सुमेरुलाई मिर्गौला प्रत्यारोपणमा दोस्रो सफलता, दुवै प्रत्यारोपण निःशुल्क

ललितपुरको धापाखेलस्थित सुमेरु अस्पतालले दुईजनामा मिर्गौलाको सफल प्रत्यारोपण गरेको छ । अस्पतालले ३० असार र २ साउनमा गरी दुई प्रत्यारोपणमा सफलता हासिल गरेको हो । दुवै बिरामीलाई निःशुल्क प्रत्यारोपणसेवा दिएको अस्पतालले जनाएको छ । यससँगै सुमेरु मिर्गौलाको सफल प्रत्यारोपण गर्ने सातौँ अस्पताल बनेको छ । यसअघि मिर्गौला प्रत्यारोपण अनुमति पाएका कुल ८ अस्पतालमध्ये ४ सरकारी र २ निजी अस्पतालले प्रत्यारोपणमा सफलता हासिल गरिसकेका छन् ।

गोरखाका विकास गुरुङ र रामेछापका सुकरानी योञ्जनलाई निःशुल्क मिर्गौला प्रत्यारोपण गरिएको अस्पतालका कार्यकारी निर्देशक तथा प्रत्यारोपण टोलीका नेतृत्वकर्ता मिर्गौलारोग विशेषज्ञ डा. ऋषि काफ्लेले जनाकारी दिए । उनका अनुसार विकासलाई श्रीमतीले र सुकरानीलाई आमाले मिर्गौला दिएका हुन् ।

अस्पतालले स्वास्थ्य मन्त्रालयद्वारा गठित अंग प्रत्यारोपण समन्वय समितिको ७ फागुन ०७५ को निर्णयबाट मिर्गौला प्रत्यारोपण स्वीकृति पाएको थियो । अनुमतिपछि करिब ५ महिनाको तयारीपछि अस्पतालले सफल प्रत्यारोपण सुरु गरेको हो ।

डा. काफ्ले संयोजकत्वको प्रत्यारोपण टोलीमा प्रत्यारोपण सर्जनका रूपमा डा. वीरेन्द्र यादव, डा. किरण श्रेष्ठ, डा. राकेश बर्मा, डा. डिभी कार्की, डा. वेस अन्सारी थिए । त्यसैगरी, नेफ्रोलोजिस्ट डा. राजेन्द्रकुमार अग्रवाल, डा. नवीन बस्नेत, डा. वर्षा श्रेष्ठ, डा. सन्तोष गुरुङ, डा. सञ्जीव आचार्य र प्रत्यारोपण एनेस्थेसियोलोजिस्ट डा. महालक्ष्मी देउजा, डा. अनिल ओझासहित १२ जनाको टोली प्रत्यारोपणमा संलग्न रहेको अस्पतालले जनाएको छ ।

अस्पतालले बिहीबार आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा मिर्गौला प्रत्यारोपणबारे भावी योजनासहितको जानकारी दिएको थियो । ‘हामी मिर्गौला प्रत्यारोपणलाई निरन्तरता दिन चाहन्छौँ, त्यसका लागि सरकारको सहयोग आवश्यक छ,’ निर्देशक डा. काफ्ले भने, ‘सरकारले दिँदै आएको ४ लाख रूपैयाँ र प्रत्यारोपणपछि खाने इम्युनो सम्प्रोसिस औषधि प्राइभेट अस्पताललाई उपलब्ध गराएको खण्डमा हामीले प्रत्यारोपणलाई थप बढावा दिन सक्छौँ ।’

मिर्गौला प्रत्यारोपणका लागि अस्पतालले सरकारले बिरामीलाई उपलब्ध गराउँदै आएको रकममै बिरामीलाई सेवा दिने डा. काफ्ले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय