तुलसीको प्रयोगले यी रोगबाट पाउनुहोस् मुक्ति

हेल्थपोस्ट
प्रकाशित
२०७६ असार २८ गते ११:४६

तुलसी केवल घराको शोभा बढाउने बिरुवा होइन, अपार औषधीय गुणयुक्त वनस्पति हो । हिन्दू धर्मावलम्बीले तुलसीलाई भगवान्का रूपमा पूजा गर्छन् । आजको तेज दुनियाँमा जति तीव्र गतिमा रोगहरू बढिरहेका छन्, त्यसले मानिसलाई एलोपेथी उपचारतर्फ उन्मुख गराउनु स्वाभाविक नै हो । तर, तुलसी यस्तो औषधि हो, जसले गम्भीर रोगहरूबाट पनि छुटकारा दिलाउने क्षमता राख्दछ । मुटुरोग होस् या चिसोको समस्या विशेषगरी नेपाल तथा भारतमा सदियौँदेखि तुलसीको प्रयोग हुँदै आएको छ ।

आयुर्वेदले कैयौँ रोगको उपचारमा तुलसीलाई प्रमुख औषधिका रूपमा प्रयोग गर्दै आएको छ, जुन प्रयोग अत्यधिक सफल पनि छ । अत्यधिक अक्सिजन उपलब्ध गराउने तुलसीको उपयोगिता गनिसाध्यै छैन । सबैखाले यौनदुर्बलताको उपचारदेखि लिएर क्यान्सरबाट छुटकारा पाउनसमेत तुलसी अत्यन्त लाभदायक भएको प्रयोगद्वारा सिद्ध भइसकेको छ । यही अपार लाभकै कारण हुनुपर्छ, तुलसीलाई मानिसले भगवान्को दर्जा दिएर पूजासमेत गर्ने गरेका छन् । तुलसीका अनगिन्ती औषधीय गुणमध्ये यहाँ केही रोगबारे बताइनेछ, जसमा तुलसी वरदान नै साबित हुन सक्छ ।

१. श्वासको दुर्गन्ध
अनियमित र दूषित खानपानका कारण आजकल मानिसमा श्वासको दुर्गन्धको रोग आम बनिसकेको छ । यसबाट छुटकारा पाउनका लागि कतिपय मानिस हजारौँ रूपैयाँ खर्च गर्छन्, तर कुनै फाइदा पुगिरहेको हुँदैन । यस्तोमा यदि तुलसीको प्रयोग गरिएमा अत्यन्त फाइदा मिल्न सक्छ । तुलसीका सुकेका पत्तालाई तोरीको तेलमा मिलाएर दाँत सफा गर्नाले श्वासको दुर्गन्ध हटेर जान्छ । यसका अलावा तुलसीका पत्ताहरू चपाउनाले पनि श्वासको दुर्गन्ध तथा पायरियाजस्ता समस्याबाट छुटकारा पाउन सकिन्छ ।

२. घाँटीको दुखाइ
सामान्यतया घाँटीको दुखाइ जाडोयाममा चिसोका कारण हुने गर्छ । तर, कतिपय मानिसमा यो समस्या गर्मीयाममा पनि हुने गर्छ । यदि तपाईं पनि यसकिसिमको रोगबाट पीडित हुनुहुन्छ भने तुलसीका पत्तालाई पानीमा उमालेर पिउनुहोस् । यसले तपाईंको गलाको दुखाइ हटाउँछ । बच्चाहरूमा गलाको दुखाइको समस्या गर्मीयाममा पनि हुने गर्छ । यस्तो अवस्थामा बच्चालाई तुलसीको पत्ता पानीमा उमालेर पिलाउनाले निकै आराम मिल्छ ।

३. श्वाससम्बन्धी अन्य समस्या
श्वासको दुर्गन्धबाहेक श्वाससम्बन्धी अन्य समस्याको उपचारमा पनि तुलसी ज्यादै उपयोगी साबित हुँदै आएको छ । बेसार, अदुवा र तुलसी मिलाएर उमालिएको पानीको सेवनले ब्रोकाइटिस, दम, कफ र चिसो लागेकोमा निकै राहत मिल्छ । नुन, ल्वाङ र तुलसीका पत्ता मिलाएर कडा रूपमा उमालिएको पानीको सेवनले इन्फ्लुएन्जा (एककिसिमको ज्वरो)मा तत्काल राहत दिन्छ ।

४. मुटुरोग
तुलसीले रगतमा भएको कोलेस्टेरोलको स्तरलाई घटाउँछ । त्यसैले तुलसीको सेवन मुटुरोगीका लागि ज्यादै उपयोगी साबित हुन्छ । यद्यपि, मुटुरोगीले मात्र नभएर मुटुसम्बन्धी कुनै पनि रोग नहुनेका लागि पनि तुलसीको नियमित सेवन लाभदायक हुन्छ ।

५. तनाव
तुलसीको पत्तामा तनावनिरोधक गुण पाइन्छ । तुलसीले सेवनकर्तालाई तनावबाट मुक्ति दिलाउने कुरा अध्ययनबाट सिद्ध भएको छ । आफूबाट तनावलाई टाढा राख्न चाहने व्यक्तिले दैनिक तुलसीका १२ वटासम्म पत्ता दुईपटक सेवन गर्न सक्छन् । तुलसीको नियमित सेवनले मानसिक रोगबाट पनि बच्न सकिन्छ । पछिल्लो समय धरैजसो मानिस कुनै न कुनै खालका मानसिक रोगबाट पीडित भइरहेको अवस्थामा तुलसीको नियमित सेवन ज्यादै लाभदायक हुन सक्छ ।

६. संक्रमण तथा छालारोग
संक्रामक रोगका लागि तुलसीको प्रयोग ज्यादै फाइदाजनक हुन्छ । दैनिक तुलसीका केही पत्ता चपाउनाले संक्रमण निर्मूल हुने विश्वास लिइन्छ । तुलसी छालारोगका लागि पनि निकै लाभदायक छ । दाद, चिलाउनेलगायत छालासम्बन्धी अन्य समस्यामा तुलसीको रस प्रभावित भागमा लगाउनाले केही दिनमै रोग निको हुन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय