डेंगु नियन्त्रणमा वार्षिक करोडौँ खर्च, तर प्रतिफल शून्य

३० वैशाखमा सुनसरीको धरान उपमहानगरपालिकाबाट फैलिएको डेंगु रोगले ६ जिल्लामा महामारीको रुप लिएको छ भने ५६ वटा जिल्लामा संक्रमण देखिसकेको छ । मुख्यतः सहरीकरण, बढ्दो तापक्रमलगायत कारण पछिल्लो समय डेंगुको संक्रमण गुणोत्तर श्रेणीमा बढिरहेको छ । पछिल्लो पाँच वर्षको तथ्यांकलाई नियाल्दा डेंगुको संक्रमण करिब ११ गुणाले वृद्धि भएको छ । यस वर्ष मात्रै ३ हजार ४ सय २५ जनामा संक्रमण देखिसकेको छ भने दिनप्रतिदिन संक्रमण फैलिनेक्रम जारी छ । डेंगु रोकथामका लागि जति बजेट खर्च गरे पनि कार्यक्रम प्रभावहीन देखिएको छ भने लगानी बालुवामा पानी भएको छ ।

चालू आवमा डेंगु नियन्त्रणका लागि ९ करोड ५४ लाख  विनियोजन, तर संक्रमण बढ्दै
आर्थिक वर्ष ०७६÷७७ मा केन्द्र, प्रदेश र स्थानीय सरकारका लागि डेंगु नियन्त्रण प्रयोजनका लागि ९ करोड ५४ लाख  विनियोजन बजेट विनियोजन भएको छ । तीनै तहका सरकार तथा गैरसरकारी संस्थामार्फत डेंगु नियन्त्रणका कार्यक्रमहरु सञ्चालन हुँदै पनि आएका छन् । तर, डेंगुको प्रकोप भने एकपछि अर्को जिल्लामा फैलिनेक्रम बढ्दो छ । गत आर्थिक वर्षमा सरकारले डेंगु नियन्त्रणका लागि करिब ७ करोड खर्च गरेको तथ्यांक छ ।

केन्द्र सरकारले स्थानीयस्तरमा लामखुट्टेको वासस्थान खोजी गरी लार्भा नष्ट गर्न अभियान सञ्चालनका लागि बढी प्रभावित १ सय ५ वटा पालिकामा १ करोड ६६ लाख बजेट पठाएको छ । त्यसैगरी, डेंगु तथा कीटजन्य रोग नियन्त्रणका लागि केन्द्रबाट प्रदेशस्तरमा ७ वटा प्रदेशका लागि ६ कराेड १७ लाख विनियोजन भएको छ । त्यसैगरी, केन्द्र सरकारमा डेंगु नियन्त्रणका लागि १ करोड ७१ लाख छुट्याइएको छ । तर, स्वास्थ्य विभागअन्तर्गतको इपिडिमियोलोजी तथा रोगनियन्त्रण महाशाखाले आइतबार पत्रकार सम्मेलन गर्दै डेंगु रोग अझै फैलिने अनुमान लगाएको छ ।

अहिलेको अवस्थामा डेंगु रोग जटिल तथा चुनौतीपूर्ण रहेको र विकसित देशदेखि विकासोन्मुख देशसम्म सबैका लागि भयावह स्वास्थ्य समस्याको रुपमा रहेको इडिसिडीका निर्देशक डा. विवेककुमार लाल बताउँछन् । जनसमुदायलाई डेंगुबारे जुनसुकै हिसाबले चेतनामूलक सुझाब दिए पनि त्यसअनुसार काम गर्न नसकेका कारण डेंगु नियन्त्रणमा समस्या आएको लालको भनाइ छ ।

डेंगु नियन्त्रणका लागि सरकारले करोडौँ खर्चंदा पनि कार्यक्रमहरु प्रभावहीन बन्दै गएका छन् । नेपालमा प्रभावकारी प्रविधि नभित्रिएका कारण पनि डेंगु नियन्त्रणमा समस्या आएको उनको तर्क छ । ‘जबसम्म लामखुट्टे नियन्त्रण गर्न सक्दैनौँ, तबसम्म उपचारमा जोड दिँदैमा डेंगु नियन्त्रणमा आउँदैन,’ डा. लालले भने, ‘डेंगु रोगविरुद्धको खोप विकासका क्रममै रहे पनि नियन्त्रणका लागि हामीसँग अझै प्रभावकारी प्रविधि उपलब्ध छैन ।’

विश्वमा प्रतिवर्ष ३९ करोडमा डेंगु संक्रमण, २० हजारको मृत्यु
केही दशकदेखि डेंगुको संक्रमण बढ्दै गएको छ । विश्वको आधाभन्दा बढी जनसंख्या कुनै न कुनै समयमा डेंगुको संक्रमणमा रहेको तथ्यांकले देखाएको छ । विश्वका १ सय २८ भन्दा बढी मुलुकका ३ अर्ब ९० करोड मानिस डेंगुको जोखिम क्षेत्रमा बसोवास गर्छन् । प्रत्येक वर्ष ३९ करोड मानिस डेंगुबाट संक्रमित हुने गरेका छन् भने २० हजारको मृत्यु हुने गरेको पाइएको छ ।

काठमाडौंमा पनि डेंगु संक्रमणको उच्च जोखिम
दुई साताअघि विश्व स्वास्थ्य संगठनको सहयोगमा विज्ञले काठमाडौंका विभिन्न क्षेत्रमा डेंगुबारे अनुसन्धान गर्दा काठमाडौं उच्च जोखिममा रहेको औँलाएका छन् । काठमाडौंमा प्रशस्त मात्रामा डेंगु रोग सार्ने लामखुट्टेको लार्भा फेला परेको छ । सहरी क्षेत्रमा बढी मात्रामा सडकमा खल्डाखुल्डी गमला, टायर, बोतल पानी जम्ने तथा फोहोरका कारणले पनि डेंगुको संक्रमण बढ्ने गर्छ ।

विज्ञ अभावले कार्यक्रम प्रभावकारी बन्न सकेन
नेपालमा लामखुट्टेजन्य रोग हेर्नका लागि लामखुट्टे विज्ञ (इमोनोमोलोजिस्ट)को अभाव छ । हेटौँडामा भएको कीटजन्य रोगसम्बन्धी तालिम तथा अनुसन्धान केन्द्रमा ३ जना विज्ञ रहे पनि काठमाडौंमा भएको पद रिक्त रहेको इडिसिडीले जनाएको छ । महाशाखाका निर्देशक डा. लालले भने, ‘नयाँ जनशक्ति उत्पादन पनि ज्यादै न्यून छ भने लामखुट्टे तथा कीटजन्य रोगलाई जिल्लागत रुपमा हेर्ने फोकल व्यक्ति र प्राविधिक रुपमा तालिमप्राप्त जनशक्तिको अभाव छ ।’

संघ, प्रदेश र स्थानीय तहबीच समन्वय अभाव
दक्ष जनशक्तिको व्यवस्थापन गर्न नसकेको अवस्थामा डेंगुजस्ता कीटजन्य रोगलाई नियन्त्रणमा ल्याउन नसकेको विभागका महानिर्देशक डा. शुशील प्याकुरेल बताउँछन् । हिजोका दिनमा केन्द्रस्तरबाट दिएको निर्देशनबाट स्थानीय तहमा भएका संस्थाहरु तुरुन्तै परिचालित हुन्थे र कामको प्रतिफल आउँथ्यो,’ डा. प्याकुरेल भन्छन्, ‘आज स्थानीय तहको एउटा कर्मचारीलाई चलाउन प्रदेश सरकारलाई गाह्रो छ । त्यस्तै, प्रदेशमा रहेका कर्मचारीलाई निर्देशन दिन केन्द्रलाई गाह्रो भएको अवस्था छ ।’ संघ, प्रदेश र स्थानीय तहको तालमेल हुन नसकेका कारण कार्यक्रम प्रभावकारी हुन नसकेको महानिर्देशक डा. प्याकुरेलको भनाइ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय