स्वास्थ्य सूचना केन्द्रका अधिकृत गुप्ता र प्रशासक केसीविरुद्ध विशेषमा आरोपपत्र दायर, जनही १ लाख बिगो

राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा सञ्चार केन्द्रका जनस्वास्थ्य अधिकृत रामअवतार गुप्ता र स्वास्थ्य शिक्षा प्रशिक्षण प्रशासक डा. भक्तबहादुर केसीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा आरोपपत्र दर्ता गराएको छ । सेवाग्राहीबाट घुस लिएको र त्यसमा सघाएबापत उनीहरुलाई जनही एक लाख रुपैयाँ बिगो दाबीसहित अख्तियारले आइतबार आरोपपत्र दर्ता गराएको हो ।

गुप्तालाई १३ साउनमा अख्तियारको टोलीले काठमाडौं महानगरपालिका–११ बबरमहलस्थित वन विभागको कार्यालयबाट घुस लिइसकेको अवस्थामा एक लाख घुस रकमसहित पक्राउ गरेको थियो । गुप्तामाथिको अनुसन्धानका क्रममा उनीभन्दा उपल्लो तहका केसीको समेत यस प्रकरणमा मिलेमतो रहेको पाइएपछि उनीविरुद्ध पनि समान बिगो दाबीसहित आरोपपत्र दर्ता गरिएको अख्तियारले जनाएको छ । केसीले आफूमातहतका कर्मचारीले घुस लिएको जानकारी हुँदाहुँदै रोक्नुपर्नेमा त्यस्तो नगरी उल्टै सेवाग्राहीसित आफैँले रकम माग गरेर र दुवैले मिलेमतोमा बाँडेर लिने–खाने व्यवस्था मिलाएको तथ्य खुल्न आएको अख्तियारले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

सातौँ तहका अधिकृत गुप्ताले सेवाग्राहीसँग केन्द्रबाट कोटेसनमार्फत स्वास्थ्य सन्देशमूलक कार्यक्रम उत्पादन तथा प्रचारप्रसार गर्न दिई कार्य सम्पन्न गरी भुक्तानी गरेपश्चात् कमिसनबापत सेवाग्राहीसित एक लाख रुपैयाँ घुस लिएका थिए । गुप्ताले भक्तानी कमिसनबापत घुस माग गरिरहेको सूचना तथा उजुरीका आधारमा अख्तियारको केन्द्रीय कार्यालय टंगालबाट खटिएको टोलीले अनुसन्धान गर्दा घुस लिइसकेको अवस्थामा उनलाई रंगेहात पक्राउ गरेको थियो । करिब ३ साताको अनुसन्धानपछि अख्तियारले गुप्ता र केसीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय