प्यारासिटामोलको अधिक सेवनले कलेजो ड्यामेज हुने खतरा, कति मात्रा सुरक्षित छ ?

हेल्थपोस्ट
प्रकाशित
२०७६ साउन २ गते १४:१४

ज्वरो वा दुखाइमा प्यारासिटामोलको सेवन गर्नुहुन्छ भने सावधान ! प्यारासिटामोलको ओभर डोजका कारण तपाईंको कलेजो (लिभर) खराब हुन सक्छ । जान्नुहोस्, कति मात्रामा प्यारासिटामोल सुरक्षित छ ।

ज्वरो वा दुखाइबाट राहत दिलाउनका लागि प्यारासिटामोल एउटा अब्बल औषधि हो । तपाईं वा तपाईंको नजिकमा यस्ता धेरै व्यक्ति हुन सक्छन्, जो ज्वरो वा दुखाइमा चिकित्सकको सल्लाहविनै प्यारासिटामोल लिएर खान्छन् । तर, के तपाईंलाई थाहा छ, प्यारासिटामोलको ज्यादा प्रयोगले तपाईंको कलेजोलाई गम्भीर हानि पुर्याउन सक्छ ? हो, प्यारासिटामोलको अधिक सेवानले सेवनकर्ताको कलेजोलाई हानि पुर्याइरहेको हुन्छ र कलेजो ड्यामेजको कारणसमेत बन्न सक्छ ।

हेल्थ प्रडक्टको सुरक्षासित जोडिएको फ्रेन्च एजेन्सी एएनएसएमले हालसालै घोषणा गरेको छ कि– प्यारासिटामोलयुक्त सम्पूर्ण औषधिमा ‘ओभरडोज डेन्जर’ मेसेज अवश्य लेख्नुपर्छ । नेपालमा पनि प्यारासिटामोलको प्रयोग आम रुपमा गरिँदै आएको छ । सामान्य दुखाइ तथा प्रारम्भिक ज्वरोमा अत्यधिक मात्रामा प्रयोग गरिँदै आएको प्यारासिटामोललाई साइडइफेक्ट नगर्ने तथा चिकित्सकको प्रेस्क्रिप्सनको समेत आवश्यकता नपर्ने औषधिका रुपमा बुझिँदै आएको छ, जुन सत्य होइन ।

२०० भन्दा बढी औषधिमा प्यारासिटामोल
औषधिमा प्यारासिटामोलको प्रयोग उल्लेख्य मात्रामा हुने गरेको छ । बजारमा उपलब्ध औषधिमध्ये २ सयभन्दा बढी प्रकारका औषधिमा प्यारासिटामोलको प्रयोग गरिएको पाइन्छ । मानिसहरु चिकित्सकको सल्लाहविनै सोझै औषधि पसलबाट किनेर यी औषधिको सेवन गर्ने गर्छन् । जसलाई दुखाइ तथा ज्वरोले सधैँजसो सताउने गर्छ, त्यस्ता व्यक्ति बिस्तारै प्यारासिटामोलयुक्त औषधिको लतमा फस्दै जान्छन् । लामो समयसम्म यस्ता औषधिको सेवनले अनेकतरहका खतरा उत्पन्न हुन सक्छन् । नियमित प्रयोगमा ल्याइने प्यारासिटामोलले तपाईंको कलोजोलाई सम्पूर्ण रुपमा खराब गर्न सक्छ र तपाईंको ज्यानसमेत लिन सक्छ ।

दुखाइ र ज्वरोका निम्ति सर्वाधिक प्रयोग हुने औषधि
प्यारासिटामोल नेपालमा मात्र नभएर संसारभर नै दर्दनिवारक (एन्टिपेन) तथा ज्वरनिवारक (एन्टिफिभर) औषधिका रुपमा प्रयोग गरिन्छ । चिकित्सकहरुले पनि आफ्नो प्रेस्क्रिप्सनमा प्यारासिटामोल अत्यधिक मात्रामा दिने गरेका छन् । वयस्कसहित बच्चाहरुलाई पनि यो औषधि खुब दिने गरिएको छ । वयस्कको तुलनामा साना बच्चाका लागि प्यारासिटामोलको अधिक प्रयोग झन् बढी खतरनाक हुन्छ, किनकि, उनीहरुका शारीरिक अंगहरु राम्ररी विकसित भइसकेका हुँदैनन् ।

ओभरडोजले गम्भीर खतरा
चिकित्सकका अनुसार प्यारासिटामोलयुक्त दबाइको सेवन चिकित्सकको सल्लाहमा मात्र गर्नुपर्छ । यो औषधि सुरक्षित पनि भएको र असरकारी पनि भएको चिकित्सकको मत छ । केही हदसम्म सुरक्षित हुँदाहुँदै पनि यसको अत्यधिक प्रयोगले शरीरका केही भित्री अंगहरुमा नराम्रो प्रभाव पर्न सक्छ । मानिसहरु आजकल ज्वरो आउँदा वा दुखाइ महसुस हुँदा सोचविचार नै नगरी प्यारासिटामोलयुक्त औषधिको आफूखुसी सेवान गर्छन् । हामीलाई आश्चर्यजनक लाग्न सक्ने कुरा चिकित्सकहरु खुलासा गर्छन् कि, ड्रग्सको कारणले हुने कलेजोको खराबी र ट्रान्सप्लान्टका अधिकतर केसमा प्यारासिटामोलको अधिक प्रयोग कलेजो फेलको कारणका रुपमा पाइएको छ ।

प्यारासिटामोलको कति मात्रालाई ओभरडोज मानिन्छ ?
एएनएसएमको रिपोर्टअनुसार यदि तपाईं दैनिक ४ ग्रामभन्दा बढी प्यारासिटामोलको प्रयोग गर्नुहुन्छ भने तपाईंको कलेजो २४ देखि ४८ घण्टाभित्रै ड्यामेज हुन सक्छ । कलेजो ड्यामेज हुनु भनेको निकै खतरनाक स्थिति हो । ड्यामेजपछि अति गम्भीर स्थितिमा कलेजो प्रत्यारोपणबाहेक कुनै विकल्प रहँदैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय