देवघाटलाई पूर्ण सरसफाइयुक्त गाउँपालिका घोषणामा समस्या, खानेपानी अभाव बाधक

वसन्त ढुंगाना
प्रकाशित
२०७६ साउन १८ गते ८:३६

देवघाट गाउँपालिकालाई पूर्ण सरसफाइयुक्त घोषणा गर्न समस्या देखिएको छ । खानेपानीमा कोलिफर्म भेटिँदा र गाउँपालिकाका अधिकतर क्षेत्रमा खानेपानीको समस्या हुँदा पूर्ण सरसफाइयुक्त गाउँपालिका घोषणा गर्न समस्या देखिएको हो ।

‘देवघाटजस्तो पवित्रस्थल रहेको गाउँपालिकालाई पूर्ण सरसफाइयुक्त घोषणा गर्ने लक्ष्य गाउँपालिकाले गत वर्ष लिएको थियो । यसका लागि हामीले सबै सूचक पूरा गरेका छौँ,’ गाउँपालिका अध्यक्ष दुर्गाबहादुर थापाले भने, ‘खानेपानीमा दिसामा देखिने कोलिफर्म भेटिँदा समस्या देखिएको छ ।’ गत वर्ष युनिसेफ र गाउँपालिकाले पानीको मुहान परीक्षण गर्दा कोलिफर्म भेटिएको थियो । पूर्ण सरसफाइयुक्त गाउँपालिका बनाउनका लागि प्रदेश र संघीय सरकारले आवश्यक बजेटसमेत दिएको उनले बताए ।

पूर्ण सरसफाइयुक्त गाउँपालिका घोषणा गर्न ७ सय १२ घरधुरीमा चर्पीसमेत निर्माण गरिसकिएको उनले बताए । ‘पहिले जनप्रतिनिधिकै घरमा चर्पी थिएन । हामीले अनुदान दिएर चर्पी बनाउन लगायौँ । टोल–टोलमा सरसफाइ अभियान थाल्यौँ,’ उनले भने, ‘तर, खानेपानीको सूचक पूरा गर्न सकेनौँ ।’

सरसफाइयुक्त घोषणा गर्न अहिले गाउँपालिकाले खानेपानीका आयोजनालाई प्रमुख प्राथमिकतामा राखेको छ । चालू आर्थिक वर्षका लागि प्रदेश, संघीय र स्थानीय बजेटमार्फत एक करोड ८ लाख २० हजार रूपैयाँको बजेट छुट्याएको छ । प्रदेश, केन्द्र सरकार, युनिसेफलगायत अन्य दातृनिकाय र उपभोक्ता समितिको लगानीमा सबै घरधुरीमा स्वच्छ खानेपानीको व्यवस्था गर्ने योजना रहेको उनले बताए । देवघाट–५ का लागि कुवादी खोलामा बृहत् योजना आगामी वर्षदेखि सुरु गरिने उनको भनाइ छ । यसका लागि प्रदेश सरकारबाट २० लाख रूपैयाँसमेत आएको उनले जानकारी दिए । आगामी वर्षहरूमा देवघाट गाउँपालिकाभित्र सहज रूपमा खानेपानी उपलब्ध गराइने उनले दाबी गरे ।

पूर्ण सरसफाइयुक्त वडा घोषणा गर्दा पार गर्नुपर्ने केही चरण पूरा गरिएका छन् । चर्पीको प्रयोग, पानी प्रयोगसम्बन्धी सुरक्षित बानी, साबुन–पानीले हात धुने बानीलगायत विषय पूर्ण सरसफाइका सूचक हुन् ।

पूर्ण सरसफाइयुक्त वडा घोषणा गर्दा पार गर्नुपर्ने केही चरण पूरा गरिएका छन् । चर्पीको प्रयोग, पानी प्रयोगसम्बन्धी सुरक्षित बानी, साबुन–पानीले हात धुने बानीलगायत विषय पूर्ण सरसफाइका सूचक हुन् । यस्तै, अन्य सूचकमा खाना प्रयोगसम्बन्धी सुरक्षित बानी, सफा घर–आँगन, सफा वातावरणलगायत विषय पर्दछन् । पूर्ण सरसफाइयुक्त वडा घोषणा गर्न लागिएको भए पनि केही घरमा पानीको असुविधा रहेको देवघाट गाउँपालिका–५ का निर्मल रानाले बताए ।

‘देवघाट गाउँपालिकामा हाम्रो वडा विकसित वडामा पर्दछ । तर, यहाँ खानेपानीको व्यवस्था छैन । पुसदेखि असार महिनासम्म खानेपानीको समस्या रहन्छ,’ रानाले भने, ‘खानेपानी समस्याका कारण हामी देवती खोला, जुगेडी धारो र सरकारी धाराको पानी प्रयोग गर्छौं । तर, तीनवटै स्रोतको प्रयोग गर्दा पनि कहिलेकाहीँ घरमा पानी पुग्दैन ।’ तीनवटा धारा प्रयोग गरेबापत मासिक ६ सय रूपैयाँभन्दा बढी पैसा तिर्ने गरेको बताए ।

साबिकको गाविस तथा अहिलेको वडास्तरीय सरसफाइ तथा स्वच्छता समन्वय समितिले राम्रो काम गरेकाले घर–घरमा चर्पी, साबुन–पानीले हात धुने, भाँडा राख्ने चाङको प्रयोग गर्ने बानीको विकास भएको जनाइएको छ । अहिले वर्षाका कारण केही खाल्डाखुल्डीमा पानी जम्ने भएकाले अलि गाह्रो भएको र पानीको अभाव भए पनि गाउँपालिकासँग अनुरोध गरेर भए पनि पूर्ण सरसफाइको काम अगाडि बढाउने गाउँपालिकाले योजना बनाएको छ ।

देवघाट गाउँपालिको जनसंख्या १६ हजार १ सय ३२ छ । ९ वटा वडा रहेको गाउँपालिकाका अधिकांश स्थानमा खानेपानीको सुविधा छैन । गाउँपालिकामा ३ हजार ४ सय ३५ घरधुरी छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय