डा. भगवान कोइराला नेतृत्वको इन्स्टिच्युट अफ चाइल्ड हेल्थलाई काठमाडौंमा ४१ रोपनी १० आना सरकारी जग्गा

हेल्थपोस्ट
प्रकाशित
२०७६ साउन ९ गते १७:०२

सरकारले वरिष्ठ मुटुरोग विशेषज्ञ डा. भगवान कोइराला नेतृत्वको काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थलाई काठमाडौंमा ४१ रोपनी १० आना ३ पैसा सरकारी जग्गा उपलब्ध गराएको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले बुढानीलकण्ठ नगरपालिका–७ मा नेपाल सरकारका नाममा रहेको कित्ता नं. २३ को उल्लेखित परिमाणको जग्गा इन्स्टिच्युटलाई लिजमा दिने निर्णय गरेको हो ।

काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थले राजधानी काठमाडौंसहित मुलुकका सातै प्रदेशमा गैरनाफामूलक सुविधासम्पन्न बाल अस्पताल निर्माण गर्ने घोषणा डा. कोइरालाले गत साता गरिसकेका छन् । गैरनाफामूलक संस्था र व्यक्तिसँगको सहकार्यमा काठमाडौंमा १०० बेड र प्रदेशमा कम्तीमा ५० बेडका स्याटलाइट अस्पताल स्थापना गर्ने डा. कोइरालाको योजना छ । सोही प्रयोजनका लागि सरकारले डा. कोइराला नेतृत्वको इन्स्टिच्युटलाई उक्त जग्गा उपलब्ध गराएको हो ।

गत शनिबार डा. कोइरालाले महत्त्वाकांक्षी परियोजनाको घोषणा गरेलगत्तै दुई दिनपछि बसेको मन्त्रिपरिषद्ले बाल अस्पताल परियोजनाका लागि लिजमा सरकारी जग्गा उपलब्ध गराएको हो ।

गत शनिबार डा. कोइरालाले महत्त्वाकांक्षी परियोजनाको घोषणा गरेलगत्तै दुई दिनपछि बसेको मन्त्रिपरिषद्ले बाल अस्पताल परियोजनाका लागि लिजमा सरकारी जग्गा उपलब्ध गराएको हो । जग्गाप्राप्तिसँगै डा. कोइरालाको परियोजनाले गति लिने भएको छ । जग्गा किन्न नपरेमा परियोजनाको लागत करिब ८० प्रतिशतले कम हुने डा. कोइरालाले यसअघि नै बताइसकेका छन् । अवकाशको सँघारमा पुगेका डा. कोइरालाले आफ्नो सरकारी सेवाबाट निवृत्त जीवनका महत्त्वपूर्ण क्षण यसै परियोजनालाई सफल बनाउन प्रयोग गर्ने प्रण गरेका छन् ।

कारिब २ अर्ब लागतको परियोजनाको सुरुवाती चरणमा २ वर्षभित्र काठमाडौंमा १०० बेडको बाल अस्पताल बनाइसक्ने लक्ष्य छ । यसका लागि सरकारले जग्गा उपलब्ध गराइसकेकाले अब निर्माणको प्रक्रिया अघि बढ्ने बताइएको छ । काठमाडौंमा अस्पताल सञ्चालनमा आएपछि प्रदेश सरकारहरुको समन्वय र सहयोगमा अन्य ६ प्रदेशमा पनि अस्पताल स्थापनाको प्रक्रिया अघि बढाइने डा. कोइरालाको भनाइ छ ।

डा. कोइरालाले ३५ वर्षको चिकित्सा सेवा, २५ वर्षको शल्यचिकित्सा र २० वर्षको व्यवस्थापन अनुभव, सम्बन्ध र विश्वासलाई एकीकृत गरी बाल स्वास्थ्यको क्षेत्रमा महत्त्वपूर्ण योजना अगाडि सारेको डा. कोइरालाको भनाइ छ । ‘मुटुमा निःशुल्क शल्यक्रिया पनि सुरु भयो, तर मुटु मात्रै ठिक गरेर बालस्वास्थ्यका धेरै कुरा बनेनन्,’ डा. कोइराला भन्छन्, ‘बालस्वास्थ्यमा अत्याधुनिक र सुविधासम्पन्न सेन्टर बनाउने मेरो सपनाको आधार त्यही हो ।’

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय