चिकित्सक संघले औँल्यायो स्वास्थ्य सेवाप्रवाह स्वास्थ्यकर्मीको काबुबाहिर जान सक्ने खतरा

फाइल तस्बिर

नेपाल चिकित्सक संघ (एनएमए)ले स्वास्थ्यकर्मी तथा स्वास्थ्यसंस्थाको सुरक्षासम्बन्धी ऐन २०६६ र नियमावली २०६९ मा तत्काल आवश्यक संशोधन गरी स्वास्थ्यकर्मी तथा स्वास्थ्यसंस्थामाथि दुर्व्यवहार गर्ने व्यक्तिलाई विनाधरौटी हिरासतमा लिई जेलचलानको प्रावधान समावेश गर्न माग गरेको छ ।

संघले शुक्रबार पत्रकार सम्मेलन गरी देशमा पछिल्लो समय स्वास्थ्यसंस्था तथा स्वास्थ्यकर्मीमाथि आक्रमण तथा हातपातका घटना बढिरहेका वेला घटनामा संलग्नलाई विनाधरौटी हिरासतमा लिई जेलचलानको प्रावधान लागू गराउन नसकिएमा स्वास्थ्य सेवाप्रवाह चिकित्सक तथा स्वास्थ्यकर्मीको काबुभन्दा बाहिर जान सक्नेतर्फ सरकारलाई सचेत गराएको छ ।

‘यदि यो प्रावधानलाई लागू गराउन नसकिने हो भने स्वास्थ्य सेवाप्रवाह अब चिकित्सक तथा स्वास्थ्यकर्मीको काबुभन्दा बाहिर जाने अवस्था नआउला भन्न सकिँदैन,’ संघको विज्ञप्तिमा भनिएको छ, ‘त्यसपछिको अवस्था कति कहालीलाग्दो र भयावह होला, हामी कल्पना पनि गर्न सक्दैनौँ ।’

‘यदि यो प्रावधानलाई लागू गराउन नसकिने हो भने स्वास्थ्य सेवाप्रवाह अब चिकित्सक तथा स्वास्थ्यकर्मीको काबुभन्दा बाहिर जाने अवस्था नआउला भन्न सकिँदैन, त्यसपछिको अवस्था कति कहालीलाग्दो र भयावह होला, हामी कल्पना पनि गर्न सक्दैनौँ ।’

ऐन तथा नियमावलीमा स्वास्थ्यकर्मी तथा स्वास्थ्यसंस्थामाथि जुनकुनै किसमको क्षति पुर्याउने वा दुर्व्यवहार गर्ने तथा त्यस्तो उद्योगमा संलग्नलाई विनाधरौटी हिरासतमा लिई जेलचलानको प्रावधान थप गरेर आपराधिक मानसिकता बोकेका व्यक्तिलाई कडाभन्दा कडा कारबाही नगरिएको खण्डमा स्वास्थ्यजस्तो संवेदनशील क्षेत्रको वातावरण असुरक्षित हुने संघले जनाएको छ । संघले नेपाल सरकार, गृह मन्त्रालय, स्वास्थ्य तथा जनंसख्या मन्त्रालय, कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालय, स्थानीय सुरक्षा निकायलगायत सरोकारवाला पक्षलाई यस विषयमा गम्भीर मनन गरी ऐनलाई यथाशीघ्र अन्तिम रूप दिन माग गरेको छ ।

पछिल्लो करिब तीन महिनाको अवधिमै स्वास्थ्यकर्मी तथा स्वास्थ्यसंस्थामाथि आक्रमणका आधा दर्जनभन्दा बढी ठूला तथा गम्भीर प्रकृतिका घटना घटाइएका छन्, जुन समग्र स्वास्थ्यक्षेत्रकै लागि चुनौतीको विषय बनेको छ ।

पछिल्लो समय हेटौँडा अस्पताल, सिन्धुली अस्पताल, लहान अस्पताल, शिवराज अस्पताल, कपिलवस्तु अस्पताल, डडेल्धुरा अस्पताल, ओम अस्पताल, जलेश्वर जिल्ला अस्पताल, विराट मेडिकल कलेज, राप्ती स्वास्थ्यविज्ञान प्रतिष्ठान, डडेल्धुरा अस्पताललगायत देशभरका विभिन्न अस्पतालमा चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि गरिएको अभद्र व्यवहार, गालीगलौज तथा शारीरिक हमला एवं स्वास्थ्यसंस्था नै तोडफोडका घटनाले स्वास्थ्य क्षेत्रलाई आक्रान्त पारेको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय