डडेल्धुरा अस्पतालमा कार्यरत सम्पूर्ण चिकित्सकलाई स्वास्थ्य मन्त्रालयमा हाजिर हुन गोदानको आग्रह

सरकारी चिकित्सक संघ नेपाल (गोदान)ले डडेल्धुरा अस्पतालमा कार्यरत सम्पूर्ण चिकित्सकलाई आत्मसुरक्षाका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा हाजिर हुन आग्रह गरेको छ । बुधबारको चिकित्सक आक्रमणको घटनाबारे बिहीबार विज्ञप्ति जारी गर्दै गोदानले सुरक्षाको शतप्रतिशत ग्यारेन्टी नभएसम्म र दोषीलाई हिरासतमा लिएर अनुसन्धान नथालिएसम्मका लागि अस्पतालमा कार्यरत सम्पूर्ण चिकित्सकलाई सबैखाले सेवा छोडेर केन्द्रमा हाजिर हुन आउन आग्रह गरेको हो ।

बुधबार वडाध्यक्षकै नेतृत्वमा पोस्टमार्टमकक्षमै प्रवेश गरी शवपरीक्षणमा संलग्न चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि भएको आक्रमणको घटनाले चिकित्सक तथा स्वास्थ्यकर्मीबीच चरम मानसिक तनाव र असुरक्षाको परिस्थिति सिर्जना भएकाले यस्तो अवस्थामा स्वास्थ्यकर्मीले सेवाप्रवाह गरिरहन नसक्ने ठहर गोदानले गरेको छ । न्यूनतम सेवा–सुविधा र सीमित स्रोत–साधनमा गुणस्तरीय उपचारमा समर्पित चिकित्सकको उच्च मूल्यांकन हुनुको साटो पटक–पटक आक्रमण गरिनु दुर्भाग्यपूर्ण भएको गोदानले जनाएको छ । यसकिसिमको निन्दनीय घटनाको असर स्वास्थ्यकर्मीमा मात्र पर्ने नभई कालान्तरमा विशेषगरी स्थानीय दुःखी, गरिब जनतालाई पर्ने भएकाले जनताले सुलभ रूपमा स्वास्थ्यसेवा पाउने वातावरण बनाउने जिम्मा मुख्यतः स्थानीय सरकारको भएको गोदानले स्मरण गराएको छ ।

न्यूनतम सेवा–सुविधा र सीमित स्रोत–साधनमा गुणस्तरीय उपचारमा समर्पित चिकित्सकको उच्च मूल्यांकन हुनुको साटो पटक–पटक आक्रमण गरिनु दुर्भाग्यपूर्ण भएको गोदानले जनाएको छ ।

तर, स्थानीय सरकारका कार्यकारी तहमा रहेका जनप्रतिनिधिकै नेतृत्वमा चिकित्सकमाथि आक्रमणका यस्ता घृणित र अमानवीय घटना घटाइएको प्रति गोदानले निन्दा गरेको छ । ‘केही साताअघि मात्र भएको घटनापश्चात् यस्तोखाले घटना हुन नदिने र भएको खण्डमा आपराधिक घटनामा संलग्नहरूलाई तत्काल कानुनी दायरामा ल्याउने स्थानीय जनप्रतिनिधि र प्रशासनको विगतको प्रतिबद्धता पालना हुनुको साट्टा स्थानीय जनप्रतिनिधि स्वयंको नेतृत्वमा भएको यस अमानवीय र निन्दनीय प्रकृतिको घटनाले हामीलाई मर्माहित बनाएको छ,’ गोदानको विज्ञप्तिमा भनिएको छ ।

बुधबार प्रहरी प्रशासनको लिखित अनुरोधमा शवको पोस्टमार्टम गरिरहेका चिकित्सकमाथि अमरगढी नगरपालिका–११ का वडाध्यक्ष सूर्यप्रकाश खड्काको नेतृत्वमा आएको उत्तेजित भिडले पोस्टमार्टम कक्षमै प्रवेश गरी हातपात, गालीगलौज र ढुंगामुडासहित शव खोसेर लगेपछि अस्पताल तनावग्रस्त बनेको हो । घटनालगत्तै अस्पतालका निमित्तमेडिकल सुपरिटेन्डेन्टले जिल्ला प्रशासन कार्यालयमा पत्र लेख्दै असुरक्षाको विद्यमान वातावरणमा अस्पतालमा कार्यरत कुनै पनि स्वास्थ्यकर्मीले सेवा दिन नसक्ने जनाउ दिएका थिए । उनले सुरक्षाको ग्यारेन्टी नभएसम्मका लागि आकस्मिकबाहेकका अस्पतालका कुनै पनि सेवा सञ्चालन नगर्ने लिखित रूपमै प्रशासनलाई जानकारी गराएका थिए ।

चिकित्सकको आन्दोलनका कारण बिहीबार अस्पतालका सेवा नराम्ररी प्रभावित भएका छन् । सेवा अवरुद्ध हुँदा त्यसको प्रत्यक्ष असर दूरदराजबाट उपचारका लागि आउने विपन्न जनतामा परेको छ ।यसअघि ३१ जेठमा उपचारका क्रममा बिरामीको मृत्यु भएको घटनालाई लिएर अस्पताल एक सातासम्म तनावग्रस्त बनेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय