विराट मेडिकल कलेज टिचिङ हस्पिटलमा क्यान्सरको उपचार सुरु, डा. सापकोटाको नेतृत्व
मोरङको विराटनगरस्थित विराट मेडिकल कलेज टिचिङ हस्पिटलले क्यान्सररोगको उपचार सुरु गरेको छ । कन्सल्टेन्ट अंकोलोजिस्ट तथा हेमाटोलोजिस्ट डा. सुलभ सापकोटाको नेतृत्वमा अस्पतालले सबैखाले क्यान्सरसम्बन्धी रोगको उपचारसेवा प्रारम्भ गरेको हो । यससँगै डा. सापकोटाले विराटनगर अस्पतालमा समेत क्यान्सरको उपचार सुरु गरेका छन् ।
विराटले प्रारम्भमा सबैखाले क्यान्सरको निदानसँगै औषधिमार्फत गरिने उपचारसेवा प्रदान गर्ने जनाएको छ । ‘सुरुवातमा केमो तथा औषधिका माध्यमले गरिने सबैखाले उपचार दिँदै छौँ,’ डा. सापकोटाले भने, ‘सर्जरी र रेडिएसनसेवा भने विस्तारै विकास गर्दै लाने योजना छ ।’ क्यान्सर उपचारमा अस्पतालले सुरुमा केमोथेरापी, ल्याबसेवा, रगतको उपचार, औषधिको प्रयोगबाट गरिने सबैखाले उपचारसेवा प्रदान गर्ने उनले बताए । क्यान्सरको उपचारमा अस्पतालले दैनिक ओपिडीसेवा, केमोथेरापी, रगतको उपचार, प्यालिएटिभ र प्रिभेन्टिभ केयर, क्यान्सर स्क्रिनिङ, क्यान्सरको फुल बडी चेकअप प्याकेजलगायत सेवा दिने भएको छ ।
अस्पतालमा रेडियोथेरापी मेसिन उपलब्ध नभएकाले रेडिएसन दिएर गरिने उपचारसेवा भने तत्कालका लागि प्रदान गर्न नसकिने डा. सापकोटाले बताए । ‘रेडिएसनका लागि मेसिन अत्यन्त महँगो भएकाले तत्कालका लागि सेवा उपलब्ध छैन,’ डा. सापकोटाले भने, ‘निकट भविष्यमा सेवाविस्तार गर्दै क्यान्सर उपचारको केन्द्रका रुपमा विकास गरिनेछ ।’
त्यसैगरी, सर्जरी आवश्यक हुने उपचारसेवा पनि निकट भविष्यमा विस्तार गर्ने उनले जानकारी दिए । रक्तक्यान्सरको उपचारमा बोनम्यारो ट्रान्सप्लान्टबाहेकका उपचारसेवा दिन सकिने उनले बताए ।
विराटनगरमा डा. सापकोटाले नै ४ वर्षअघि पनि क्यान्सररोगको उपचार सुरु गरेका थिए । तर, उनी भारतको बैंग्लोरमा अध्ययनका लागि गएपछि सेवा अवरुद्ध भएको थियो । बैंग्लोरमा एक वर्ष फेलोसिप सकेर डा. सापकोटाले ३ वर्षसम्म त्यहीँ काम गरे । पछिल्लो समय विराटनगर फर्किएका डा. सापकोटाले पुनः एकपटक विराटनगरका दुईवटा अस्पतालमा एकैपटक क्यान्सररोगको उपचार सुरु गरेका छन् । यससँगै पूर्वी नेपालका क्यान्सरपीडितले निकै राहत पाउने भएका छन् । विराटनगरमा मात्र नभएर पूर्वी नेपालमै क्यान्सररोगका उपचार केन्द्र पर्याप्त नहुँदा बिरामीले उपचारमा अप्ठ्यारो खेपिरहेका छन् । पूर्वी नेपालमा क्यान्सररोगी उल्लेख्य मात्रामा रहेको डा. सापकोटा बताउँछन् ।
यी लक्षण क्यान्सरका हुन सक्छन्, समयमै उपचार गरे निको हुन्छ क्यान्सर
पछिल्लो समय नसर्ने रोगको बिगबिगी छ । त्यसमा पनि क्यान्सरका बिरामी अस्वाभाविक रूपमा बढ्दै छन् । बदलिँदो जीवनशैली, खानपान, वातावरण प्रदूषण, खाद्यान्नमा विषदीको प्रयोग, हानिकारक विकिरणलगायत कारणले मानिस क्यान्सरजस्ता असाध्य रोगको सिकार बनिरहेका छन् । क्यान्सरबाट बच्न जीवनशैली व्यवस्थापनसँगै सुरुवाती अवस्थामै उपचार गराउनुको विकल्प छैन ।
स्तनमा गाँठो पलाएमा, यौनसम्पर्कपछि रक्तस्राव भएमा खोक्दा रगत आएमा, बान्ता गर्दा रगत आएमा, शरीरमा गाँठागुठी पलाएमा, दिसा पिसाबमा रगत आएमा, शरीरको तौल घट्दै गएमा क्यान्सरको शंका गर्नुपर्ने डा. सापकोटा बताउँछन् । उल्लेखित लक्षणहरू देखिएमा तुरुन्त विशेषज्ञ चिकित्सकबाट स्वास्थ्यजाँच गराउनुपर्ने सुझाब उनको छ ।