निस्दी गाउँपालिकालाई प्रदेश ५ सरकारले दियो एम्बुलेन्स

पूर्वी पाल्पाको निस्दी गाउँपालिकालाई प्रदेश ५ सरकारले एम्बुलेन्स सहयोग गरेको छ । स्वास्थ्यसेवाको पहुँच जनतासम्म पुर्याउने उद्देश्यले गाउँपालिकाको वडा नम्बर २ स्थित सहलकोट स्वास्थ्यचौकीलाई सामाजिक विकास मन्त्रालयले एम्बुलेन्स प्रदान गरेको हो । प्रदेश सांसद नारायण आचार्य, युवराज खनाल, जिल्ला समन्वय समितिका अध्यक्ष दयाराज बस्यालले गाउँपालिकाका अध्यक्ष मुक्तबहादुर सारूलाई एम्बुलेन्सको साँचो तथा कागजात हस्तान्तरण गरेका छन् ।

हस्तान्तरण कार्यक्रममा प्रदेश सांसद नारायण आचार्यले निस्दी गाउँपालिका मानव सूचकांकमा पछि पर्नुका साथै स्वास्थ्यको पहुँचबाट समेत पछि परेका कारण एम्बुलेन्स सहयोग गरेको बताए । अर्का सांसद युवराज खनालले ग्रामीण बस्तीमा आधारभूत तहको स्वास्थ्य र शिक्षाका लागि सबै मिलेर काम गर्नुपर्ने बताए । जिल्ला समन्वय समिति, पाल्पाका प्रमुख दयाराज बस्यालले जनताको प्रत्यक्ष सरोकारसँग जोडिएर गरिएको सहयोगको सदुपयोग गर्न सबै लाग्नुपर्ने बताए ।

गाउँपालिकाका अध्यक्ष सारूले आफूहरूले पाएको उपहार एम्बुलेन्सको प्रयोग गरिब जनताको हितमा गर्ने बताए । केम खाम्चा स्मृति प्रतिष्ठानका अध्यक्ष तथा समाजसेवी देवीलाल लामिछानेले सदरमुकामदेखि करिब ९० किलोमिटर पूर्वमा रहेको सहलकोट, बाकामलाङ क्षेत्रका लागि प्राप्त एम्बुलेन्सले दूरदराजमा रहेका सर्वसाधारण, ज्येष्ठनागरिक, सुत्केरी तथा अशक्तको स्वास्थ्योपचारमा राहत पुर्याउने बताए ।

जिल्ला स्वास्थ्य कार्यालय पाल्पाका अनुसार पाल्पामा हाल २० वटा एम्बुलेन्स सञ्चालनमा छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय