पोखरामा भयावह बन्दै लागुपदार्थ दुर्व्यसन, ४ वर्षमा साढे २ गुणा वृद्धि, नियमित प्रयोगकर्ता १० हजार

जिल्ला प्रहरी कार्यालय कास्कीको तथ्यांक हेर्दा सबैभन्दा धेरै मुद्दा लागुऔषधसम्बन्धी छन् । गत आर्थिक वर्ष (१ साउनदेखि असारमसान्तसम्म)मा जम्मा ५ सय २४ वटा मुद्दा दर्ता भएकामा लागुऔषधसम्बन्धी मात्रै १ सय ७० वटा मुद्दा छन् । एक आर्थिक वर्षमै यति ठूलो संख्यामा लागुऔषधसम्बन्धी प्रशासनको नजरमा आएका घटना हुनु र कुुल मुद्दाको एकतिहाइ लागुऔषधले ओगट्नुले पोखरामा लागुऔषध दुर्व्यसनको अवस्था भयावह रहेको स्पष्ट देखिन्छ ।

गत आर्थिक वर्षमा लागुऔषधसम्बन्धी मुद्दामा २ सय ५९ जना पक्राउ परेको कास्की प्रहरी कार्यालयको तत्थ्यांकले देखाउँछ । कास्की प्रहरी प्रमुख एसपी दानबहादुर कार्कीका अनुसार जिल्लामा परेका उजुरी र कारागारमा कैद भुक्तान गरेकाहरूलाई समेत हेर्दा अहिलेसम्मकै सबैभन्दा बढी अपराध लागुऔषध केन्द्रित छ ।

४ वर्षमा झन्डै साढे दुई गुणाले बढोत्तरी
कास्कीमा बर्सेनि लागुऔषधसम्बन्धी मुद्दाको दर बढ्दो छ । आर्थिक वर्ष ०७२÷७३ मा ७३ वटा मुद्दा लागुऔषधसम्बन्धी थिए भने ०७३÷७४ मा ७५ पुगे । ०७४÷७५ मा लागुऔषधका मुद्दा बढेर १ सय ४० पुगेकोमा गत आर्थिक वर्षमा १ सय ७० वटा पुगेका हुन् । यसरी हेर्दा ४ वर्षको अवधिमा लागुऔषधसम्बन्धी मुद्दा अस्वाभाविक रूपमा झन्डै साढे २ गुना बढेको देखिन्छ । लागुऔषधका मुद्दासँगै कारोबारी र प्रयोगकर्ता पनि वर्षेनि सोही अनुपातमा बढिरहेका छन्, जसले भयावह स्थितिलाई उजागर गर्छन् ।

पोखरामा हाल १० हजारको हाराहारीमा लागुऔषध प्रयोगकर्ता रहेको टेकबहादुर लागुऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय पोखराका इन्स्पेक्टर टेकबहादुर रावतले जानकारी दिए । ०६७ मा गरिएको एक अध्ययनले ७ हजार प्रयोगकर्ता रहेको देखाएको थियो ।

बरामदको परिमाण पनि उच्च
एक वर्षमा कास्कीका विभिन्न ठाउँबाट बुप्रिनर्फिन, डाइजापाम र फेनरागनका ६ हजार १ सय २० सेट बरादम भएका छन् । प्रहरीले यसलाई निकै ठूलो तथ्यांक मानेको छ । पोखरामा सबैभन्दा धेरै सुईबाट (इन्जेक्सन) ड्रग लिने दुर्व्यसनी रहेको प्रहरीको तथ्यांक छ । त्यसपछि चक्की (ट्याबलेट) लागुऔषधको प्रयोगकर्ता छन् । यही अवधिमा कास्कीबाट ४ हजार ७ सय चक्की नाइट्रोसन बरामद भएको छ । यसबाहेक, ४१ किलो गाँजा, २६ किलो ब्राउनसुगर, ३ सय ८७ बोतल फेन्सिडाइल र ३ सय ८२ चक्की ट्रामाडोल समातिएको कास्की प्रहरीले जनाएको छ ।

पोखरामा मात्र करिब १० हजार लागुऔषध प्रयोगकर्ता, पारिवारिक तनाव वा केयरलेस दुर्व्यसनमा फस्ने पहिलो कारण
पोखरामा हाल १० हजारको हाराहारीमा लागुऔषध प्रयोगकर्ता रहेको टेकबहादुर लागुऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय पोखराका इन्स्पेक्टर टेकबहादुर रावतले जानकारी दिए । ०६७ मा गरिएको एक अध्ययनले ७ हजार प्रयोगकर्ता रहेको देखाएको थियो । रावतका अनुसार सबैभन्दा धेरै पारिवारिक तनावका कारण लागुऔषधको दुर्व्यसनीमा लाग्ने गरेका छन् । ‘दुर्व्यसनमा फस्नेमध्ये ५० प्रतिशतभन्दा बढी बाबुआमाको सम्बन्धमा खटपट भएका र आमाबाबुको माया नपाएका छन् । घरपरिवारको केयरलेस नै मुख्य कारण हो,’ रावतले भने, ‘साथीसंगति र कौतुहलले पनि लागुऔषध प्रयोगकर्ता बढेका छन् ।’

प्रहरीको तथ्यांकमा लागुऔषध प्रयोग गर्नेमध्ये सबैभन्दा धेरै २० देखि ३० वर्ष उमेरका छन्, जुन भविष्यनिर्माणका लागि सीप विकासमा खर्चनुपर्ने सबैभन्दा ऊर्जाशील समय हो । १५ देखि १९ वर्षकाहरू भने सिकारुका रूपमा तयार हुन्छन् ।

भारतबाट यसरी भित्रिन्छन् लागुऔषध
इन्जेक्सनजन्य सबै लागुऔषध भारतबाट नेपाल भित्रिन्छन् । भारतबाट वीरगन्ज र सुनौली नाका हुँदै पोखरा भित्रिने गरेको रावतको भनाइ छ । ‘धेरैजसो प्रयोगकर्ताले नै सिमानामा पुगेर लागुऔषध ल्याउने गरेका छन् । केहीचाहिँ पैसा कमाउने उद्देश्यले आफूले प्रयोग नगरे पनि ल्याएर बेच्नेहरू छन्,’ उनी भन्छन्, ‘ड्रग्सविना बाँच्न नसक्नेहरूले आफ्नै लागि ल्याउने र लुकाउन नसकेर आसेपासेलाई बेच्नेहरू पनि छन् । केहीले आफ्नै खर्च पुर्याउन नियमित विक्री–वितरण गर्छन् ।’
स्रोतका अनुसार आइएमीबाट बोर्डरनजिक पैसा पठाइन्छ र सिमानामा बस्नेहरूले पोखरासम्म लागुऔषध पठाइदिन्छन् ।

प्रयोगकर्तामध्ये अधिकांश २० देखि ३० वर्षका
प्रहरीको तथ्यांकमा लागुऔषध प्रयोग गर्नेमध्ये सबैभन्दा धेरै २० देखि ३० वर्ष उमेरका छन्, जुन भविष्यनिर्माणका लागि सीप विकासमा खर्चनुपर्ने सबैभन्दा ऊर्जाशील समय हो । १५ देखि १९ वर्षकाहरू भने सिकारुका रूपमा तयार हुन्छन् ।

आफू र परिवारको भविष्यसँगै राष्ट्रनिर्माणको प्रमुख जिम्मेवारी वहन गर्नुपर्ने युवाशक्ति जीवनको सबैभन्दा महत्वपूर्ण उमेरमा यसरी कुलतमा फस्नाले व्यक्ति र परिवार र सखाप भएको छ नै, समाज र राष्ट्रलाई समेत बोझ थपिँदै छ । परिवारको एक सदस्य लागुऔषधको दलदलमा फस्दा पूरै परिवारमा झगडा, कलह, आर्थिक अवनतिसँगै समाजमा मान–प्रतिष्ठासमेत खस्किरहेको छ भने चोरीडकैती, झगडा, अशान्तिलगायत समस्या बढ्दा सामाजिक वातावरण नै प्रदूषित बनिरहेको अवस्था छ ।

नेपाल आइपुग्दा करिब ६ गुणा बढ्छ मूल्य
प्रयोगकर्ताले लागुऔषधलाई कडा बनाउन फेनरागन, डाइजापाम र बुप्रिनर्फिनको कम्बिनेसन (संयोजन) मिलाएर प्रयोग गर्छन् । भारतमा ३ सय रुपैयाँका दरले खरिद गरेर ल्याइएका लागुऔषध पोखरा आइपुग्दा १ हजार ८ सय रुपैयाँसम्ममा विक्री हुन्छन् । ‘कोकिन, अफिमजस्ता लागुऔषधको प्रयोग पोखरामा भएको पाइँदैन । ब्राउनसुगर केही मात्रामा प्रयोग हुन्छ, जुन विदेशीले विरलै प्रयोग गर्छन् । लेकसाइड क्षेत्रमा गाँजा र चरेस बढी बेचिन्छन्, जसको प्रयोग विदेशीले बढी गर्छन्,’ इन्स्पेक्टर रावतले भने, ‘बाहिरका मान्छेलाई भन्दा नियमित प्रयोगकर्तालाई केन्द्रित गरेर भारतबाट ड्रग्स भित्रिन्छन् ।’

कडा बनाउन यी तीनथरी प्रतिबन्धित औषधि मिलाएर प्रयोग
केही वर्षअघिसम्म बुप्रिनर्फिन मात्रै सुईबाट लिने प्रयोगकर्ताले अहिले फेनरागन र डाइजापामसमेत मिसाएर प्रयोग गर्छन् । ‘पहिले एउटा मात्रै चलाउँथे, अहिले स्ट्रोङ बनाउन तीनवटाको कम्बिनेसन मिलाएर चलाउन थाले,’ गुरुङ भन्छन्, ‘यो अवस्था निकै डरलाग्दो हो । वेलैमा विशेष कार्यक्रम ल्याउनुपर्छ । नत्र बर्सेनि यसको दर बढ्दै जान्छ र पूरै सहर नै सिथिल बन्न सक्छ ।’

फेनरागन एन्टी एलर्जीको औषधि हो । डाइजापाम निद्रा लाग्ने औषधि हो भने र बुप्रिनर्फिन दुखाइ कम गराउनका लागि प्रयोग हुन्छन् । तर, यी तीनवटै औषधि विक्री–वितरण र प्रयोगमा पूर्णतः निषेध गरिएको छ ।

चेतनावृद्धिसँगै सुईबाटा लागुऔषध लिनेमा आएआइभी संक्रमण भने घट्दो
सुईबाट लागुऔषध प्रयोग गर्नेमध्ये करिब ५ प्रतिशतलाई एचआइभी संक्रमण हुन्छ । पहिले यो दर २२ प्रतिशतसम्म थियो । अहिले भने प्रयोगकर्तामा सचेतना बढेका कारण एचआइभीको संक्रमण घटेको गुरुङको अनुभव छ । ‘एउटै सुई धेरैले प्रयोग गर्थे । यसबाट रोग सर्ने प्रबल सम्भावना थियो,’ उनले भने, ‘अहिले एक्लै प्रयोग गर्नेहरू छन् । त्यसमाथि कलेज पढ्दै गरेका र स्कुल छोडेकाहरू धेरै भए । उनीहरूमा रोगबाट बच्नुपर्छ भन्ने सचेतना बढेको छ ।’

दुर्व्यसनमा फसेकालाई क्षेत्रीय अस्पतालले पनि नियमित रूपमा मेथाडिन औषधि खुवाउँछ । १ सय २ जना अहिले पनि नियमित उपचारमा छन् । ती सेन्टरहरूमा ५ सयको हाराहारीमा प्रयोगकर्ता छन् ।

कुलतमा फस्नेमा कि धेरै धनी कि गरिबको बाहुल्य
कास्कीका प्रहरी प्रमुख एसपी दानबहादुर कार्की तीव्र सहरीकरण भएका ठाउँमा लागुऔषध कारोबारी सक्रिय रहेको बताउँछन् । ‘लागुऔषध प्रयोगकर्तालाई हेर्दा कि धेरै धनीका छोराछोरी छन्, कि भने गरिबका छोराछोरी छन् । यसबाट बाबुआमाको केयरलेस कुलतमा फस्ने प्रमुख कारण हो भन्ने बुझिन्छ,’ उनले भने, ‘यसलाई रोक्न सप्लाई कन्ट्रोल र डिमान्ड रिडक्सन (पूर्तिमा नियन्त्रण र मागमा दुरुत्साहन) कार्यक्रम प्रहरीले चलाइरहेको छ ।’

साना बाबुनानी र उनीहरूका अभिभावकलाई लागुऔषधको भयावह अवस्थाबारे जानकारी गराउने र बेफाइदाबारे सचेत गराउने गरिएको कार्की बताउँछन् । जनचेतनापछि लागुऔषधका डिलरहरू भत्काउने, प्रयोगकर्ताको लिंक टुटाउने र चेकजाँचमा कडाइ गर्ने कार्याक्रम चलाइरहेको उनको दाबी छ ।

१३ वटा पुनःस्थापना केन्द्र सञ्चालनमा
दुर्व्यसनमा फसेकाहरूको लत छुटाउन पोखरामा १३ वटा पुनःस्थापना केन्द्र (रिह्याबिलिटेसन सेन्टर–रिहाब) सञ्चालनमा छन् । २ वटा महिलाका लागि र ११ वटा पुरुषका लागि रिहाब सेन्टर स्थापना भएको लागुऔषधको क्षेत्रमा काम गर्दै आएको कम्युनिटी सपोर्ट ग्रुपका कार्यकारी निर्देशक दिलीप गुरुङले जानकारी दिए ।

दुर्व्यसनमा फसेकालाई क्षेत्रीय अस्पतालले पनि नियमित रूपमा मेथाडिन औषधि खुवाउँछ । १ सय २ जना अहिले पनि नियमित उपचारमा छन् । ती सेन्टरहरूमा ५ सयको हाराहारीमा प्रयोगकर्ता छन् । उनका अनुसार पोखरामा लागुऔषध प्रयोगको अवस्था दिनहुँ जटिल बन्दै गएको छ । गुरुङ भने साथीभाइको दबाबका कारण प्रयोगकर्ता बढेको तर्क गर्छन् । ‘कुलतमा लाग्ने कारण साथीहरूको प्रेसर हो । टिनएजमा लागेपछि उद्दण्ड बन्न रुचाउनेहरू पनि छन् । घरमा राम्रो वातावरण नभएपछि यतातिर लाग्छन्,’ उनले भने, ‘रेखदेख गर्ने मान्छे घरमा छैनन् । चाडपर्व र मेलाउत्सवले पनि कुलतमा लाग्न प्रश्रय थपेको छ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय