अन्नपूर्ण संरक्षण क्षेत्रमा आपत्कालीन केन्द्र राख्ने तयारी, मनाङ र मुस्ताङमा डिजिटल हेल्थकेयर सेन्टर

प्रकाश ढकाल
प्रकाशित
२०७६ साउन ६ गते १०:४८

गण्डकी प्रदेश सरकारले कोरियन कम्पनीसँग मिलेर अन्नपूर्ण संरक्षण क्षेत्र (एक्याप)मा शीघ्र आपत्कालीन केन्द्र निर्माण गर्ने भएको छ । कास्कीको अन्नपूर्ण गाउँपालिकास्थित छोम्रोङआसपासमा आपत्कालीन केन्द्र बनाउने निर्णय गरिएको हो ।

यस्तै, मनाङ र मुस्ताङमा डिजिटल हेल्ट केयर सेन्टर निर्माण गरिने भएको छ । पर्यटकको स्वास्थ्यमा पर्ने समस्यालाई मध्यनजर गर्दै तत्काल उपचारको व्यवस्था मिलाउन आपत्कालीन स्वास्थ्यकेन्द्र बनाउन लागिएको सरकारका प्रवक्ता रामशरण बस्नेतले जानकारी दिए । यसका लागि कोरियाको केटी कर्पोरेसन अम हामेजिल ह्युमन फाउन्डेसनले सहयोग गर्नेछ ।

फाउन्डेसनले म्याग्दीको तातोपानीमा ड्रोन एजुकेसन ल्याब निर्माण गर्दै छ । यसमा ५ करोड रूपैयाँ लगानी हुनेछ । सबै रकम फाउन्डेसनले नै लगानी गर्नेछ । आपत्कालीन केन्द्र र ल्याब स्थापनाका लागि प्रदेश सरकारले केन्द्र सरकारसँग स्वीकृति मागेको छ ।

समयमा उपचार नपाउँदा धेरै पर्यटकले ज्यान गुमाउनुपरेको अवस्था छ । विशेषगरी, उचाइका कारण हुने स्वास्थ्य समस्या समाधानका लागि आपत्कालीन केन्द्रले सघाउ पुग्नेछ । आपत्कालीन केन्द्रबाट तत्काल उद्धार गर्ने र प्राथमिक उपचारपछि थप उपचारका लागि रेफर गर्ने सरकारले जनाएको छ । केन्द्र सरकारबाट स्वीकृति पाउनेबित्तिकै काम सुरु हुने बस्नेतले बताए । गण्डकी सरकारले मन्त्रिपरिषद् बैठकबाटै आपत्कालीन केन्द्र निर्माणको निर्णय गरेको हो ।

३० हजार विद्यार्थीको ३ वर्षभित्र मुटु र न्युरोको निःशुल्क जाँच
यस्तै, प्रदेशभित्रका ३० हजार विद्यार्थीको ३ वर्षभित्र मुटु र न्युरोको निःशुल्क जाँच गरिने भएको छ । यसको जिम्मा काठमाडौंको न्युरो फाउन्डेसन अफ नेपाललाई दिने निर्णय मन्त्रिपरिषद्ले गरेको हो । फाउन्डेसनले चीनको सहयोगमा न्युरो जाँच गर्नका लागि प्रदेश सरकारसँग स्वीकृति मागेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय