एनएमएअन्तर्गत जुनियर डक्टर्स कमिटी बन्ने, एक साताभित्रै ६० सदस्यीय परिषद्

नेपाल चिकित्सक संघले देशभरका युवा चिकित्सकको बृहत् भेला मंगलबार काठमाडौंमा सम्पन्न गरेको छ । संघका देशभर क्रियाशील १६ वटा शाखाको प्रतिनिधित्व गर्दै ६२ जना युवा चिकित्सक तथा दन्तचिकित्सकहरू राजधानीमा भेला भएका हुन् । संघका महासचिव डा. लोचन कार्कीको आह्वान तथा संयोजनमा सम्पन्न भेलाले संघअन्तर्गतको जुनियर डक्टर्स कमिटीलाई क्रियाशील बनाउने भएको छ ।

नेपाल चिकित्सक संघ (एनएमए)अन्तर्गतका विभिन्न समितिमध्ये जुनियर डक्टर्स कमिटी (जेडिसी)लाई पुनर्जीवन प्रदान गर्न तथा नयाँ कार्यसमिति चयनमार्फत युवा चिकित्सकहरूलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गतिविधिहरूमा क्रियाशील बनाउन युवा चिकित्सकलाई भेला गराइएको संघका महासचिव लोचन कार्कीले जानकारी दिए । उनका अनुसार देशभर रहेका सम्पूर्ण युवा चिकित्सकलाई संघअन्तर्गतको एउटै छाता संगठनभित्र एकताबद्ध रूपमा संगठित बनाई पेसागत हित तथा सामाजिक काममा सक्रिय बनाउन भेला आयोजना गरिएको हो ।

भेलामा संघअन्तर्गतको जुनियर डक्टर्स कमिटी (जेडिसी)को गठन, त्यसको विश्व चिकित्सक संघ (वर्ल्ड मेडिकल एसोसिएसन)अन्तर्गतको जुनियर डक्टर्स नेटवर्कसितको संलग्नता, सामाजिक क्रियाकलाप तथा पेसागत हितका कार्यमा कमिटीको परिचालन, कमिटीका भावी रणनीतिलगायत विषयमा अन्तरक्रियात्मक छलफल भएको उनले जनकारी दिए । केही वर्षअघि क्रियाशील रहेको जेडिसी पछिल्लो केही समयदेखि निष्क्रिय थियो ।

विधानले जेडिसी गठनको पूर्ण अधिकार संघको महासचिवलाई दिए पनि आफूले पूर्ण पारदर्शी र सर्वस्वीकार्य बनाउन सबै शाखासित प्रतिनिधिहरू माग गरी भेला बोलाएको र अब परिषद् र कार्यसमितिको चयन पनि सबैको सल्लाहमा गर्ने डा. कार्कीको भनाइ छ ।

देशभर कार्यरत मेडिकल अफिसरहरू, बिडिएस डाक्टरहरू, रेजिडेन्ट डाक्टरहरू तथा एमबिबिएस सकाएको १० वर्ष नपुगेका र माथिल्लो अध्ययन नगरी बसेका चिकित्सकहरू सदस्य रहने जेडिसीको नेतृत्व एनएमएका महासचिवले गर्ने प्रावधान छ । जेडिसी गठनको जिम्मेवारी पनि एनएमएका महाचिवकै भएकाले आफूले युवा चिकित्सकहरूको विधिवत् भेला बोलाएर कमिटी गठनको प्रक्रिया अघि बढाएको डा. कार्कीले बताए ।

महासचिवको संयोजकत्वमा १५ सदस्यीय कार्यसमिति, एक साताभित्र ६० जनाको परिषद् बन्ने
एनएमएको जस्तै जेडिसीको पनि १५ सदस्यीय कार्यसमिति बनाउने तयारी छ, जसको नेतृत्व विधानतः संघका महासचिवले गर्नेछन् । ‘महासचिव (कार्की स्वयम्)को संयोजकत्वमा १५ सदस्यीय कार्यसमिति बन्नेछ,’ महासचिव डा. कार्कीले भने, ‘सातै प्रदेशबाट कम्तीमा एक–एकजनाको प्रतिनिधित्व हुने गरी १४ जना सदस्य छनोट गर्ने योजना छ ।’

कार्यसमितिको चयनका लागि एक साताभित्र ६० जनाको परिषद् बनाइने डा. कार्कीले जानकारी दिए । यही परिषद्ले नै आफूहरूमध्येबाट १४ जना सदस्य कार्यसमितिका लागि चयन गर्नेछ । यससँगै महासचिवको संयोजकत्वमा १५ सदस्यीयक जेडिसीको गठन हुनेछ ।

विधानले जेडिसी गठनको पूर्ण अधिकार संघको महासचिवलाई दिए पनि आफूले पूर्ण पारदर्शी र सर्वस्वीकार्य बनाउन सबै शाखासित प्रतिनिधिहरू माग गरी भेला बोलाएको र अब परिषद् र कार्यसमितिको चयन पनि सबैको सल्लाहमा गर्ने डा. कार्कीको भनाइ छ । देशभर कार्यरत सम्पूर्ण चिकित्सक संघको छाताअन्तर्गत एकमतले गोलबद्ध हुनुपर्ने उनले बताए । ‘एउटै छाता संगठन हुँदाहुँदै पनि चिकित्सकले कतिपय भिन्न संघ–संगठनहरू बनाउनाले चिकित्सकलाई नै कमजोर बनाइरहेको अवस्था छ,’ उनले भने, ‘चिकित्सकको शक्ति र प्रभाव बढाउन, पेसागत विकास र सामाजिक हित अभिवृद्धि गर्न सबै चिकित्सक एकताबद्ध हुनु आवश्यक छ । युवा चिकित्सकको पछिल्लो भेला एकैको एउटा प्रयास हो ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय