पोखराको विषादीजाँच एकाइ १ वर्षदेखि बन्द

एक वर्षअघि तरकारी र फलफूलमा विषादीको मात्रा छुट्याउने स्पेक्टोफोटोमिटरबाट गरिएको नमुना परीक्षणले दुई किसिमका तरकारी उपभोक्ताले प्रयोग गर्नै नहुने देखाएको थियो । ८ महिनाको अवधिमा तरकारी र फलफूलका ३ सय १५ नमुना परीक्षण गर्दा चितवनबाट ल्याइएको एक लटको गाँजर र भारतबाट ल्याइएको चिल्लीमा मानिसले उपयोग गर्न नहुने विषादीको मात्रा भेटिएको थियो ।

पोखरेली उपभोक्ताले विषादीरहित तरकारी तथा फलफूल उपभोग गर्न पाऊन् भनेर नै पोखराको शान्तिवनस्थित कृषि उपज बजारमा व्यावसायिक कृषि व्यापार आयोजनाले विषादी अवशेष द्रुत विश्लेषण एकाइ सञ्चालन गरेको थियो । यो मेसिनबाट आधा घण्टामै विषादी परीक्षणको नतिजा निस्किन्छ ।

तर, एक वर्षदेखि यो एकाइ चलेकै छैन । दुईजना कर्मचारीले विषादीजाँचको तालिम लिए पनि एकजना अघिल्लो वर्ष नै उमेरहदले रिटायर्ड भइसकेका छन् भने अर्का यहाँबाट सरुवा भएका छन् ।

एकाइ सञ्चालनमा नआउँदा अहिले पोखरेली उपभोक्ताको स्वास्थ्यमा प्रतिकूल असर पर्ने विषादीयुक्त तरकारी र फलफूल विक्री–वितरण भइरहेका छन् । द्रुत विश्लेषण एकाइका तत्कालीन प्राविधिक गुरूप्रसाद अर्यालका अनुसार मानव शरीरमा एसिटायल कोलिन स्टोरेज (आचे) नामक इन्जाइम उत्पादन र सञ्चालन हुन्छ । विषादी धेरै भएमा ती इन्जाइम उत्पादन र सञ्चालनमा रोकावट आउँछ र मानिसमा अनेक प्रकारका असर देखापर्छन् ।

पोखरामा तरकारी प्रतिदिन २ सय टन र फलफूल १ सय ५० टन खपत हुन्छ । पोखरामा खपत हुने तरकारीमध्ये ७० प्रतिशत भारत तथा बाहिरी जिल्लाबाट आयात गरिन्छ भने ९५ प्रतिशत फलफूल बाहिरबाट ल्याइन्छ । मानवस्वास्थ्य र वातावरणलाई प्रतिकूल असर पार्ने १ सय २७ भन्दा बढी विषादी छन् ।

तरकारी र फलफूलमा आचेको इन्हिविसन रेट ३५ प्रतिशतसम्म पाइएमा त्यो तरकारी र फलफूल खानयोग्य मानिन्छ, ३६—४५ प्रतिशतको मात्रा भेटिएमा ४ देखि ७ दिन पर्खेर खानुपर्ने हुन्छ भने ४५ प्रतिशतभन्दा माथि भेटिएमा त्यस्ता तरकारी र फलफूल उपभोग गर्नै हँुदैन । तरकारी र फलफूलमा जतिसुकै विषादीको मात्रा भए पनि विक्री रोक्ने कार्यविधि नहुँदा समस्या आएको छ ।

तरकारी र फलफूलमा कीटनाशक विषादी हाल्यो भने ४ देखि २१ दिन पर्खेर मात्रै खान योग्य हुन्छ । तर, पोखराका उत्पादकहरूले अघिल्लो दिन विषादी हालेका तरकारी र फलफूल धमाधम बजारमा पठाउँछन् । तरकारीबारीमा मात्रै होइन, बजारमा ल्याइएका फलफूल पनि विषादी हालेर गलाउने गर्छन्, व्यवसायीहरू । खासगरी आँप, केरा, कटहर, लिचीजस्ता काँचा फलफूललाई २४ घण्टाभित्रै पाक्ने बनाउन अलपोनजस्तो विषादी मिसाइएको हुन्छ । यसले मानव स्वास्थ्यमा प्रतिकूल असर पार्ने स्वयम् व्यापारी नै बताउँछन् ।

‘यो विषादी खानेकुरा, जनावर र बच्चाबाट टाढै राख्नुपर्छ र फलफूलमा छर्केपछि पनि माटोमुनि गाड्नुपर्छ । तर, फलफूलमा छर्केको २४ घण्टा नबित्दै खाँदा त्यसले कस्तो असर गर्ला ?’ शान्तिवनस्थित तरकारीबजारका व्यापारी गणेश बास्कोटा भन्छन्, ‘अलपोन अघिल्लो दिन राति छर्केपछि भोलिपल्ट केरा र आँप पहेँलै हुन्छ र त्यो सीधै बजारमा जान्छ । हरियो गोलभेँडा पनि भोलिपल्ट टलक्कै टल्कने गरी रातै हुन्छ । देख्दा राम्रो भए पनि यस्ता तरकारी र फलफूल हाम्रा लागि विषबराबर छन् ।’ शान्तिवनका १ सय ५० जना व्यापारीले नै फलफूल र तरकारीमा अलपोन प्रयोग गर्ने गरेको उनले बताए ।

‘यहाँका एभ्रोभेट र किसानलाई विषादी प्रयोगबारे जनचेतना फैलाउनु आवश्यक छ,’ कृषि ज्ञानकेन्द्र स्याङ्जा सम्पर्क एकाइ कास्की कार्यालयका प्रमुख कालीप्रसाद अधिकारीले भने, ‘किसानले सकेसम्म कम विषादी प्रयोग र विषादीको पर्खने समयपछि मात्र तरकारी र फलफूल बजारमा ल्याउनुपर्छ ।’
प्रदेश सरकारले उक्त एकाइमा प्राविधिक कर्मचारी खटाइदिएमा भोलिबाटै एकाइ सञ्चालनमा ल्याउन सकिने भनाइ अधिकारीको छ ।

पोखरामा तरकारी प्रतिदिन २ सय टन र फलफूल १ सय ५० टन खपत हुन्छ । पोखरामा खपत हुने तरकारीमध्ये ७० प्रतिशत भारत तथा बाहिरी जिल्लाबाट आयात गरिन्छ भने ९५ प्रतिशत फलफूल बाहिरबाट ल्याइन्छ । मानवस्वास्थ्य र वातावरणलाई प्रतिकूल असर पार्ने १ सय २७ भन्दा बढी विषादी छन् ।

रासायनिक विषादीबाट मानव शरीरमा दीर्घकालीन असरहरू, जस्तै क्यान्सररोग, कलेजो तथा मिर्गौला बिग्रनु, महिलामा गर्भ तुइनु, बाँझोपन, पक्षाघात, मानसिक विकासमा बाधा, छालाको एलर्जी, शारीरिक तथा मानसिक असरसँगै ठूला रोगहरू देखापर्ने गरेका छन् । विषादी मानिसको छाला, श्वासक्रिया, आँखा र मुखबाट प्रवेश गर्छ । तर, अधिकांश नेपालीका भान्सामा विषादीयुक्त तरकारी छिर्छन् । विदेशमा मात्र होइन, नेपालकै अधिकांश किसानले तरकारी तथा फलफूलमा रासायनिक विषादीको प्रयोग बढाउँदै आएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय