गुनासो दर्ता गराएका कर्मचारीको समायोजन थप सकसपूर्ण बन्दै, सामान्यलाई स्वास्थ्यको ९ बुँदे पत्र

तुलनात्मक रूपमा निकै सजिलो मानिएका माथिल्ला तहदेखि क्रमैले कर्मचारी समायोजन र पदस्थापन गर्दै आएको स्वास्थ्य मन्त्रालय अब गुनासोमा परेका पदहरूको समायोजनमा भने अन्योलमा परेको छ । करिब ७ हजारको हाराहारीमा परेका गुनासाको सम्बोधनमा जटिलता खेप्दै आएको मन्त्रालयलाई स्वास्थ्यका कर्मचारीको समायोजनको गाँठो फुकाउन हम्मे–हम्मे परिरहेको छ ।

सामान्य प्रशासन मन्त्रालयले स्वास्थ्य मन्त्रालयलाई दिएको ८ बुँदे निर्देशनका आधारमा २२ हजारभन्दा बढी कर्मचारीको समयोजन सकिएको छ । तर, गुनासा परेमा अझै ७ हजारभन्दा बढी कर्मचारीको सुनुवाइ गर्न भने बाँकी नै छ । यसको अर्थ सजिलो मानिएका पद तथा समूहको समायोजन सकिए पनि गाँठो परेका पदमा भने अझै पनि समस्या यथावत् छ ।

गुनासो परेका पदहरूको समायोजनका विषयमा स्वास्थ्य मन्त्रालयले विभिन्न ९ बुँदा तयार गरी सामान्य प्रशासन मन्त्रालयलाई के गरी यो प्रक्रियाको हल निकाल्न सकिन्छ भनेर पत्र पठाएको स्वास्थ्य मन्त्रालयका सचिव रामप्रसाद थपलिया बताउँछन् । ‘गुनासोमा परेका कर्मचारीको समायोजनमा मन्त्रालय थप समस्यामा परेको छ । सामान्य प्रशासन मन्त्रालयको सचिवसँग स्वास्थ्य मन्त्रालयको कार्यदलले छलफल गरिरहेको छ,’ सचिव थपलिया भन्छन्, ‘स्वास्थ्य मन्त्रालयले विभिन्न ९ बुँदा तयार गरी कसरी प्रक्रिया अगाडि बढाउने भनी समाधान निकाल्न सामान्यलाई आग्रह गरेका छौँ ।’

सामान्यले समस्याको निकास दिने बाटो देखाएपछि समायोजन प्रक्रिया अगाडि बढाएर भर्ना प्रकिया पनि स्वःतफूर्त रूपमा अगाडि बढाउने सचिव थपलियाले जानकारी दिए । गुनासो परेका केहीको चिठ्ठी तयार भए पनि कतिपय विषयमा सामान्यसँग थप स्पष्ट गर्नुपर्ने भएको हुँदा पत्र चलान गर्न नसकिएको थपलिया बताउँछन् ।

५ हजार पद रिक्त, अब फाजिल दरबन्दी नहुने

स्वास्थ्य कर्मचारीको साबिककै दरबन्दीमा पनि ५ हजार पद रिक्त रहेको मन्त्रालयको तथ्यांक छ । समायोजन प्रक्रिया सकिएलगत्तै रिक्त दरबन्दीमा पदपूर्तिको प्रक्रिया अघि बढ्ने मन्त्रालयको भनाइ छ । आवश्यकताअनुसार नयाँ दरबन्दीसमेत थप्नुपर्ने र त्यसका लागि समायोजनलगत्तै अध्ययनमा ध्यान केन्द्रित गर्ने स्वास्थ्यमन्त्री उपेन्द्र यादवले पटक–पटक बताउँदै आएका छन् ।

त्यसैगरी, अबका दिनमा कर्मचारीलाई फाजिलमा नराखिने दाबी मन्त्रालयको छ । ‘हिजोका दिनमा कर्मचारीले चोरबाटो निकालेर पदलाई फाजिलमा राखेर खटाएको ठाउँमा जानुनपर्ने र तलब खान सकिने गरी काम गर्ने गरेको पाइन्छ । तर, अब फाजिल दरबन्दी रहँदैन,’ सचिव थपलिया भन्छन्, ‘जहाँ तोकिएको हुन्छ, कर्मचारीले त्यहीँ गएर काम गर्नुपर्छ । अब स्थानीय तह वा प्रदेशमा कर्मचारी चाहिएको अवस्थामा सम्बन्धित तहले नै माग गरी कर्मचारीको पदपूर्ति गर्छन् ।’

३० वटा समूहमा छुट्याई समायोजन प्रक्रिया अगाडि बढिरहेको सचिव थपलियाले जानकारी दिए । तर, आवश्यकताभन्दा पनि व्यक्तिगत फाइदाका लागि समूह बनाइएको प्रति सचिव थपलियाको आपत्ति छ । ‘व्यक्तिगत फाइदा र लोभका लागि मात्र समूहमा बाँडेर समायोजन प्रक्रिया बढेको छ,’ सचिव थपलियाले भने, ‘यसले संगठनलाई ठूलो असर पारेको छ ।’

८० प्रतिशत कर्मचारीको माग पूरा भएको छ : मन्त्रालय

स्वास्थ्यका कर्मचारीमा अनमी, हेल्थ असिस्टेन्ट, अहेवको संख्या नै २१ हजारभन्दा बढी छ । तर, तीमध्ये अधिकांश कर्मचारीले व्यक्तिगत योग्यतावृद्धि र उन्नतिका लागि हरसम्भव प्रयत्न गरे पनि संस्थाका लागि भने खटाइएको स्थानमा गएर सेवा नदिएको सचिव थपलियाको भनाइ छ ।

‘स्वास्थ्यकेन्द्रमा खटाइएका कर्मचारीले त्यहाँ नदेखिईकन सुविधासम्पन्न अस्पतालमा काम गरे, कसैले पढेर आफ्नो क्षमता बढाए । व्यक्तिका लागि हरसम्भव के गर्दा अगाडि बढ्न सकिन्छ गरे, तर संस्थाका लागि भने मन्त्रालयले तोकेको ठाउँमा स्वास्थ्यकर्मीलाई पढाउन सकिरहेको थिएन,’ सचिव थपलियाले भने, ‘संरचनात्मक परिर्वतनपछि सम्पूर्ण कर्मचारीलाई कहाँ बस्ने भनेर सोधेर मात्र समायोजन गरिएको छ । सबैको माग पूरा नभएका होलान्, तर ८० प्रतिशतको माग पूरा भएको छ ।’

कर्मचारीको मनलाग्दी स्तरवृद्धिले मन्त्रालय समस्या झेल्न बाध्य

समायोजनमा धेरै किसिमका समस्या मन्त्रालयले खेप्नुपरिहेको थपलियाको भनाइ छ । ‘अदालतको फैसला कार्यान्ययवन नगर्न गाह्रो छ,’ थपलिया भन्छन्, ‘कर्मचारीको प्रवर्धनका लागि हुनै नसक्ने कुराहरू पनि भइरहेका देखिन्छन् । आदेश कार्यान्वयन नगर्दा अदालतको मानहानि हुन्छ भने गर्दा कर्मचारीलाई मर्का पर्छ ।’ कर्मचारीको स्तरवृद्धिबारे अदालतको आदेश कार्यान्वयन हुन सकिरहेको छैन, जसको कार्यान्वयन पनि मन्त्रालयको टाउकोदुखाइको विषय बनिरहेको छ ।

जिल्ला जनस्वास्थ्य, क्षेत्र, विभाग र थोरै मात्रामा मन्त्रालयले पनि मानलाग्दी रूपमा कर्मचारीको स्तरवृद्धि गर्दा थप समस्या आइपरेको थपलियाको भनाइ छ । ‘सरकारकै रकम हो, किन कर्मचारीलाई दिने सुविधामा कन्जुस्याइँ गर्ने भन्ने मानसिकता रह्यो, जसका कारण हाल मन्त्रालय थप समस्या झेल्न बाध्य छ,’ सचिव थपलियाले भने ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय