डुबानपछि तराईमा सर्पले लियो ७ को ज्यान, सर्पदंशका बिरामी ३४३, २२ स्वास्थ्यसंस्था डुबानमा

असारको अन्तिम सातादेखि भएको अविरल वर्षाका कारण आएको बाढी–पहिरो र त्यसले निम्त्याएको डुबानको असर प्रभावित क्षेत्रका स्थानीयले भोगिरहेका छन् । आइतबारदेखि फेरि वर्षा हुन सुरु भएका कारण बाढी–पहिरोले देशभरको जनजीवन नराम्ररी प्रभावित भएको छ । हालसम्म बाढी–पहिरोका कारण १ सय १ जनाले ज्यान गुमाइसकेका छन् । बाढी–पहिरोमा परेका २९ जना बेपता छन् भने ४३ जना घाइतेकोे उपचार भइरहेको सरकारी तथ्यांक छ । यसका अतिरिक्त बाढीकै कारण पूर्वी तराईमा यत्रतत्र निस्किएका सर्पको टोकाइबाट ७ जनाको ज्यान गइसकेको छ भने सयौँ उपचाररत छन् ।

पहाडमा पहिरोले आहत पुर्याइरहँदा तराईमा बाढी र डुबानले जीवन कष्टकर बनिरहेको छ । डुबानपछि बाहिर निस्किएका सर्पको टोकाइले तराईवासीको ज्यान जानेक्रम बढेको छ । पहाडी जिल्ला गुल्मीमा मंगलबार बिहान गएको पहिरोले पुरिएर दर्जनौँ ज्यान गुमेको छ भने पूर्वी तराईको सिरहा जिल्लामा डुबानपछि सर्पदंशबाट ५ जनाको ज्यान गइसकेको छ ।

डुबानपछि सर्पदंशले लियो ७ ज्यान, सिरहामा मात्र ५ को मृत्यु
दुई साताको अवधिमा डुबानमा परेका तराईका जिल्लाहरूमा पानीजन्य रोगको संक्रमण बढ्नुका साथै सर्पदंशले बिस्तारै महामारीको रूप लिँदै गएको छ । पछिल्लो एक सातामा सिराहामा मात्र ५ जनाको मृत्यु भएको छ भने रौतहट र जनकपुरमा १–१ जनाको ज्यान गइसकेको छ ।

डुबानमा परेलगत्तै प्रभावित क्षेत्रमा पानीजन्य रोगहरूको संक्रमणसँगै सर्पको बिगबिगी फैलने जोखिम विज्ञहरूले औँल्याउँदै आएका छन् । डुबानमा परेका क्षेत्रमा सर्प बस्ने जमिनमुनिको भागमा पानी जमेपछि सर्पहरू बाहिर निस्कने भएका कारण सर्पको टोकाइको जोखिम बढ्ने गर्छ । यस अवधिमा पानीजन्य संक्रामक रोगको महामारीको अवस्था नरहे पनि अधिकांश ठाउँमा झाडापखाला, ज्वरो तथा सर्पदंर्शका बिरामी बढिरहेको स्वास्थ्य मन्त्रालयअन्तर्गतको आपत्कालीन तथा विपद्व्यवस्थानका एकाइ (एचइओसी)का प्रमुख चूडामणि भण्डारीले जानकारी दिए ।

सर्पदंशका ३४३ बिरामी अस्पतालमा
पछिल्लो एक सातामा मात्रै तराईका ६ अस्पतालमा सर्पको टोकाइका कारण उपचार गर्न आउनेको संख्या ३ सय ४३ पुगेको एचइओसीले जानकारी दिएको छ । एचइओसीले दिएको तथ्यांकअनुसार २७ असारदेखि २ साउनसम्म गौर अस्पताल रौतहट, नारायणी अस्पताल वीरगन्ज, सगरमाथा अस्पताल सप्तरी, जनकपुर अस्पताल, कलैया अस्पताल बारा र सिरहा अस्पतालमा गरी ३ सय ४३ सर्पदंशका बिरामी उपचारका लागि पुगेका छन् ।

२२ स्वास्थ्यसंस्था डुबानमा
बाढीप्रभावित तराईका तीन जिल्लाका २२ वटा स्वास्थ्यसंस्था डुबानमा परेका छन् । रौतहटमा ८, सर्लाहीमा ११ र महोत्तरीमा ३ वटा स्वास्थ्यसंस्था डुबानमा परेका हुन् । ‘पुनः वर्षा सुरु भएपछि सिरहाका ५ वटा पालिका पूर्ण रूपमा प्रभावित भएका छन्, ‘जिल्ला जनस्वास्थ्य कार्यालय सिरहाका प्रमुख डा. नागेन्द्रप्रसाद यादव भन्छन्, ‘जसका कारण सर्पदंशको समस्या बढ्दै गएको छ, एक सतामा १ सयजनाभन्दा बढी सर्पदंशका बिरामी अस्पताल आएका छन् । तीमध्ये ५ जनाको मृत्यु भइसकेको छ ।’

सर्पको टोकाइपछि अझै पनि अस्पताल जानुको साटो झारफुकमा लाग्ने प्रवृत्तिले ज्यानको जोखिम बढेको डा. यादवको भनाइ छ । ‘धेरै मानिस अझै पनि सर्पले टोकेपछि झारफुकमै लाग्ने गर्छन्,’ उनी भन्छन्, ‘अन्तिम अवस्थामा अस्पताल आउने गर्दा मृत्युको मुखबाट बचाउन सकिँदैन ।’

सर्पले टोकेपछि के गर्न हुन्छ, के हुँदैन ? : डा. पुन

तराई डुबानमा परेका क्षेत्रमा सर्प बस्ने जमिनमुनिको भागमा पानी जमेपछि सर्पहरू बाहिर निस्कने भएका कारण सर्पको टोकाइको जोखिम बढ्दै गएको शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पताल टेकुका डा. शेरबहादुर पुन बताउँछन् । ‘तराईमा पाइने सर्पहरू धेरै विषालु हुन्छन्, जसको टोकाइमा उपचार गर्न सकिएन भने मानिसको तत्काल मुत्यु पनि हुने गर्छ,’ डा. पुन भन्छन्, ‘नेपालमा बर्सेनि हजारौँ मानिसको सर्पले टोकेकै कारण मुत्यु हुने गरेको तथ्यांक छ । ठूलो संख्यामा बिरामीको स्वास्थ्यसंस्थामा पुग्न नपाई मृत्यु हुने गरेको छ ।’

डा. पुनका अनुसार सर्पले टोक्नेबित्तिकै कडाखालको रबर तथा कपडाले बाँध्ने काम गर्नुहुँदैन । कपडाले बाँध्नाले रगत आपूर्ति गरिरहेका अन्य सेलहरू मर्न जान्छन् । सेल मरेपछि हात तथा खुट्टा कालो भएर मृतप्रायः हुन्छन् । किनभने, त्यहाँका कोषिका मरिसकेका हुन्छन् र काम नलाग्ने भएर काटेर फाल्नुपर्ने अवस्था आउँछ ।

लक्षण
– सर्पले टोकेको ठाउँ सुन्निने,
– टोकेको भाग दुख्ने,
– घाउमा पानीका फोका जम्ने,
– इन्फेक्सन हुन सक्ने समस्या आउने,
– सास फर्न गाह्रो हुने,
– पसिना आउने तथा र्याल काट्ने ।

सर्पले टोक्नेबित्तिकै कडाखालको रबर तथा कपडाले बाँध्ने काम गर्नुहुँदैन । कपडाले बाँध्नाले रगत आपूर्ति गरिरहेका अन्य सेलहरू मर्न जान्छन् । सेल मरेपछि हात तथा खुट्टा कालो भएर मृतप्रायः हुन्छन् । किनभने, त्यहाँका कोषिका मरिसकेका हुन्छन् र काम नलाग्ने भएर काटेर फाल्नुपर्ने अवस्था आउँछ ।
सर्पले टोकेपछि स्वास्थ्यसंस्थासम्म नपुग्दासम्म प्राथमिक उपचारको पद्धति अपनाउनुपर्छ ।

प्राथमिक उपचार र सजगता
– टोकेको भागलाई धेरै चलाउनुहुँदैन । शरीर धेरै चलाएको खण्डमा विष चाँडै फैलन सक्ने हुन्छ ।
– कडाखालको रबर तथा कपडाले बाँध्ने काम गर्नुहुँदैन ।
– विषालु सर्पले टोकेको ठाउँमा काट्ने तथा चुस्ने गर्नुहुँदैन ।
– सामान्यतया बिरामीलाई सुताउनुपर्छ ।
– टोकेको ठाउँवरिपरि हल्का ब्यान्डेजले बाँध्न सकिन्छ ।
– शरीरमा भएका गरगहना फुकालिदिनुपर्छ ।

सामान्यतया बेलुका हिड्ँदा बत्ती लिएर, जुत्ता लगाएर, लठ्ठी लिएर हिँड्ने गर्नुपर्छ । तर, तराईमा सर्पहरू घरभित्र पनि लुकेर बसेका हुन्छन् । त्यसकारण घरभित्र छिरेपछि जुत्ता, ड्रम, भाँडाकुँडाका सामानहरू अनिवार्य रूपमा हेरेर झ्याल–ढोका लागाएर मात्र सुत्नुपर्छ ।

सर्पले टोकेको अवस्थामा प्राथमिक उपचार गर्दैगर्दा स्वास्थ्यसंस्था लैजाने प्रयास पनि गर्नुपर्छ । हाम्रो गाउँघरमा प्रयोग हुने मोटरसाइकल, स्कुटर आदिको सहायताले नजिकै रहेको स्वास्थ्यसंस्था तथा सर्पदंशको उपचारमा केन्द्रमा पुर्याउनुपर्छ । तराईको हकमा विषालु सर्पले टोक्ने भएको हुँदा सकेसम्म सर्पदंशको भ्याक्सिन पाउने स्वास्थ्यसंस्थामा छिटो पुर्याउनुपर्छ ।

तराईको भागमा पाइने करेट, कोभ्रा सर्प अत्यधिक विषालु हुन्छन्, जसमा मानिसको मुटु र स्नायुप्रणालीमा सीधै हान्नेखालको विष हुन्छ ।

विषालु सर्पले टोकेको ठाउँमा काट्ने तथा चुस्ने गर्नुहुँदैन । स्वास्थ्यसंस्था पुर्याउन ढिला गरेको अवस्थामा टोकेको ठाउँबाट रक्तस्राव भई बिरामीको तत्काल मृत्यु पनि हुन सक्छ । सामान्यतया बेलुका हिड्ँदा बत्ती लिएर, जुत्ता लगाएर, लठ्ठी लिएर हिँड्ने गर्नुपर्छ । तर, तराईमा सर्पहरू घरभित्र पनि लुकेर बसेका हुन्छन् । त्यसकारण घरभित्र छिरेपछि जुत्ता, ड्रम, भाँडाकुँडाका सामानहरू अनिवार्य रूपमा हेरेर झ्याल–ढोका लागाएर मात्र सुत्नुपर्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय