जग्गा खोज्दैमा बित्यो प्रस्तावित रक्तसञ्चार केन्द्रको एक दशक

वसन्त ढुंगाना
प्रकाशित
२०७६ साउन ४ गते १२:५८

नेपाल रेडक्रस सोसाइटी चितवनका सभापति ज्ञानशाली न्यौपानेका दिन रक्तसञ्चार केन्द्र निर्माणका लागि जग्गा खोज्दैमा बित्छन् । आफू सहभागी भएका अधिकांश कार्यक्रममा न्यौपानेले सम्बन्धित निकायलाई जग्गा उपलब्ध गराइदिन अनुरोध गर्दै आएका छन् ।

‘अन्तर्राष्ट्रियस्तरको रक्तसञ्चार केन्द्र (ब्लड बैंक), र रक्त अनुसन्धान केन्द्र बनाउनका लागि हामीलाई करिब एक बिघा जग्गा आवश्यक छ,’ रेडक्रसले विश्व रक्तदाता दिवसको अवसर पारेर भरतपुरमा गरेको एक कार्यक्रममा न्यौपानेले जनप्रतिनिधिलाई सुनाउँदै भने, ‘भरतपुर मेडिकल सिटीका रुपमा चिनिँदै आए पनि सुविधासम्पन्न रक्तसञ्चार केन्द्र बनाउने योजना अलपत्र बन्दै आएको छ ।’

१० वर्षअघिदेखि चितवनमा केन्द्रीयस्तरको रक्तसञ्चार केन्द्र बनाउन जग्गा खोजी गरिएको थियो । तर, जग्गा नहुँदा विदेशी निकायबाट आउने भनिएको २५ करोड रकमसमेत कटौती भयो ।

१० वर्षअघिदेखि चितवनमा केन्द्रीयस्तरको रक्तसञ्चार केन्द्र बनाउन जग्गा खोजी गरिएको थियो । तर, जग्गा नहुँदा विदेशी निकायबाट आउने भनिएको २५ करोड रकमसमेत कटौती भयो । धेरै रगत स्टोर गर्न मिल्ने, अन्य जिल्लामा समेत रगत पठाउन सक्ने क्षमताको रक्तसञ्चार निर्माण गर्नका लागि कोरियाको कोइकाले १० वर्षपहिले २५ करोड रुपैयाँ सहयोग गर्ने प्रतिबद्धता जनाए पनि रगत अभावका कारण अलपत्र परेको न्यौपानेले बताए ।

‘कोरियाको कोइकाले करिब १० वर्षपहिले जग्गा भएमा भवन बनाइदिने प्रतिबद्धता गरेको थियो,’ उनले भने, ‘जग्गा नहुँदा दाता निराश छन् ।’ कोइकाले रेडक्रस चितवनलाई २५ करोडबराबरको उपकरण तथा मेसिन सहयोग गर्ने प्रतिबद्धता जग्गा नहुँदा गुमेको थियो । यसपालि एनआरएनएका प्रतिनिधिले भवन तथा उपकरणमा सहयोग गर्न तयार रहेको बताउँदै आएका छन् ।

देशको केन्द्र विन्दुमा रहेको चितवनमा अहिले पनि रक्तसञ्चार केन्द्र बनाउन विभिन्न दातृनिकायबाट सहयोगको प्रतिबद्धता आएका छन् । तर, जग्गा प्राप्त हुन सकेको छैन । जग्गाका लागि नेपाल रेडक्रस सोसाइटी चितवन शाखाले जग्गा उपलब्ध गराउन महानगरको ध्यानाकर्षण गराउँदै आएको छ । सर्वदलीय सहमतिपछि मन्त्रिपरिषद्सम्म पुगेको वर्षौं भए पनि स्वीकृत हुन सकेको छैन । अहिलेको रकम पनि गुम्ने हो कि भन्ने चिन्तामा न्यौपाने छन् ।

भरतपुर अस्पतालको पूर्वतर्फको आँखा अस्पतालनजिकैको करिब ७ कठ्ठा जग्गा रक्तसञ्चार केन्द्र बनाउन मागिएको थियो । केन्द्रीय तहसम्म सिफारिस भए पनि योजना अलपत्र बनेको छ । भरतपुर अस्पतालको करिब २ कठ्ठा जग्गामा २०४३ सालमा स्थापना भएको क्षेत्रीय रक्तसञ्चार केन्द्रले बिरामीलाई पर्याप्त रगत उपलब्ध गराउन सकेको छैन । रक्तअल्पता, शल्यक्रिया गर्नुपर्ने बिरामी तथा सुत्केरी महिला वेलैमा रगत पाउन नसक्दा निकै जोखिममा पर्दै आएका छन् ।

हालको केन्द्रको रगत भण्डारण क्षमता कमजोर भएपछि केन्द्रीयस्तरको रक्तसञ्चार केन्द्र बनाउन पहल थालिएको थियो । सुविधासम्पन्न रक्तसञ्चार केन्द्र बनाउने योजना जग्गा नहँुदा अलपत्र बनेको उनले बताए । ‘अस्पतालआसपासमै जग्गाको खोजी भइरहेको छ । तर, जग्गा उपलब्ध गराउने दाता भेट्न मुस्किल परेको छ,’ उनले भने, ‘मेडिकल सिटीका रुपमा चिनिए पनि ठूलो क्षमताको रक्तसञ्चार केन्द्र बन्न नसक्नु लज्जास्पद कुरा हो ।’

उनले रेडक्रसले स्थानीय सरकारको ध्यानाकर्षण गराउँदै आए पनि हालसम्म प्रगति हुन नसकेको दुखेसो गरे । सकेसम्म भरतपुरभित्रै केन्द्र बनाउने र नभए रत्ननगर नगरपालिकामा निर्माण गर्ने उनले बताए । ‘भरतपुरमा जग्गा प्राप्त गर्न मुस्किल देखिएको छ । यहाँ नभए रत्ननगर नगरपालिकाले दिने भएको छ,’ न्यौपानेले भने, ‘मेयरसँग छलफल भएको छ, टिकौलीसँग जोडिएको जग्गामा बनाउँछौँ ।’

रक्तसञ्चार केन्द्र विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)को मापदण्डअनुसारको बनाउने योजना अघि सारिएको न्यौपानेले बताए । ‘प्रशस्तै सार्वजनिक जग्गा भएका खबर आउँछन्, तर बिरामीको उपचारमा अपरिहार्य रक्तसञ्चार केन्द्रलाई जग्गा छुट्याएको अवस्था छैन,’ उनले भने ।

रक्तदान गर्ने व्यक्तिलाई स्थानीय तहले प्रोत्साहन रकम दिने अभियानै चलाएका छन् । रक्तसञ्चार केन्द्रले करिब ४ सय संस्थासँग सहकार्य गरेर रगत संकलन गर्दै आएको छ ।

रेडक्रस चितवनले केन्द्रीयस्तरको रक्तसञ्चार केन्द्र बनाउने परियोजनाबारे वेलाबखत चर्चा गर्ने गरे पनि खासै काम हुन नसकेको रेडक्रस सोसाइटी चितवनका मन्त्री हरिप्रसाद पौडेलले बताए । ब्लड बैंक अस्पतालहरुको मुटु हो । रगत भएन भने अस्पतालमा ठूला शल्यक्रिया हुन सक्दैनन् । त्यसकारण मेडिकल सिटीका रुपमा विकास भएको भरतपुरमा अन्तर्राष्ट्रियस्तरको ब्लड बैंक अत्यावश्यक रहेको पौडेलले बताए ।
‘जिल्लामा दुई ठूला मेडिकल कलेज, क्यान्सर अस्पताल, भरतपुर अस्पताल र २० भन्दा बढी निजी अस्पताल छन् । ती अस्पतालबाट दैनिक शल्यक्रियाका लागि रगतको माग हुन्छ । तर, अस्पतालहरुले रक्तसञ्चार केन्द्र निर्माणमा ध्यान दिएका छैनन्,’ उनले भने, ‘क’ श्रेणीको रक्तसञ्चार केन्द्र बनाउने योजना सफल पार्न स्थानीय सरकारले सहयोग गर्नुपर्छ ।’

क्षेत्रीय रक्तसञ्चार केन्द्र भरतपुरबाट वार्षिक ४० हजार युनिट रगत खपत हुँदै आएको भरतपुर रक्तसञ्चार केन्द्रका कार्यालय प्रमुख रमेशकान्त पौडेलले बताए । तर, त्यसले माग थेग्न सकेको छैन । भरतपुरमा वार्षिक ६० हजार युनिट रगतको माग हुने गरेको छ । डब्लुएचओको मापदण्डअनुसार ‘क’ श्रेणीको रक्तसञ्चार केन्द्र बनाउन ५० हजार युनिट संकलन क्षमता हुनुपर्छ ।

हाल रक्तसञ्चार केन्द्रको बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताल र चितवन मेडिकल कलेज भरतपुरमा रक्तसञ्चार युनिट सञ्चालनमा छन् । रक्तदान गर्ने व्यक्तिलाई स्थानीय तहले प्रोत्साहन रकम दिने अभियानै चलाएका छन् । रक्तसञ्चार केन्द्रले करिब ४ सय संस्थासँग सहकार्य गरेर रगत संकलन गर्दै आएको छ । बिरामीका आफन्त तथा स्वयंसेवी रक्तदाताले केन्द्रमा पुगेर रक्तदान गरेर रगतको माग धान्नुपर्ने अवस्था छ ।

संकलन गरेर राखिएको रगतभन्दा ताजाको माग भएपछि केन्द्रलाई रगत दिन समस्या पर्ने गरेको छ । पौडेलका अनुसार ताजा सेतो रगतको अभाव छ । रगत नपाएर बिरामी मर्ने अवस्था नभए पनि जुनसुकै समयमा समस्या आउन सक्ने पौडेलको भनाइ छ । चितवनमा मात्रै नभएर अहिले देशैभर रगतको अभाव देखिएको उनले जानकारी दिए । केन्द्रले चितवन, धादिङ, नवलपुर, परासी, बारा, पर्सा, तनहुँ, लमजुङ, गोर्खालगायत जिल्लाबाट रगत संकलन गर्दै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय