ऐरावतीवासीको आकस्मिक उद्धारका लागि ‘एक वडा एक हेलिप्याड’, ज्येष्ठनागरिकलाई घरमै स्वास्थ्यसेवा

हेल्थपोस्ट
प्रकाशित
२०७६ साउन २३ गते १९:०८

प्युठानको ऐरावती गाउँपालिकाले ‘एक वडा एक हेलिप्याड’ कार्यक्रम ल्याएको छ । भौगोलिक विकटता र पूर्वाधार अभावका कारण गाउँपालिकावासीले स्वास्थ्योपचारका लागि स्वास्थ्यसंस्था पुग्न ८ घण्टासम्म हिँड्नुपर्ने अवस्था छ । यस्तोमा गर्भवती महिला, वृद्धवृद्धा, प्राकृतिक प्रकोपमा परेका व्यक्ति तथा अन्य बिरामीलाई तत्कालै उद्धार गर्न सकियोस् भन्ने उद्देश्यले प्रत्येक वडामा हेलिप्याड निर्माण गर्न लागेको गाउँपालिकाका अध्यक्ष नबिलविक्रम शाहले जानकारी दिए ।

गाउँपालिकामा हाल साबिकका बरौला, पकला, दाङवाङ, धुवाङ, रस्पुरकोट तथा बिजुलीलगायतलाई समेटेर ६ वटा वडा कायम गरिएको छ । हेलिप्याड निर्माणका लागि गाउँपालिकाले प्रतिहेलिप्याड ६८ हजारका दरले ४ लाख ८ हजार बजेट छुट्याएको छ । दुईवटा वडामा हेलिप्याड बनाउने काम सकिए र एक महिनाभित्र सबै वडामा काम सम्पन्न हुने शाहले बताए । ‘गाउँपालिकामा सबै ठाउँमा सडक पुगेको छैन, स्वास्थ्यसंस्थामा पुग्नका लागि ८ घण्टासम्म हिँड्नुपर्ने बाध्यता छ,’ शाह भन्छन्, ‘हेलिप्याड विपद्व्यवस्थापन र आपत्कालीन उद्धारमा बहूपयोगी हुन्छ ।’

८० वर्षमाथिका ज्येष्ठनागरिकलाई घरमै पुगेर स्वास्थ्यसेवा
ऐरावती गाउँपालिकाका ८० वर्षभन्दा बढी उमेरका ज्येष्ठनागरिकलाई घरमै पुगेर स्वास्थ्यसेवा दिने गरिएको छ । प्रदेश सरकारले हाल महिनामा २ पटक ज्येष्ठनागरिकलाई चेकजाँच गराउने अवधारणा ल्याएको छ । तर, पर्याप्त जनशक्ति नहुँदा सेवाको पहुँज सबैतिर पुग्न नसेको अध्यक्ष शाहको भनाइ छ ।
‘सरकारले हाल ३० थरीका औषधि उपलब्ध गराउँदै आएको भए पनि चेकजाँचका क्रममा अधिकांश बिरामीलाई ती औषधि काममा आउँदैनन्,’ शाह भन्छन्, ‘अधिकांश ज्येष्ठनागरिकमा प्रेसर, दम, मधुमेहको समस्या छ, जसका लागि औषधि निःशुल्क उपलब्ध छैन ।’

‘प्रदेश सरकार औषधोपचारभन्दा पनि चेकजाँचमै केन्द्रित’
३ जना स्टाफले काम गर्नुपर्ने अवस्था र भौगोलिक विकटताका कारण सबै ठाउँमा भनेका वेलमा पुग्न नसकिने हुँदा प्रदेश सरकारले ३ महिनामा एकपटक चेकजाँच गर्ने अवधारणा ल्याउनुपर्ने, अन्यथा जनशक्ति थप गर्नुपर्ने शाह बताउँछन् । उनी भन्छन्, ‘प्रदेश सरकार चेकजाँच गर्ने अवधारणा मात्र ल्याउँछ, औषधोपचार गराउनेतर्फ जाँदैन ।’ मेडिकल अधिकृत नहुँदा स्वास्थ्यजाँचका क्रममा औषधि लेखिदिन समस्या परिरहेको शाह बताउँछन् ।

गाउँपालिकाले स्वास्थ्य क्षेत्रका लागि आर्थिक वर्ष ०७५–७६ मा ५५ लाख रुपैयाँ बजेट छुट्याएकोमा चालू आव ०७६–७७ का लागि बढाएर ७५ लाख छुट्याएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय