ग्रामीण भेगमा ‘वर्षे एम्बुलेन्स’

कृष्ण मल्ल
प्रकाशित
२०७६ साउन २३ गते १०:४६

पाल्पाको तिनाउ गाउँपालिका २ बगाह गाउँबाट उपचारका लागि स्टेचरमा बिरामी बोकेर दोभान हुदै बुटवलतर्फ ल्याइदै ।

बर्षाले सडक बिग्रीएपछि ग्रामीण क्षेत्रका जनता बोकिएर स्वास्थ्य संस्था जान बाध्य छन् । बिग्रीएको सडकमा गाडी नचलेपछि उनिहरु उपचारका लागि बोकिन बाध्य भएका हुन । मुख्यगरी पहाडी जिल्लाका गाउँ बस्तीहरुमा यस्तो समस्या देखिएको छ । हिउँदभरी गाउँ गाउँमा पुग्ने मोटरहरु बर्षायामसँगै पक्की सडक र ग्राभेल सडकमा मात्र सीमिति हुने गरेका छन् ।

बर्षाको भेलले गाउँका सडकहरुमा सडक खोलिदिने, बगाउँने र पहिरो जाने गर्दा सडक अबरुद्द हुने गर्दछ । गुल्मीको सत्यवती गाउँपालिकाका स्वास्थ्य संयोजक सूर्य रानाले गाउँपालिकाका धेरैजसो सडकहरु बर्षाले बिगारिदिएको बताए । बर्षामा त सडक बिग्रीन्थे नै उनले भने, यो पटक भने हाम्रो गाउँपालिका पहिरोले पिडित भयो । उनका अनुसार गाउँपालिकामा रहेका १३ वटा स्वास्थ्य संस्थामध्ये ५ वटा सामुदायिक स्वास्थ्य इकाई र चार वटा स्वास्थ्य चौकीमा सडक बिग्रीएकाले गाडीबाट पुग्न असहज छ । हिउँदमा गाडी चढेर उपचार गर्न आएपनि बर्षामा स्टेचरकै भर हो रानाले भने ।

सत्यवती गाउँपालिकाका अध्यक्ष पारिश्वर ढकालले पालिकाका सबै वडाहरुमा सडक मर्मत गरी मोटर पुर्याउने गरी काम गरिरहेको भएपनि नसकिएको बताए । तर स्वास्थ्य संस्थाहरुमा पुग्ने सडकको सन्दर्भमा भने अझै सम्भव नभएको उनको भनाई छ । पाल्पाको तिनाउ गाउँपालिकाका स्वास्थ्य संयोजक सुन्दर तरामु मगर पालिकाभित्र रहेको १० स्वास्थ्य संस्थाका केन्द्रमध्ये अधिकांशमा बर्षाको समयमा गाडीघोडा नचल्ने बताउँछन् । उनले सडक बिग्रीएर गाडी नचल्ने ठाउँहरुबाट स्वास्थ्य चौकीसम्म हिड्न नसक्ने बिरामी र बुढापाकाहरु स्टेचरमा बोकिनुपर्ने बाध्यता रहेको बताए । गाउँपालिकाको गाउँ गाउँसम्म सडक पुगेपनि बर्षाको समयमा खोला नाला, पहिरो र भत्किने बिग्रने समस्याले ति सडकमा गाडी नचल्ने स्वास्थ्य संयोजक तरामुको भनाई छ ।

उनका अनुसार दुई स्वास्थ्य चौकी र चार सामुदायिक स्वास्थ्य इकाईसम्म पुग्ने सडकमा बर्षाको समयमा गाडी चल्दैनन् । गाडीबाट पुगिने स्वास्थ्य संस्थामा पनि गाउँबाट आउने सडक बिग्रीएका कारण बिरामीहरु सेवा लिनका लागि पैदल हिडेर वा बोकिएर आउनुपर्छ । बुढापाका र हिडन् नसक्ने बिरामीका लागि सडकमा गाडी नचल्दा अप्ठ्यारो पर्ने गरेको उनले बताए । उनले दशैसम्म पहाडी क्षेत्रका गाउँका सडकहरुको अवस्था उस्तै रहेको बताए । तिनाउ गाउँपालिकामा ४ वटा स्वास्थ्य चौकी र ६ वटा सामुदायिक स्वास्थ्य ईकाइ रहेका छन् ।

पाल्पाको निस्दी गाउँपालिकाका स्वास्थ्य संयोजक मीनबहादुर रानाको भनाई पनि उस्तै छ । उनका अनुसार गाउँपालिकामा ९ वटा स्वास्थ्य संस्था रहेकोमा चारवटा स्वास्थ्य संस्थामा बर्षाको समयमा गाडीबाट पुग्न समस्या पर्ने गर्दछ । अन्य स्वास्थ्य संस्थामा गाडी पुग्न सकेपनि गाउँदेखि स्वास्थ्य संस्थासम्म आउनका लागि सेवाग्राहीलाई अप्ठ्यारो पर्ने उनले बताए । गाडी नचल्ने गाउँका सेवाग्राहीहरु हिडेरै वा बोकिएर आउने हो उनले भने, स्वास्थ्य संस्था र गाउँ बीचको धेरैजसो सडक सुधार गर्नुपर्ने अवस्थाका छन् । उनले गर्भवती महिला सुत्केरीका लागि बर्थिङ सेन्टरसम्म आउन र सुत्केरी भएपछि घरसम्म पुग्नका साथै बृद्ध र हिड्न नसक्ने बिरामीलाई कठिन हुने गरेको बताए ।

स्वास्थ्य कार्यालय पाल्पाका सूचना अधिकारी माधव ज्ञवालीले बर्षा शुरु भएसँगै मोटरबाट भत्किने, बिग्रने हुदा धेरैजसो स्वास्थ्य संस्थासम्म जनताको सम्पर्क पैदल हिडाइबाट हुने गरेको बताए । पाल्पामा अस्पताल २, प्राथमिक स्वास्थ्य केन्द्र २, स्वास्थ्य चौकी ६२, सामुदायिक स्वास्थ्य इकाई २७ र शहरी स्वास्थ्य इकाई ५ गरी ९८ वटा सरकारी स्वास्थ्य संस्थाहरु छन् । उनका अनुसार जिल्लाको पूर्वी, पश्चिमी र दक्षिणी क्षेत्रका स्वास्थ्य संस्थामा बर्षाका समय सडकको समस्या हुने गरेको छ । राजमार्ग क्षेत्र र जिल्लाको उत्तरी क्षेत्रमा सडकको समस्या कम भएपनि बहादुरपुर, ज्यामीरे, निस्दी, दोभान, बल्ढेङगढी, हुँगी, बाकामलाङ क्षेत्रमा समस्या बढी रहेको उनले बताए । जिल्लामा खोलाले कम रोक्छ ज्ञवालीले भने पहिरोले रोक्ने र नाली नभएका सडकमा बर्षाको भलले सडक नै खोल्ने समस्या बढी छ ।

गाउँमा नयाँ सडक छन् पानीले खोल्यो र खाल्टो बनाए गाडी ठप्प हुन्छन् उनले थपे । गाउँका अधिकांश सडकहरु बर्षा भत्किने र बिग्रने भएपनि ति सहडकहरु नेपाली हिन्दुहरुको चाड दशैको चहपहल आउँदै गर्दा मात्र सफा गर्ने र मर्मत गर्ने गरिने गर्दछ । जथाभावी रुपमा सडक खनिदा र खनिएका सडकको स्तर उन्नती नहुदा ग्रामीण क्षेत्रका सडकहरु हिउँदमा मात्रै प्रयोगमा आउने गर्दछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय