन गरिने भएको हो । त्यस्तै, प्रदेश १ मा ५ सय ४८, प्रदेश २ मा ५ सय ६, प्रदेश ३ मा ४ सय ६९, गण्डकी प्रदेशमा ४ सय ४४ र सुदूरपश्चिम प्रदेशमा ३ सय ६७ कर्मचारी समायोजित हुँदै छन् ।
प्रदेशमा समायोजित हुने कर्मचारीको संख्यागत विवरण
प्रदेश १ : ५ सय ४८
प्रदेश २ : ५ सय ६
प्रदेश ३ : ४ सय ६९
गण्डकी प्रदेश : ४ सय ४४
प्रदेश ५ : ८ सय ७२
कर्णाली प्रदेश ६ : ३ सय ६७
सुदूरपश्चिम प्रदेश ७ : ३ सय ८७

संघमा २ हजार ६ सय ६१ र स्थानीयमा २५ हजार ३ सय ९६

स्वास्थ्यका सबैभन्दा बढी कर्मचारीको समायोजन मुलुकका ७ सय ५३ स्थानीय तहमा समायोजन हुँदै छ । स्थानीय तहमा कुल २५ हजार ३ सय ९६ जना कर्मचारी समायोजित हुने मन्त्रालयले जनाएको छ ।
त्यसैगरी, सबैभन्दा कर्म कर्मचरी केन्द्र सरकारमातहत रहनेछन् । संघअन्तर्गत जम्मा २ हजार ६ सय ६१ कर्मचारीको समायोजन हुने मन्त्रालयको भनाइ छ ।

५ हजार पद रिक्त, अब फाजिल दरबन्दी नहुने

स्वास्थ्य कर्मचारीको साबिककै दरबन्दीमा पनि ५ हजार पद रिक्त रहेको मन्त्रालयको तथ्यांक छ । समायोजन प्रक्रिया सकिएलगत्तै रिक्त दरबन्दीमा पदपूर्तिको प्रक्रिया अघि बढ्ने मन्त्रालयको भनाइ छ । आवश्यकताअनुसार नयाँ दरबन्दीसमेत थप्नुपर्ने र त्यसका लागि समायोजनलगत्तै अध्ययनमा ध्यान केन्द्रित गर्ने स्वास्थ्यमन्त्री उपेन्द्र यादवले पटक–पटक बताउँदै आएका छन् ।

त्यसैगरी, अबका दिनमा कर्मचारीलाई फाजिलमा नराखिने दाबी मन्त्रालयको छ । ‘हिजोका दिनमा कर्मचारीले चोरबाटो निकालेर पदलाई फाजिलमा राखेर खटाएको ठाउँमा जानुनपर्ने र तलब खान सकिने गरी काम गर्ने गरेको पाइन्छ । तर, अब फाजिल दरबन्दी रहँदैन,’ सचिव थपलिया भन्छन्, ‘जहाँ तोकिएको हुन्छ, कर्मचारीले त्यहीँ गएर काम गर्नुपर्छ । अब स्थानीय तह वा प्रदेशमा कर्मचारी चाहिएको अवस्थामा सम्बन्धित तहले नै माग गरी कर्मचारीको पदपूर्ति गर्छन् ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय