चितवनमा ६०% आयोजनाका पानीमा कोलिफर्म, ३ वर्ष लगाएर २१ आयोजनाको पानी परीक्षण

वसन्त ढुंगाना
प्रकाशित
२०७६ साउन ५ गते १२:२०

चितवनमा अधिकांश खानेपानी आयोजनाबाट वितरण हुने पानीमा दिसामा हुने कीटाणु कोलिफर्म भेटिएको छ । स्वास्थ्य कार्यालय चितवनले गरेको खानेपानी आयोजनाको अनुगमनका क्रममा ६० प्रतिशत खानेपानी आयोजनाको पानीमा कोलिफर्म भेटिएको हो ।

‘हामीले ३ वर्ष लगाएर २१ वटा खानेपानी आयोजनाको पानी परीक्षण गरेका थियौँ । त्यसमा १२ वटा खानेपानी आयोजनामा कोलिफर्म भेटियो,’ स्वास्थ्य कार्यालय चितवनका सूचना अधिकारी अनुप अधिकारीले भने, ‘खानेपानीमा दिसामा पाइने इकोलाई भन्ने कीटाणुको मात्र शून्य हुनुपर्छ । तर, चितवनका खानेपानी आयोजनाको मूल तथा धाराहरूमा कोलिफर्म भेटिएको छ ।’

यस वर्षको अनुगमनमा छरछरे खानेपानी योजना माडी, कल्याणपुर खानेपानी योजना कल्याणपुर, कुसुमखोला खानेपानी योजना चैनपुर, ठूलो खोल्चा खानेपानी योजना खैरहनी, पटिहानी खानेपानी योजना पटिहानीको पानीमा कोलिफर्म भेटिएको अधिकृत अधिकारीले जानकारी दिए । उनका अनुसार अधिकांश खानेपानी योजनाको स्रोतमै कोलिफर्म भेटिएको छ । अनुगमनमा पर्सा खानेपानी, पिप्ले खानेपानी र मेघौली खानेपानीमा भने शुद्धता पाइएको स्वास्थ्य कार्यालयले जनाएको छ ।

खुला दिसामुक्त घोषणा भएका क्षेत्रमा कोलिफर्म नभेटिएको उनले बताए । ‘स्रोतमा, ट्यांकीमा र उपभोक्ताको धारामा कोलिफर्म भेटियो,’ उनले भने, ‘यसपटक सचेत गराइएको छ, स्थानीय तहलाई सुधार गर्न भनिएको छ ।’ उनले कोलिफर्म भेटिएको खानेपानी योजनाहरूमा पानीको शुद्धीकरणसमेत नगरेको पाइएको बताए ।

खोलाको पानी, पिउन प्रयोग गरिएको ठाउँको पानी तथा ढल र खानेपानीको पाइप एकै ठाउँबाट बिछ्याइएकाले पानी अशुद्ध हुने गरेको अधिकारीले बताए । ‘मान्छेको दिसामा मात्र नभई जनावरको दिसामा पनि कोलिफर्म हुन्छ,’ अधिकारीले भने, ‘चितवनको पानीमा कोलिफर्मको खानै नहुने भयावह अवस्था भने छैन ।’

बोरिङको पानी सबैभन्दा शुद्ध
स्रोतको खानेपानी, ट्यांकीमा जम्मा गरेको पानी, उपभोक्ताको धाराको खानेपानी परीक्षण गरिएकोमा बोरिङको खानेपानी सबैभन्दा शुद्ध भेटिएको उनले बताए । अनुगमनका क्रममा भरतपुर, पिप्ले, भण्डारा, पिठुवा, गुन्जनगर, शुक्रनगर र मेघौली खानेपानी आयोजनामा शुद्ध पानी भेटिएको उनले बताए ।

आधाभन्दा बढी क्षेत्र खानेपानी आयोजनाविहीन, ६०% आयोजनाका पानी दूषित
चितवनका आधाभन्दा बढी क्षेत्रमा खानेपानी आयोजना पुग्न सकेका छैनन् । खानेपानी योजना पुगेका क्षेत्रमा पनि ६० प्रतिशतले अशुद्ध पानी पिइरहेका छन् । अशुद्ध खानेपानीका कारण झाडापखलाजस्ता रोगको महामारी फैलिन सक्ने स्वास्थ्य कार्यालय चितवनले जानकारी दिएको छ ।

अनुगमनका क्रममा अशुद्ध पानी भेटिएका क्षेत्रमा पानी निर्मलीकरण गरेर मात्र खान सबै उपभोक्तालाई आग्रह गरिएको छ । खानेपानी आयोजना प्रदेश सरकारको अधिकार क्षेत्रमा पर्छ । चितवनमा पछिल्लो समय खानेपानीमा देखिएका समस्या समाधानमा सम्बन्धित पक्षले वेलैमा सोच्नुपर्ने कार्यालयले बताएको छ ।

यी हुन् दूषित पानी भेटिएका चितवनका खानेपानी आयोजना
– छरछरे खानेपानी योजना, माडी
– कल्याणपुर खानेपानी योजना
– कुसुमखोला खानेपानी योजना, चैनपुर
– पटिहानी खानेपानी योजना, पटिहानी
– ठूलो खोल्चा खैरहनी योजना, खैरहनी
– मुग्लिन खानेपानी योजना
– कुरिनटार खानेपानी योजना
– तल्लो जीवनपुर योजना, माडी
– अमृत खानेपानी योजना
– कालिका खानेपानी योजना, प्रेमबस्ती
– जुटपानी खानेपानी योजना
– वीरेन्द्रनगर खानेपानी योजना
– भण्डारा खानेपानी योजना (धमिलो, अशुद्ध)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय