विराट मेडिकल कलेज टिचिङ हस्पिटलमा स्वास्थ्यबिमा कार्यक्रम

मोरङको बूढीगंगा गाउँपालिका–२, टंकीसिनवरीमा अवस्थित विराट मेडिकल कलेज टिचिङ हस्पिटलमा आजकल स्वास्थ्यबिमा गरेका बिरामीको भिड लाग्ने गरेको छ । अस्पतालबाट सरकारी स्वास्थ्यबिमा कार्यक्रमअन्तर्गत सेवाप्रवाह हुन थालेपछि आसपास क्षेत्रका बिमितहरू स्वास्थ्योपचारका लागि अस्पताल आउन थालेका हुन् । हाल करिब ४४ जिल्लामा चलिरहेको स्वास्थ्यबिमा कार्यक्रम चालू आर्थिक वर्षभित्र ७७ वटै जिल्लामा विस्तार गरिसक्ने घोषणा सरकारले गरिसकेको छ । यससँगै बिमाअन्तर्गतको उपचार सेवाप्रदायक स्वास्थ्यसंस्था पनि बढिरहेका छन् ।

स्वास्थ्यसेवाको खर्चलाई परिवारले धान्न सक्ने स्थितिमा ल्याउन, स्वास्थ्य समस्याका कारण हुन सक्ने जोखिमलाई न्यूनीकरण गर्न ल्याइएको कार्यक्रम नै स्वास्थ्यबिमा हो । केही वर्षयता स्वास्थ्यबिमासम्बन्धी योजना बजेटमा परे तापनि कार्यान्वयन भने अझै सोचेजस्तो प्रभावकारी हुन सकिरहेको छैन । सरकारले सामाजिक सुरक्षाअन्तर्गत स्वास्थ्यबिमा कार्यक्रम ल्याएको हो । कार्यक्रममा आबद्ध ५ जनासम्मको परिवारले वार्षिक ३ हजार ५ सय रुपैयाँ प्रिमियम बुझाएपछि वार्षिक १ लाखसम्मको उपचारसेवा तोकिएका स्वास्थ्यसंस्थाबाट पाउने व्यवस्था छ । ५ भन्दा बढी सदस्यको हकमा प्रतिसदस्य ७ सयका दरले प्रिमियम थप गरी प्रतिसदस्य थप २० हजार गरी अधिकतम २ लाखसम्मको उपचारसेवा पाउने व्यवस्था छ ।

सरकारले स्वास्थ्यबिमाको अवधारणा अघि सारेपछि बिमा कम्पनीहरूले समेत स्वास्थ्यबिमा योजनालाई सरल बनाउन थालेका छन् । स्वास्थ्यबिमा गरेपछि बिरामी पर्दा वा चोटपटक लाग्दा उपचार खर्च बिमाबापत पाइन्छ । वार्षिक रुपमा निश्चित रकम तिरेपछि निश्चित रकमसम्मको उपचार खर्च बिमा कम्पनीमार्फत पाइन्छ ।

प्रदेश १ का विभिन्न जिल्लामा पनि यो स्वास्थ्यबिमा लागू भएयता जिल्लाका सर्वसाधारण तथा विपन्न वर्गलाई पनि स्वास्थ्योपचार गराउन सजिलो भएको छ । विराट मेडिकल कलेज टिचिङ हस्पिटलले स्वास्थ्यबिमाका बिरामीलाई छुट्टै काउन्टरको व्यवस्था गरी छिटो र सरल सेवा दिने प्रयास गरेको छ । पछिल्ला दिनहरूमा अस्पतालआसपासका क्षेत्रबाट आउने बिमित बिरामीको संख्या वृद्धि हुँदै गएको अस्पतालले जनाएको छ । अस्पतालले गुणस्तरीय सेवा प्रवाह गर्दै आएकाले पनि बिमित बिरामीको रोजाइमा अस्पताल परेको अस्पतालको दाबी छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय