जनस्वास्थ्य अधिकृत रामअवतार गुप्ता १ लाख घुससहित रंगेहात पक्राउ, भुक्तानी कमिसनबापत लिएका थिए घुस

हेल्थपोस्ट
प्रकाशित
२०७६ साउन १३ गते १९:१०

राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा सञ्चार केन्द्र, टेकुका जनस्वास्थ्य अधिकृत रामअवतार गुप्ता घुससहित पक्राउ परेका छन् । गुप्तालाई सोमबार काठमाडौं महानगरपालिका–११ बबरमहलस्थित वन विभागको परिसरबाट अख्तियार दुरूपयोग अनुसन्धान आयोग, टंगालबाट खटिएको टोलीले एक लाख रूपैयाँ घुस रकमसहित पक्राउ गरेको हो ।

सातौँ तहका अधिकृत गुप्ताले जनचेतनामूलक सामग्रीहरू रेडियोमा प्रचार–प्रसार गर्न कोटेसन दिई कार्य सम्पन्न गरेको पार्टीसित भुक्तनी गरेपश्चात् कमिसनबापत उक्त रकम घुस लिएको अख्तियारले जनाएको छ । गुप्ताले भुक्तानीमा कमिसनबापतको घुस माग गरिरहेको सूचना तथा उजुरीका आधारमा उनीमाथि अनुसन्धान गर्दा घुस लिइसकेको अवस्थामा घुस रकमसहित उनलाई रंगेहात नियन्त्रणमा लिएको अख्तियारले विज्ञप्तिमार्फत जानकारी दिएको छ ।

घुस रकम लिइसकेको अवस्थामा रकमसहित पक्राउ परेका गुप्तामाथि थप अनुसन्धान भइरहेको अख्तियारका प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिएका छन् । अनुसन्धानपछि अख्तियारले कसुरबमोजिमको बिगो, सोहीबराबरको जरिवाना तथा जेलसजायको मागदाबीसहित गुप्ताविरुद्ध विशेष अदालतमा मुद्दा चलाउनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय