कान्तिमा पेडियाट्रिक इन्टरमिडिएट केयर युनिट, अब आइसियू अभावमा रेफरको बाध्यता हट्ने

सीमित साधन–स्रोतका कारण मागअनुसार सेवा दिन नसकिरहेको कान्ति बाल अस्पतालले पेडियाट्रिक इन्टरमिडिएट केयर युनिट (बालबालिकाको गहन उपचार एकाइ) सेवा सञ्चालनमा ल्याएको छ । सोमबार स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादवको उपस्थितिमा ८ शैय्याको युनिटको औपचारिक उद्घाटन गरिएको हो । युनिट स्थापनासँगै आइसियू अभावमा बिरामी रेफर गर्नुपर्ने बाध्यता धेरै हदसम्म हट्नुका साथै बच्चाको मृत्युदरसमेत घट्ने दाबी अस्पतालको छ ।

आइसियूको बेड अभावमा अस्पतालले दैनिक कम्तीमा १० बालबालिकालाई अन्य अस्पतालमा रेफर गर्दै आएको छ । इन्टरमिडिएट आइसियू सेवा सञ्चालनमा आएसँगै बिरामी रेफर गर्नुपर्ने बाध्यता ५० प्रतिशतभन्दा बढीले न्यूनीकरण गर्न सकिने अस्पतालका निर्देशक प्रा.डा. आरपी बिच्छाले जानकारी दिए ।

पिआइसियूको जरुरत नपर्ने बच्चालाई इन्टरमिडिएट केयर युनिटमा राखेर उपचार गर्न सकिन्छ । पिआइसियूमा बच्चालाई भेन्टिलेटरमा ४–५ दिन राखेर स्वास्थ्यमा सुधार आएको अवस्थामा खतरामुक्त नहोउन्जेल इन्टरमिडिएट केयरमा राखेर उपचार गर्न सकिने हुँदा पिआइसियूको बोझ कम गर्न यसले महत्त्वपूर्ण भूमिका खेल्छ । यसअघि, अस्पतालले पिआइसियूको उपचारपछि सीधै साधारण बेडमा राखेर उपचार गर्ने गरेको थियो । यसो गर्दा एकातिर बच्चाको स्वास्थ्यमा जोखिम रहन्थ्यो भने अर्कोतर्फ आवश्यकभन्दा बढी पिआइसियूमा राख्नुपर्ने बाध्यता रहन्थ्यो ।

‘अस्पतालले पूर्ण रूपमा सेवा दिन नसक्दा र कमी–कमजोरीका कारण यहीँ वरिपरिका निजी अस्पतालले फाइदा उठाइहेका छन्,’

अस्पतालको पुरानो प्रतिष्ठा फर्काउनुपर्छ : निर्देशक डा. बिच्छा

अस्पतालका निर्देशक डा. बिच्छाले कान्तिकै कमी–कमजोरीका कारण निजी बाल अस्पतालहरूले ठग्ने मौका पाइरहेको बताए । ‘अस्पतालले पूर्ण रूपमा सेवा दिन नसक्दा र कमी–कमजोरीका कारण यहीँ वरिपरिका निजी अस्पतालले फाइदा उठाइहेका छन्,’ डा. विच्छा भन्छन्, ‘एक रात बालबालिका अस्पतालमा राखेको ३५–४० हजार लिने गरेका छन् । २–३ रात अस्पतालमा राख्दा घरबार, गरगहना सबै रित्याएर चौथो दिन पुनः कान्तिमा आउँदा पनि बेड उपलब्ध नगराइदिँदा मृत्युवरण गरिरहेका हुन्छन् ।’

अब अस्पताल प्रगतिको बाटोमा लम्किनुपर्ने डा. बिच्छाले जानकारी दिए । उनले अस्पतालका सम्पूर्ण कर्मचारीलाई ६ घण्टा काम गरिरहेको अवस्थामा १२ घण्टा काम गर्न आग्रह गरे । उनले भने, ‘कान्ति बाल अस्पतालको पुरानो प्रतिष्ठालाई पुनः फर्काउनुपर्छ ।’

०.८ प्रतिशत बजेटले अस्पतालमा सेवा विस्तार गर्ने कि उपकरण किन्ने ? : स्वास्थ्यमन्त्री यादव
२०५० सालमा भएको ओएनएम सर्भेपछि हालसम्म पनि नभएको र जनसंख्या २ गुणाभन्दा बढी बढेको अवस्थामा स्वास्थ्यका कर्मचारी नबढेकाले अस्पतालमा चिकित्सकको अभाव भएको स्वास्थ्यमन्त्री उपेन्द्र यादवले बताए । समायोजनको झमेला सकिएपछि मन्त्रालयको पहिलो प्राथमिकता ओएनएम गर्नेतर्फ हुने मन्त्री यादवले जानकारी दिए ।

‘आर्थिक रूपमा कान्ति बाल अस्पताल कमजोर भए पनि अब आइसियू तथा एनआइसियूको सेवाविस्तार गर्नेतर्फ लाग्नुपर्छ,’ डा. यादवले भने, ‘सेवाविस्तार राम्रो हुन सके मात्र अस्पतालको विश्वसनीयता बढ्न जान्छ ।’

‘दक्षिणपूर्वी एसियामा स्वास्थ्य क्षेत्रका लागि सबैभन्दा कम बजेट विनियोजन गर्ने देशमा नेपाल पर्छ । ४ दशमलव ८ प्रतिशत स्वास्थ्य क्षेत्रमा छुट्याइएकोमा ४ प्रतिशत कर्मचारी तलबमै सकिने गर्छ,’ मन्त्री यादवले भने, ‘शून्य दशमलव ८ प्रतिशत रकमले कति अस्पतालको सेवा विस्तार गर्ने, कति उपकरण किन्ने ?’

विकासको आधार नै स्वास्थ्य र शिक्षा रहेको उदाहरण दिँदै मन्त्री यादवले राज्यले यस क्षेत्रमा लगानी बढाउनुपर्ने आवश्यकता औँल्याए । कान्ति बाल अस्पतालमा चिकित्सक अभाव, उपकरण अभाव र सेवा विस्तार गर्ने विषयमा मन्त्रालय सकारात्मक रहेको र सहयोगका लागि प्रतिबद्ध रहेको मन्त्री यादवको भनाइ थियो ।

बेडसंख्या बढाउनुभन्दा पनि सेवालाई अझ विशिष्टीकृत बनाउँदै लैजानुपर्नेमा स्वास्थ्य तथा जनसख्या राज्यमन्त्री डा. सुरेन्द्र यादवले जोड दिए । ‘आर्थिक रूपमा कान्ति बाल अस्पताल कमजोर भए पनि अब आइसियू तथा एनआइसियूको सेवाविस्तार गर्नेतर्फ लाग्नुपर्छ,’ डा. यादवले भने, ‘सेवाविस्तार राम्रो हुन सके मात्र अस्पतालको विश्वसनीयता बढ्न जान्छ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय