८, ९ र १०औँ तहको समायोजन मंगलबारसम्म सकिने, २५ दिनभित्र सबै कर्मचारीको हातमा पत्र

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्वास्थ्यसेवाका आठौँ, नवौँ र १०औँ तहको समायोजन मंगलबारसम्म सक्ने तयारी तीव्र बनाएको छ । सबै कर्मचारीले अबको करिब २५ दिनभित्र पदस्थापनको पत्र पाइसक्ने मन्त्रालयले जनाएको छ । यसअघि, मन्त्रालयले ११औँ तहको समायोजन तथा पदस्थापन सम्पन्न गरिसकेको छ ।

‘आठौँ, नवौँ र १०औँ तहको समायोजन मंगलबारसम्म सक्ने तयारीमा छौँ,’ स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता महेन्द्रप्रसाद श्रेष्ठले भने, ‘अन्य तहको समायोजन क्रमशः गर्दै जानेछौँ ।’

प्रवक्ता श्रेष्ठले दिएको जानकारीअनुसार अबको एक महिनाभित्र सबै कर्मचारीको हातमा पदस्थापनको पत्र उपलब्ध हुनेछ । समायोजनमा १३ हजार गुनासा परेका मध्ये ७ हजार ७ सय ४० गुनासालाई जायज ठहर गरी गुनासो सुनुवाइ उपसमितिले ती कर्मचारीको समायोजन सच्याउन सिफारिस गरेको थियो । मन्त्रालयले ७ हजार ७ सय ४० गुनासालाई ३० समूह, ५९ उपसमूह, ४ सय १९ पदका आधारमा विभाजन गरेर समायोजनको तयारी गरिरहेको छ । ‘त्यसमध्ये केही पद तथा समूहको काम सुरु गरेका छौँ,’ प्रवक्ता श्रेष्ठले भने, ‘पदका आधारमा हेर्दा फार्मेसी साहयक, एनस्थेसिया, मलेरिया विशेषज्ञजस्ता पदको समायोजन सोमबारसम्म सकिनेछ, अन्य पदको क्रमश समायोजन गर्दै अघि बढ्नेछौँ ।’

त्यसैगरी, अनमी, अहेव, प्रयोगशालाका प्राविधिक समूहको समायोजन पूरा भई कर्मचारी कार्यरत रहेको संस्थामा पत्र पठाउने काम भइरहेको मन्त्रालयले जनाएको छ । समायोजनलाई मूर्तरूप दिन ५ टोली खटिएका छन् । कहिले नुवाकोटको हेल्थपोस्टमा त कहिले भक्तपुरको हेल्थपोस्टमा बसेर समायोजनको कामलाई गति दिइरहेको श्रेष्ठको भनाइ छ ।

‘आठौँ, नवौँ र १०औँ तहको समायोजन मंगलबारसम्म सक्ने तयारीमा छौँ,’ स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता महेन्द्रप्रसाद श्रेष्ठले भने, ‘अन्य तहको समायोजन क्रमशः गर्दै जानेछौँ ।’

संघबाहिर परेका आठौँ, नवौँ र १०औँ तहका चिकित्सकलाई पुल दरबन्दीमा राखेर व्यवस्थापन गर्ने सहमति गरे पनि सो विषयमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले अझै केही कदम चालेजस्तो देखिँदैन । सामान्यले कर्मचारीको गुनासो छानबिन गरी जायज गुनासाको सम्बोधनसहित सच्याएर आएको सूचीमा समेत अनेक त्रुटि देखिएका कारण कार्यान्वयनमा केह जटिलता आएको स्वास्थ्य मन्त्रालयले बताउँदै आएको छ । ‘सामान्यले पठाएको सूची कार्यान्वयनमा जटिलता देखिएकाले थप अध्ययन गरेर क्रमिक रूपमा समायोजन गर्दै लैजाने तयारीमा छौँ,’ श्रेष्ठले भने ।

स्वास्थ्य मन्त्रालयका अनुसार कर्मचारीको समायोजनमा समस्या कायम छ, जसलाई मिलाएर पूर्णता दिन एक महिना लाग्नेछ । सामान्यबाट स्वास्थ्यमा अन्तिम सूची आएसँगै कर्मचारीले आफू समायोजित भएको कार्यालय थाहा पाउन सक्नेछन् ।

संघीयता कार्यान्वयनका क्रममा समान्यले पुनःसंरचित संगठन संरचनाअनुसार गत चैत तथा वैशाखमा विभिन्न चरणमा गरी स्वास्थ्यका करिब २७ हजार कर्मचारीको समायोजन सूची सार्वजनिक गरेको थियो । सूची सार्वजनिक भएसँगै कर्मचारीले समायोजनमा व्यापक लापरबाही भएको भएको भन्दै सप्रमाण असन्तुष्टि जनाएका थिए ।

१३ वर्षअघि नै मृत्यु भइसकेका कर्मचारीको समेत समायोजन गरिएको लगायत विविध प्राविधिक तथा व्यावहारिक त्रुटि भएकाले राम्ररी अध्ययन गरेर मात्र समायोजन टुंग्याउन कर्मचारीका संघ–संगठनहरूले माग गरेका थिए । समायोजनमा अनेकन त्रुटिहरूसहित चौतर्फी असन्तुष्टि छताछुल्ल भएपछि सरकारले कर्मचरीलाई गुनासो दर्ता गराउन ५ वैशाखसम्मको समय दिएको थियो ।

लामो समय लगाएर विशेषज्ञ टोलीले गुनासो अध्ययन गरी जायज ठहरिएका गुनासामा समायोजन सच्याउने सिफरिससहित उपसमितिले प्रतिवेदन पेस गरेपछि सामान्यले स्वास्थ्य मन्त्रालयलाई अन्तिम सूची पठाएको थियो । यद्यपि, उक्त सूचीमा पनि व्यापक त्रुटि भेटिएपछि स्वास्थ्यले समायोजन सार्वजनिक नगरी पुनः अध्ययनमा लागेको हो । सामान्यले स्वास्थ्यको समायोजन टुंग्याउन नसकी हात उठाएकाले आफैँ अध्ययन गरेर त्रुटि निराकरण गरी समायोजन टुंग्याउने तयारीमा स्वास्थ्य मन्त्रालय लागिपरेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय