चिकित्साशिक्षा आयोगमा ६ को उम्मेदवारी, किन दिएनन् भगवान र बास्कोटाले आवेदन
राष्ट्रिय चिकित्साशिक्षा आयोगको उपाध्यक्षका लागि ६ जनाले आवेदन दिएका छन् । आवेदन दिनेमा केही विवादित र सम्बन्धित क्षेत्रमा नामै नचलेकाहरु छन् ।
आयोगका लागि प्रमुख दाबेदार मानिएका डा. भगवान कोइराला, डा. धर्मकान्त बास्कोटा डा. अर्जुन कार्कीले दरखास्तै दिएनन् । कोइराला र बास्कोटाले आयोगका ऐनमा उल्लेखित सर्तका कारण अनिच्छा देखाएका हुन् भने कार्कीलाई आवेदनका लागि जारी सूचनामा उल्लेखित सर्तले अड्को थापेको छ ।
दरखास्त दिने ६ मा नेपाल मेडिकल काउन्सिलका पूर्वरजिस्ट्रार डा. नीलमणि उपाध्याय र चिकित्साविज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स)का पूर्वरेक्टर श्रीकृष्ण गिरी छन् । उपाध्याय चिकित्साशिक्षा क्षेत्रको विकृतिका मुख्य सूत्राधारका रुपमा आरोपित छन् । उनलाई गौरीबहादुर कार्की आयोगले विभिन्न कारबाहीको सिफारिस गरेको छ ।
अन्य आवेदनकर्तामा नामै नचलेका चिकित्सक छन् । आवेदनकर्ता डा. प्रमोद शर्मा, डा. पारस पोखरेल, डा. रमेश सिंह र डा. नीलाम्बर झा सम्बन्धित क्षेत्रमा खासै सुनिएको नाम होइन ।
उपाध्यक्षले आयोगको कार्यकारी प्रमुखका रुपमा काम गर्ने कानुनी व्यवस्था छ । चिकित्साशिक्षा सुधारका लागि लामो संघर्षबाट बनेको राष्ट्रिय चिकित्साशिक्षा विधेयक र सुधारको नेतृत्व गर्ने बहुप्रतीक्षित चिकित्साशिक्षा आयोगको पहिलो उपाध्यक्षसामु सुधारको मार्गचित्र कोर्ने चुनौती रहेको विश्लेषण गरिँदै आएको छ ।
चिकित्साशिक्षा सुधारका लागि पटक–पटक सत्याग्रहको नेतृत्व गर्दै आएका डा. गोविन्द केसीको अभियानका सहयात्री तथा सहयोगी संगठन सोलिडारिटी फर डा. केसी अलायन्सले आइतबार विज्ञप्ति जारी गर्दै योग्यतम व्यक्तिलाई आयोगको उपाध्यक्ष नियुक्त गर्ने वातावरण सिर्जना गर्न र हतारोमा उपलब्धि गुम्ने काम नगर्न सरकारसमक्ष माग गरेको थियो ।