चिकित्सक परामर्श शुल्क पुनरावलोकन हुने, विद्यमान शुल्कमा ८५ देखि १६० सम्म बढ्ने !

हेल्थपोस्ट
प्रकाशित
२०७६ असार २७ गते ६:०१

चिकित्सकले विरामीसँग परामर्श शुल्क के आधारमा लिने ? सरकारले अनुभव र मापदण्डका आधारमा शुल्क निर्धारण गरेपनि लागु नभएको सन्दर्भमा पछिल्लोपटक चिकित्सक शुल्क परमार्जनको प्रक्रिया सुरु भएको छ । मन्त्रालयले नयाँ शुल्क सिफारिसका लागि मन्त्रालयको नीति योजना महाशाखाका प्रमुख डा. विकास देवकोटाको संयोजकत्वमा चिकित्सक संघ, एशोसिएसन अफ प्राइभेट हेल्थ इन्टिच्युसन नेपाल (अपिन), नेपाल मेडिकल काउन्सिल सहितको समितिले काम सुरु गरेको छ ।

संघका महासचिव डा. लोचन कार्कीकाअनुसार शुल्क पुनरावलोकन गर्दा मुद्रास्फीति र अन्तराष्ट्रिय अभ्यासका आधारलाईसमेत ध्यान दिएर नयाँ शुल्क सिफारिस गरिने तयरी छ । नयाँ आधारमा हेर्दा भर्खर एमबिबिएस गरेको चिकित्सकले प्रति बिरामीसँग लिन पाउने परामर्श शुल्क ८५ रुपैँयादेखि बरिष्ठ विशेषज्ञले पाउने परामर्श शुल्कमा १६० रुपैँयासम्म बढ्नसक्छ ।

चिकित्सक परामर्श शुल्क प्रत्येक २ वर्षमा पुनरावलोकन हुने भनिएपनि ६ वर्षदेखि यथास्थितिमा छ । सरकारले ६ वर्षअघि एमबिबिएस पास गरेर ५ वर्षसेवा अनुभव नभएका चिकित्सकको २५०, ५ वर्ष अनुभव भएपछि ३००, एमबिबिएसपछि फेलोसिप गरेकाले ४०० र विशेषज्ञले ४५० र ५ वर्षभन्दा बढी अनुभव भएको विशेषज्ञले ४७५ परामर्श शुल्क लिनपाउँछन् । अहिले छलफलअनुसार भएमा एमबिबिएसको कम्तिमा शुल्क ३३५, विशेषज्ञको ५३५ हुन्छ । पाँच वर्षभन्दा बढी अनुभव हाँसिल गरेका विशेषज्ञको सन्दर्भमा ६३५ रुपैँयासम्म लिन पाउनेगरी शुल्क सिफारिसको तयारी भइरहेको छ । समितिको सिफारिसको आधारमा सरकारले शुल्क निर्धारण गर्छ ।

शुल्क सिफारिसका लागि विहीबार बसेको बैठकमा देवकोटासहित, संघका अध्यक्ष डा. मुक्तिराम श्रेष्ठ, महासचिव डा. लोचन कार्की, कोषाध्यक्ष डा. प्रकाश बुढाथोकी, अपिनका अध्यक्ष वसन्त चौधरी, नेपाल मेडिकल काउन्सिका कार्यवहाक अध्यक्ष डा. नारायण विक्रम थापालगायतको उपस्थिति थियो ।

मुलुकी अपराध संहितामा चिकित्सकविरुद्ध राखिएको कडा कानून सच्याउँने आन्दोलन र ५ प्रतिशत स्वास्थ्य कर हटाउने सन्दर्भमा संघसँग प्रभावकारी सहकार्य गरेको अपिन शुल्क पुनरावलोकनमा समेत कार्यन्वयनको प्रतिवद्धतासहित लागेको छ । संघले लामो सयमदेखि शुल्क पुनरावलोकको मागगर्दै आएको थियो । यसबीचमा चिकित्सक शुल्क तोकिएपनि त्यसको प्रभावकारी कार्यान्वयन भएनभएको अनुगमन हुन सकेको छैन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय