फार्मेसी हटाउन मन्त्रालयसँग लुम्बिनी प्रादेशिक अस्पतालको ‘गुहार’

लुम्बिनी प्रादेशिक अस्पतालले आफ्नै हाताभित्र रहेको नीजि फार्मेसी हटाउन मन्त्रालयसँग सहयोग मागेको छ । पटकपटक सटर खाली गर्नका लागि पत्र लेख्दा समेत फार्मेसीले अटेर गरेपछि अस्पतालले मन्त्रालयसँग गुहारेको हो । अस्पताल प्रशासन र प्रदेश नं. ५ को सामाजिक विकास मन्त्रालय फार्मेसी हटाउँदाको दोष आफ्नो थाप्लोमा आउने डरले हात हाल्न डराइरहेका छन् । यहाँका राजनैतिक दलहरुका सबैजसो नेताहरुको चलखेलका कारण अस्पताल प्रशासन र मन्त्रालय फार्मेसीको बिषयमा हात हाल्न डराइरहेको छन् ।

अस्पतालभित्र रहेको जनप्रिय फार्मेसीको म्याद गत असार १५ गते सकिएको हो । उक्त फार्मेसीले अस्पतालको सटरको भाडा मासिक रुपमा १६ लाख भन्दा बढी तिर्दै आएको छ । म्याद सकिँदासमेत उसले निर्वाद दैनिक रुपमा लाखौ मूल्यको औषधी अस्पताल भित्रबाटै बिक्री गरिहेको छ ।
अस्पताल प्रशासनले फार्मेसी खाली गराउनका लागि यस पटक आँट गरेपनि हटाउन नसेपछि सहयोगका लागि प्रदेश ५ को सामाजिक विकास मन्त्रालयलाई पत्र पठाइ मौन बसेको छ । पत्र पाएको २५ दिन बित्दा समेत मन्त्रालय पनि यस बिषयमा चुपचाप छ ।

डा. कृष्ण खनाल, मेसु, लुम्बिनी प्रादेशिक अस्पताल, बुटवल

मन्त्रालयले अस्पतालको पत्रको जवाफ नदिइ बस्नुलाई अस्पतालका कर्मचारीहरु नहटाउने राजनैतिक दबाबका कारण त्यसो भएको हुन सक्ने विश्लेषण गर्दछन् । सटर भाडाको टेण्डर गर्नका लागि अस्पताल प्रशासनलाई पटक पटक पत्र पठाएको मन्त्रालयले यसको जवाफ भने २४ दिन वित्दा समेत दिएको छैन् ।

नीजि फार्मेसीको म्याद सकिएपछि अस्पताल प्रशासनले सटर खाली गर्नका लागि पटक पटक पत्र लेखेको लुम्बिनी प्रादेशिक अस्पतालका मेसु डा. कृष्ण खनाल बताउँछन् । उनले फार्मेसीले बिभिन्न कारण जनाउदै आफुहरु घाटामा रहेको हुदा म्याद थप्नका लागि अनुरोध गरेको भएपनि म्याद थप्न नसकिने लिखित जानकारी गराएको बताए ।

फार्मेसी नहटेपछि सामाजिक विकास मन्त्रालयलाई पत्र लेखि सहयोग गर्न भनिएको र आफुहरु मन्त्रालयको जवाफ कुरेर बसेको डा. खनालले बताए । मन्त्री, सचिव ज्यूहरु व्यस्त भएर होला पत्रको जवाफ आएको छैन् उनले भने हामी मन्त्रालयको आदेशकै पर्खाइमा छौं ।

सुदर्शन बराल, मन्त्री, सामाजिक विकास मन्त्रालय, प्रदेश नंं. ५, बुटवल

अस्पताललाई फार्मेसी हटाउनका लागि पहिल्यै नै निर्देशन दिइएको सामाजिक विकास मन्त्री सुदर्शन बराल बताउँछन् । उनले अहिले फेरि यस बिषयमा मौखिक जानकारी आएको र पत्र आएको पनि सुनेको हुदा बुझेर काम अगाडी बढाउने बताए । मन्त्रालयको कार्ययोजनामा व्यस्त हुदा ढिला भएको हो मन्त्री बरालले भने अबको २/३ दिनमै म आफै उपस्थित भएर फार्मेसीलाई हटाउँछौं ।

२०७३ साल फागुन १५ गते तामझामका साथ सुभारम्भ गरिएको अस्पतालको सरकारी फार्मेसी भने एउटा कुनामा सीमित बनेको छ । सेवाग्राहीले नदेख्दा अस्पताल फार्मेसीको कारोवार कम छ । अस्पतालको इर्मेजेन्सीको मुखमा रहेको नीजि फार्मेसीमा लाइन लागेर औषधी किनिरहेको अवस्थामा सरकारी फार्मेसीमा भने फाट फुट रुपमा मात्र औषधीको बिक्री हुने गर्दछ ।
स्मरण रहोस् मन्त्री बरालले एक बर्ष अघि पनि लुम्बिनी प्रादेशिक अस्पतालको नीजि फार्मेसी हटाउनका लागि पहल गर्ने बताएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय