बाढी प्रभावित रौतहटको बन्जरहामा डा. केसीको शिविर
चिकित्सा शिक्षा सुधार अभियान र विपत क्षेत्रमा निःशुल्क स्वास्थ्य सेवा पु-याएमा रमाउने बरिष्ठ हाडजोर्नी विशेषज्ञ डा. गोविन्द केसी तीन दिनदेखि बाढी प्रभावित बन्जरहामा स्वास्थ्य शिविर चलाएका छन् ।
शुक्रबार रौतहट पुगेका डा. केसीले बकैया नदीले डुबान पारेको सो क्षेत्रमा शिविर सञ्चालन गर्न डा. विहीबार राति रौतहट पुगेका थिए । उपचार खटिएका डा. केसीले औषधि, विभिन्न खाद्यन्न र अन्य दैनिक उपभोगका सामग्रीसमेत वितरण गरेका थिए । शुक्रबारमात्रै डेढ सयलाई जाँच गरेका डा. केसीले शनिबार विहानैदेखि राति अबेरसम्म शिविर जारी राख्ने बताएका छन् । ‘भरेसम्म ४ सय जनालाई हेर्न भ्याउछु होला,’ उनले भने ।
स्थानीय स्वास्थ्य संस्थामा सञ्चालित शिविरमा दीर्घरोगका विरामीसँगै झाडापखाला, छालासम्बन्धी रोग र रुघाखोकीका विरामी बढी आइरहेको डा. केसीले टेलिफोनमा बताए । ‘यो ठाउँमा आउन पुलपनि रहेनछ, टापुजस्तो ठाउँ डुबानले नराम्रोगरी प्रभावित भएको छ,’ उनले भने, ‘पूरै गाउँको चारैतिरबाट बाढीले घेरिएर निकाश नै बन्द भएको रहेछ, मेरो आवश्यकता यस्तै ठाउँमा हुन्छ भनेरै यहाँ आएको हुँ ।’
यसअघि डा. केसी नेपालमा गत चैतमा विनाशकारी हावाहुरीबाट प्रभावित बारा र पर्साको गाउँमा उपचार एवं राहत वितरण गर्न पुगेका थिए ।
उनले कलैया अस्पताल, पुरानीय र आसपासका ठाउँ शिविर चलाएका थिए । तराई मधेशबाट फर्किएपछि उनी अफ्रिकाको मोजाम्बिक पुगेर एक महिनासम्म साइक्लोन प्रभावित क्षेत्रमा सेवा गरेर फर्किएका थिए ।
लिंक