१३०औँ वर्षमा वीर अस्पताल, नागरिक वडापत्र र शौचालय मर्मत उपलब्धि !

मुलुकको सबैभन्दा जेठो र ठूलो अस्पताल वीरले स्थापनाको १३०औँ वार्षिकोत्सव मनाइरहँदा सेवाग्राहीमा मात्र होइन, अस्पतालको व्यवस्थापन तहमा रहेका पदाधिकारीमा समेत कुनै उत्साह देखिएन । अति विपन्न तथा कत्ति पनि उपचार खर्च नहुने नागरिकले समेत गुणस्तरीय उपचारसेवा पाउने विश्वास लिइएको अस्पतालको सेवाप्रवाहको अवस्था सेवाग्राहीको माग र समयको आवश्यकताभन्दा निकै पछाडि देखिएको छ ।

सायदै कुनै अर्थमन्त्री होलान्, जसले वार्षिक बजेट भाषणका क्रममा वीर अस्पतालको नाम नलिएका होऊन् । पछिल्लो समय प्रत्येक वर्ष सरकारको नीति तथा कार्यक्रम तथा त्यसलाई कार्यान्वयन गर्न ल्याइने बजेटमा वीर अस्पताललाई अन्तर्राष्ट्रियस्तरको अत्याधुनिक सुविधासम्पन्न अस्पतालका रूपमा विकास गर्ने घोषणा गरिन्छ । र, स्वास्थ्यको बजेटको राम्रै हिस्सा वीरका लागि छुट्याइन्छ पनि । यद्यपि, घोषणाअनुरूप अस्पतालको विकासका लागि त्यो पर्याप्त भने छैन ।

छुट्याइएको बजेटको पनि सदुपयोग हुन नसक्दा र घोषित कार्यक्रमहरू कार्यान्वयनमा आउन नसक्दा अस्पतालको सेवाप्रवाहको अवस्था भने सुध्रिन सकेको छैन । अस्पतालका हरेक पाटामा चरम राजनीतीकरण सेवा र सेवाको गुणस्तर विकासका बाधक बन्दै आएका छन् । अस्पतालमा सधैँ नै अत्यावश्यकीय सेवाहरू अपुग नै छन्, जसको प्रत्यक्ष असर विपन्न र निम्न तथा मध्यम आयस्तरका बिरामीको स्वास्थ्यमा परिरहेको छ । साधन–स्रोत अभावमा बिरामीको माग र आवश्यकताअनुसार वीरले सेवा दिन नसक्नु भनेको अधिकतर बिरामीको हकमा उपचारबाट विमुख हुनु हो, जुन नागरिकको संवैधानिक अधिकारको निर्मम हनन हो ।

नागरिक वडापत्र, लिफ्ट जडान, शौचालय मर्मत, क्यास काउन्टर प्रमुख उपलब्धि
आइतबार अस्पतालमा आयोजित वार्षिकोत्सव कार्यक्रममा अस्पतालको वार्षिक उपलब्धि विवरण प्रस्तुत गर्दै गर्दा निर्देशक डा. केदार सेन्चुरी निरीह देखिए । गत आर्थिक वर्षमा अस्पतालमा नागरिक वडापत्र राखेको, न्याम्सको भवनमा लिफ्ट जडान गरेको, शौचालय मर्मत गरेको, क्यास काउन्टर सञ्चालनका लागि नयाँ बैँकसँग सम्झौता गरेको कामलाई नै प्रमुख उपलब्धिका रूपमा सुनाउनुपर्दा देशकै उपचारको केन्द्रको नेतृत्वकर्तालाई पक्कै पनि असहज महसुस भएको हुनुपर्छ ।

यद्यपि, उनले अनगिन्ती बाध्यता, असीमित अवश्यकता र सीमित स्रोत–साधनले बाँधिएका कारण नै अवश्यकताअनुसार सेवा दिन नसकेको अभिव्यक्ति भने दिन छुटाएनन् । आवश्यक संख्यामा बेडको अभाव, मागअनुसार आइसियू बेड अपर्याप्त हुनु, जनशक्ति अपर्याप्त हुनुलगायत कारण सेवाप्रवाहमा विद्यमान सिथिलतामा प्राण भर्न नसकिएको उनको आशय थियो ।

अस्पतालमा सञ्चालनरत सेवालाई व्यवस्थित गर्नसमेत पर्याप्त बजेट नभएको डा. सेन्चुरीको गुनासो छ । आन्तरिक आम्दानी बढ्न नसक्दा यसबाट चलाउनुपर्ने खर्चसमेत धान्न नसकिएको उनले बताए । नवनिर्मित भवनबाट सेवा दिन नर्सिङ स्टाफ अपुग भएको उनले बताए । जनशक्ति अभावकै कारण अस्पतालको फार्मेसी रातिको सिफ्टमा सञ्चालन गर्न नसकिएको उनको भनाइ छ । यद्यपि, मन्त्रालयका सचिव रामप्रसाद थपलिया भने अब सरकारी अस्पतालमा जनशक्तिको अभाव नहुने दाबी गरिरहेका थिए । १७ वटै सरकारी अस्पतालका लागि आवश्यक जनशक्ति व्यवस्थापन सर्वेक्षण गर्ने तयारी भइरहेको बताउँदै अब सरकारी अस्पतालले आवश्यक संख्यामा जनशक्ति पाउने उनको आवश्वासन थियो ।

४, २२, ८०१ लाई ओपिडीसेवा, ६, ८७७ शल्यक्रिया
निर्देशक डा. सेन्चुरीका अनुसार अस्पतालले गत वर्ष १४ जना विपन्न नागरिकलाई निःशुल्क मिर्गौलाप्रत्यारोपण सेवा दिएको छ । ८ वटा हेमोडाइलासिस मेसिन थप गरिएको छ भने सर्भर जडान भएको छ । क्यान्सर उपकरण जडानका लागि बंकर निर्माण भइरहेको उनले जानकारी दिए ।

गत आर्थिक वर्षमा अस्पतालले ४ लाख २२ हजार ८ सय १ जनालाई ओपिडीसेवा दिएको अस्पतालको तथ्यांक छ । उक्त वर्ष अस्पतालले ४४ हजार ५ सय बिरामीलाई आकस्मिक तथा १३ हजार बिरामीलाई अन्तरंग सेवा दिएको छ । एक वर्षको अवधिमा अस्पतालले ६ हजार ८ सय ७७ शल्यक्रिया गरेको तथ्यांकले देखाएको छ ।

शल्यक्रिया र आइसियूसेवा सबैभन्दा दुर्लभ, पालो नपाउँदा विनाउपचार फर्किनुपर्ने बाध्यता
वीरमा सबैभन्दा बढी बिरामी शल्यक्रिया र आइसियूका लागि पालो नपाएर फर्किन बाध्य छन् । सीमित सेवाका कारण उपचार दिन नसकी बिरामीलाई फर्काउनुपर्ने बाध्यता रहेको चिकित्सक तथा स्वयम् निर्देशक बताउँछन् । अस्पतालको आइसियूमा हाल २० बेड मात्र सञ्चालनमा छन्, जुन बिरामीको चापका दृष्टिले ज्यादै न्यून हो ।

‘यति ठूलो अस्पतालमा जम्मा २३ वटा आइसियू बेड छन्, त्यसमा पनि अहिले २० बेड मात्र सञ्चालनमा छन्,’ निर्देशक डा.सेन्चुरीले भने, ‘कम्तीमा पनि २० बेड आइसियू तत्कालै थप्नुपर्ने अवस्था छ ।’ अढाई सय चिकित्सकसहित एक हजार ५ सय कर्मचारी रहेको अस्पतालमा बेडसंख्या भने जम्मा ४ सय ६० मात्र छ ।

वि.सं. १९४७ मा स्थापना भएको अस्पतालले ०५९ देखि चिकित्साविज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स)का रूपमा विशेषज्ञ चिकित्सक जनशक्ति उत्पादन गरिरहेको छ । भूकम्पले पुरानो भवन भत्किएपछि जाइकाको सहयोगमा नवनिर्मित भवनबाट थप १०० शय्या सञ्चालन गर्न जनशक्ति अभाव भएको प्रतिष्ठानकी रजिस्ट्रार प्रमिला देवानले बताइन् । पूर्वाधारकै अभावमा ऐतिहासिक नर्सिङ क्याम्पससमेत भाडाको भवनमा सार्नुपरेको उनको भनाइ छ । साततले सर्जिकल भवन बन्ने तयारीमा रहे पनि त्यसबाट सेवा दिनसमेत जनशक्ति अभाव हुनेमा उनको चिन्ता छ । त्यसका लागि अहिलेदेखि नै जनशक्ति व्यवस्थापनको काम सुरु गर्न थाल्न उनको सुझब छ ।

भक्तपुरमा अस्पताल विस्तारको काम सुरु हुुनै सकेन
भक्तपुरमा वीरको सेवाविस्तारको गुरुयोजना गत आर्थिक वर्षमा सुरु हुनै सकेन । सरकारको नीति तथा कार्यक्रम र बजेटमै घोषणा गरिएको र मन्त्रालयले रणनीतिमा पारेको भवन निर्माणको काम सुरु हुनै नसकेको हो । यसअघि स्वास्थ्यसचिव डा. पुष्पा चौधरीले भक्तपुरको निर्माणमा डिपिआरको जिम्मा पाएको चीन सरकारले स्थलगत अध्ययन गरी उक्त स्थानमा अस्पताल निर्माण गर्न उपयुक्त नहुने रिपोर्ट दिएका कारण काम सुरु हुन नसकेको जानकारी दिइसकेकी छिन् । यससँगै अस्पतालको भक्तपुरमा मानसिक, प्रसूति र बालरोगको उपचार सेवासहितको १ हजार ५ सय बेडको अस्पताल र अन्य प्रशासनिक भवन बनाउने गुरुयोजना अन्योलमा परेको छ ।

भागबन्डामा पदाधिकारी नियुक्ति र दर्जनभन्दा बढी ट्रेड युनियनको चेपुवामा अस्पताल
वीर तथा न्याम्सका पदाधिकारी राजनीतिक भागबन्डामा नियुक्त हुँदै आएका छन् । दुईतिहाइको मजबुत सरकार भएका वेला पनि प्रधानमन्त्री र विभागीय मन्त्रीबीच भागबन्डामा कुरा नमिल्दा सिफारिसको ७–८ महिनासम्म पनि प्रतिष्ठानले पदाधिकारी पाउन नसकेको इतिहास ताजै छ । समय घर्काएर गरिएको पदाधिकारी नियुक्तिमा न्याम्सको उपकुलपति र ट्रमा सेन्टरका निर्देशक स्वास्थ्यमन्त्रीको भागमा परेको थियो भने अन्य पदाधिकारीमा प्रधानमन्त्रीको पार्टीले भाग पाएको थियो ।

अस्पतालमा दर्जनभन्दा बढी कर्मचारी तथा चिकित्सक संगठन क्रियाशील छन् ।  अस्पतालमा चिकित्सक र नर्सजस्ता प्राविधिक जनशक्तिको अभाव भइरहँदा अन्य स्वास्थ्यकर्मी र प्रशासनिक कर्मचारी भने राजनीतिक पहुँचका आधारमा आवश्यकभन्दा बढी भर्ती गरिँदै आएको छ । प्रतिष्ठानमा अझै पनि नेपाल सरकार र प्रतिष्ठानअन्तर्गतका दुईथरी कर्मचारी कार्यरत छन्, जसले द्वन्द्व सिर्जना गर्ने गरेको छ । अस्पतालमा चरम राजनीतिक दबाब र ट्रेड युनियनहरूको चेपुवामा परेका पदाधिकारीहरू अस्पतालको हितमा भन्दा पनि उनीहरूकै इसारामा चल्न बाध्य छन् । यसले भएको साधन–स्रोतको समेत उचित परिचालन हुन नसक्दा अस्पतालका सेवाहरू अस्तव्यस्त बन्न पुगेका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय