कब्जियतबाट छुटकारा पाउने अचुक उपाय

हेल्थपोस्ट
प्रकाशित
२०७६ भदौ २ गते ११:१३

खराब जीवनशैली तथा गलत खानपानका कारण आजकल कब्जियतको समस्या आम बन्दै गएको छ । हेर्दा सामान्य लाग्ने यो समस्याको वेलामै समाधान नखोजे यसले पेट तथा आन्द्रामा गम्भीर समस्या निम्त्याउन सक्छ, साथै पाचनतन्त्रलाई समेत प्रभावित पार्छ ।
कब्जियतको समस्याबाट बच्न प्रशस्त मात्रामा पानी रेसादार (फाइबरयुक्त) खाद्यपदार्थको सेवन गर्नुपर्छ । किनकि, शरीरमा पानीको कमी भएमा पेटमा जमेर बसेको मल आन्द्रामै सुक्न थाल्छ । त्यस्तै, मल कडा भएकै कारण मल त्याग गर्न कठिनाइ हुने गर्छ । परिणामस्वरूप, पाइल्सजस्तो गम्भीर समस्यासमेत उत्पन्न हुन सक्छ । त्यसैले, कब्जियतबाट बच्न चिकित्सकहरू प्रशस्त मात्रामा पानीको सेवन गर्न सल्लाह दिने गर्छन् । चिकित्सकका अनुसार पर्याप्त पानीको सेवनले शरीरभित्रका विषाक्त तत्वलाई बाहिर निकालेर शरीरलाई सफा राख्न मद्दत गर्छ । त्यस्तै, पेटभित्र अवशोषित मललाई नरम बनाएर मल त्याग गर्नमा सहायता प्रदान गर्छ । त्यसैगरी, रेसादार खानेकुराको सेवनले कब्जियतको समस्याबाट छुटकारा दिलाउने हुँदा चिकित्सकहरू प्रशस्त मात्रामा यस्ता खानेकुराको सेवन गर्न सल्लाह दिन्छन् ।

के हो कब्जियत ?
पेट सफा नहुनु तथा मल त्याग गर्नमा कठिनाइ महसुस हुनु नै कब्जियत हो । कब्जियत भएमा पीडित व्यक्तिको पेट राम्ररी सफा हुँदैन । आन्द्रामा तरल पदार्थको अभावमा आन्द्रामै मल एकत्रित हुने गर्छ । यसका कारण पीडितलाई मलत्याग गर्नमा कठिनाइ महसुस हुन्छ । मल निस्कँदा पनि सुक्खा तथा कम परिमाणमा निस्कने गर्छ र लामो समय शौचालयमा बस्नुपर्ने हुन्छ । सामान्य व्यक्तिमा दिनमा कम्तीमा एकपटक दिसा गर्नुपर्ने हुन्छ भने कब्जियतपीडितमा कैयौँ दिनसम्म मलत्याग हुँदैन ।

कारण
गलत समयको भोजन, तारेको, भुटेको खानेकुराका कारण पनि मानिसलाई कब्जियत हुने गर्छ । त्यस्तै, लगातार पेनकिलरको सेवन, हर्मोनको गडबडी, थाइराइड, सुगर, अपच तथा शरीरमा पानीको कमीका कारण पनि कब्जियत हुने गर्छ । यसबाहेक, मानसिक तनाव, चिन्ता, क्रोध, शोक, रेसादार खानेकुराको सेवनमा कमी, चिया तथा कफीको अत्यधिक सेवन, चुरोट तथा सुर्तीको सेवन, व्यायामको कमी तथा खानालगत्तै फ्रिजमा राखेको चिसो पानीको सेवनले पनि कब्जियतको समस्या हुने गर्छ ।

लक्षण
कब्जियतका लक्षण प्रायः सबै व्यक्तिमा एकै किसिमका देखिन्छन् । विशेषगरी, मल कडा तथा सुक्खा हुनु, हप्तामा तीनपटक भन्दा कम मलत्याग हुनु, मलत्याग गर्दा पीडा महसुस हुनु, मलत्याग गर्दा जोड लगाउनु, पेट राम्ररी सफा नहुनु कब्जियतका मुख्य लक्षणमा पर्दछन् ।
त्यसबाहेक, अपच हुनु, पेट दुख्नु, पेटमा वायु भरिनु, टाउको दुख्नु, पेट उमठ्नु, वाकवाकी लाग्नु, सास गन्हाउनु, चक्कर आउनु, पाइल्स हुनु पनि कब्जियतका मुख्य लक्षण मानिन्छन् ।

कसरी पाउने कब्जियतबाट छुटकारा ?
जीवनशैलीमा सुधार ल्याएर, प्रशस्त मात्रामा पानी पिएर तथा रेसादार खानेकुराको सेवन गरेर कब्जियतको समस्याबाट छुटकारा पाउन सकिन्छ । त्यसबाहेक, यहाँ हाम्रै वरिपरि उपलब्ध केही आहारबारे जानकारी दिइन्छ, जसको सेवनले कब्जियतबाट सहजै छुटकारा पाउन सकिन्छ ।

जामुन
जामुनलाई फाइबरको मुख्य स्रोत पनि भनिन्छ । झन्डै एक कप जामुनमा करिब आठ ग्राम फाइबर हुन्छ । विशेषगरी, नेपाल, भारतलगायत दक्षिण एसियाली देशहरूमा पाइने जामुनमा ग्लुकोज तथा फ्रुक्टोज पनि प्रशस्त मात्रामा पाइन्छन् । यसमा भिटामिन, मिनरल्स, आइरन पनि प्रशस्तै मात्रामा पाइन्छन् । जामुनको नियमित सेवनले पेट सफा हुनुका साथै पेटभित्र हुने ऐठनको समस्यालाई समेत कम गर्न मद्दत गर्छ । यसले कलेजोसम्बन्धी समस्यामा समेत राहत प्रदान गर्ने भएकाले कतिपय गम्भीर रोगहरूमा जामुनको सेवन गर्न सल्लाह दिने गरिन्छ ।

ओट्स
ओटमिल तथा ओटको चोक्करमा पर्याप्त मात्रामा फाइबर हुन्छ । यसमा रहेको डायटरी फाइबरले पाचनतन्त्रलाई मजबुत बनाउन मद्दत गर्छ । त्यसैले, वायु, एसिडिटी तथा कब्जियतको समस्या हुने व्यक्तिलाई बिहानको नास्तामा ओट तथा ओटमिलबाट बनेको खानेकुरा नियमित सेवन गर्न सल्लाह दिने गरिन्छ ।

हरियो साजसब्जी
हरियो साजसब्जीमा प्रशस्त मात्रामा फाइबर हुन्छ । यसको नियमित सेवनले कब्जियत, अपचजस्ता समस्या स्वतः कम भएर जान्छन् । विशेषगरी, हरिया साजसब्जीमा पोटासियम, म्याग्नेसियम, आइरनजस्ता महत्वपूर्ण तत्वसमेत पाइन्छन्, जुन शरीरका लागि फाइदाजनक छन् ।

केरा
हरेक मौसममा पाइने सदाबहार फल केरामा पोटासियम, आइरनजस्ता तत्व भरपूर मात्रामा पाइन्छ । केरामा ६४ प्रतिशत पानीका साथै १ दशमलव ३ प्रतिशत प्रोटिन, २४ प्रतिशत कार्बोहाइड्रेट पाइन्छ । यसबाहेक, केरामा ‘पेक्टिन’ नामक विशेषकिसिमको फाइबर पाइन्छ । यसको सेवनले पाचनतन्त्र त मजबुत हुन्छ नै, खानाका कारण पेटमा हुने गडबडीको समस्यासमेत रोक्न मद्दत पुग्छ ।

नासपाती
नासपातीको सेवन पनि पेटका लागि फाइदाजनक मानिन्छ । नासपातीमा प्रशस्त मात्रामा फाइबर पाइन्छ । यसमा स्याउमा भन्दा आठ गुणा बढी ‘सर्विटोल’ पाइन्छ । साथै, पेक्टिन नामक तत्व पनि पाइन्छ, जसले पेटलाई सफा राख्नुका साथै मलत्याग गर्न सहायता प्रदान गर्छ । नासपातीलाई जुसका रूपमा तथा पिसेको नुनखुर्सानीसित पनि खान सकिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय