खुल्ने भयो सातै प्रदेशमा बाल अस्पताल, डा. भगवान कोइरालाको अगुवाइ, प्रितम आचार्य गुडविल एम्बेसडर

काठमाडौंसहित देशका सातै प्रदेशमा बाल अस्पताल खोल्ने महत्त्वाकांक्षी योजनाको घोषणा भएको छ । वरिष्ठ मुटुरोग विशेषज्ञ डा. भगवान कोइरालाको अध्यक्षता र अगुवाइमा काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थ (किओच)मार्फत बाल स्वास्थ्यको क्षेत्रमा महत्त्वपूर्ण योजनाको घोषणा भएको हो ।

गैरनाफामूलक संस्था र व्यक्तिसँगको सहकार्यमा काठमाडौंमा १०० बेड र प्रदेशमा कम्तीमा ५० बेडका स्याटलाइट अस्पताल स्थापना गर्ने डा. कोइरालाले जानकारी दिए । सामाजिक क्षेत्रको यो विशेषज्ञ अभियानको गुडविल एम्बेसडर सारेगम लिटिल च्याम्प रियालिटी सोका उपविजेता प्रितम आचार्यलाई घोषणा गरिएको छ ।

देशभर बाल अस्पताल बनाउने महत्त्वपूर्ण योजना पूरा गर्न प्रतिभाशाली बालकलाई नै गुडविल एम्बेसडर छानेको कोइरालाले बताए । राजधानीमा शनिबार आयोजित भव्य कार्यक्रममा डा. कोइरालाले ३५ वर्षको चिकित्सा सेवा, २५ वर्षको शल्यचिकित्सा र २० वर्षको व्यवस्थापन अनुभव, सम्बन्ध र विश्वासलाई एकीकृत गरी बाल स्वास्थ्यको क्षेत्रमा महत्त्वपूर्ण योजना अगाडि सारेको सुनाए ।

सरकारी तहमा काठमाडौंमा एउटा कान्ति बहुविशेषज्ञ बाल अस्पतालका रूपमा सञ्चालित छ ।
कोइराला अध्यक्ष रहेको संस्थामा सामाजिक र सार्वजनिक क्षेत्रका प्रतिष्ठित अगुवाहरू सदस्य छन् । किओचका सदस्यहरूमा दीपकराज सापकोटा, गोविन्दप्रसाद अधिकारी, वीरेन्द्रबहादुर बस्नेत, डा. ज्योतीन्द्र शर्मा, भुवन दाहाल र भवानी राणा छन् ।

डा. कोइरालाले करिब २ अर्ब लाग्ने योजना कार्यान्वयनका क्रममा सुरुमा काठमाडौंमा २ वर्षभित्र सय बेडको अस्पताल बनाउने बताए । त्यसका लागि सरकारले जग्गा दिने करिब तय भइसकेको छ । दोस्रो चरणमा प्रदेश सरकारसँग पनि समन्वय गरेर सातवटा अस्पताल बनाइनेछ ।
डा. कोइरालाले सरकारले एउटै विषयमा ७ वटा अस्पताल बनाउने प्राथमिकता दिन नसक्ने र निजी क्षेत्रबाट खोल्दा उपचारमा सबैको पहुँच नहुने अवस्थामा दिगो र सबै वर्गको पहुँचका लागि गैरनाफामूलक संस्थाको मोडल रोजेको समेत जानकारी दिए ।

बालस्वास्थ्यका क्षेत्रमा जनस्वास्थ्य र समुदायमा आधारित कार्यक्रमहरू प्रभावकारी भइरहेको अवस्थामा क्लिनिकल स्वास्थ्यमा धेरै काम बाँकी रहेको डा. कोइरालाको ठहर छ । उनले आफूले मुटु सर्जनका रूपमा धेरै बालबालिकाको मुटुको उपचार गरे पनि मुटु मात्रै ठिक गरेर नपुग्ने सुनाए । ‘मुटुमा निःशुल्क शल्यक्रिया पनि सुरु भयो, तर मुटु मात्रै ठिक गरेर बालस्वास्थ्यका धेरै कुरा बनेनन्,’ उनले भने, ‘बालस्वास्थ्यमा अत्याधुनिक र सुविधासम्पन्न सेन्टर बनाउने मेरो सपनाको आधार त्यही हो ।’

उनले सातै प्रदेशमा सेवाविस्तारका लागि पूर्वाधार, उपकरणसँगै विशेष जनशक्ति र दिगो मोडलहरू आवश्यक पर्ने भन्दै त्यसका लागि बृहत् गृहकार्य भइरहेको जानकारी दिए । डा. कोइरालाले सरकारी सेवाबाट अवकाश पाएपछिको आफूले अधिकांश समय यही योजनामा खर्चिने योजना बनाएको समेत बताए ।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय