नर्सलाई बाढीपहिरो प्रभावित स्थलमा उद्धार र उपचारमा तत्काल खटिन नर्सिङ संघको निर्देशन
नेपाल नर्सिङ संघले बिहीबारदेखि भएको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा पहिरो तथा डुबानमा परेका पीडित परिवारको उद्धार तथा उपचारमा तत्काल खटिन प्रभावित क्षेत्रमा कार्यरत सम्पूर्ण नर्सलाई निर्देशन दिएको छ । नेपाल नर्सिङ संघ देशभर कार्यरत नर्सहरूको छाता संगठन हो ।
सोमबार विज्ञप्ति जारी गर्दै संघले यस विषम परिस्थितिबाट पीडित परिवारको उद्धार तथा अगामी दिनमा देखापर्न सक्ने संक्रमणबाट बच्न आवश्यक कार्यमा खटिन नर्सलाई निर्देशन दिएको हो । प्रभावित क्षेत्रमा कार्यरत सम्पूर्ण नर्सलाई स्थानीय सरकारसँगको समन्वयमा उद्धार तथा उपचारात्मक क्रियाकलापमा सक्रिय रूपमा खटिन संघले भनेको छ ।
बाढी, पहिरो तथा डुबानका कारण अमूल्य जीवन तथा भौतिक सम्पत्तिको क्षति भएको प्रति संघले दुःख व्यक्त गरेको छ । संघले प्रकोपका कारण ज्यान गुमाएका परिवारजन प्रति समवेदना प्रकट गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामनासमेत गरेको छ । संघले संकटको यस घडीमा अविलम्ब उद्धार र राहत कार्यलाई प्रभावकारी रूपमा तीव्रता दिन सरकारसँग माग गरेको छ ।
५ दिनदेखिको अविरल वर्षा र त्यसले निम्त्याएको बाढी, पहिरो तथा डुबानका कारण तराईका सबैजसो जिल्ला तथा पहाडका केही जिल्ला नराम्ररी प्रभावित भएका छन् । यसक्रममा ज्यान गुमाउनेको संख्या ६७ पुगिसकेको छ भने ३२ जनाभन्दा बढी बेपत्ता छन् ।
बाढीमा बेपत्ता हुनु भनेको करिब–करिब फेला नपर्नु नै भएकाले करिब सयको हाराहारीमा ज्यानको क्षति भइसकेको छ भने सयौँ मानिस घाइते छ । बाढीले अर्बौंको जमिन तथा अन्य भौतिक सम्पत्तिको क्षति भइसकेको सरकारी अनुमान छ ।
यस्तोमा विभिन्न पेसागत तथा सामाजिक संघ–संस्थाहरू संगठित रूपमा उद्धार तथा राहतमा जुट्नेक्रम जारी छ ।