निजामतीमा देशमै पहिलोपटक कुल्ड आरएफ मेसिनबाट सेवा, एकपटकको उपचारले ३ वर्षसम्म दुखाइबाट मुक्ति

शरीरका मुख्य अंगहरूको दीर्घकालीन दुखाइको उपचारका लागि नेपालमा पहिलोपटक निजामती अस्पतालले रेडियो फ्रिक्वेन्सी एब्लेसन मेसिन भित्र्याएको छ । यसअघि नेपालमा नर्मल आरएफ मेसिनद्वारा दुखाइसम्बन्धी उपचार हुँदै आएको थियो । निजामतीले कुल्ड आरएफ मेसिनद्वारा दीर्घकालीन दुखाइका लागि प्रभावकारी उपचारसेवा सुरु गरेको हो ।

क्यान्सरका दुखाइ, घुँडाको दीर्घकालीन दुखाइ, हात नचल्ने, पैताला पोल्ने, ढाडको दुखाइलगायत अन्य दुखाइमा कुल्ड आरएफ मेसिन बढी प्रभावकारी रहेको अस्पतालका रिजनल एनेस्थेसिया एन्ड पेन विशेषज्ञ डा. अनुजजंग रायमाझी बताउँछन् ।
रेडियो फ्रिक्वेन्सी एब्लेसन मेसिन अमेरिकी ह्याल्यार्ड कम्पनीको हो । यसका लागि अस्पतालले करिब ७० लाखखर्चिएको छ । यससँगै निजामती अस्पताल अल्ट्रासाउन्डमार्फत हेरेर आरफको प्रयोग गर्ने एक मात्र अस्पताल बनेको छ, जुन संसारको लेटेस्ट प्रविधि हो ।

नर्मल आरफ मेसिनभन्दा कुल्ड आरफले ४ गुणा बढी नसाको क्षेत्रलाई समेट्ने
सामान्यतया उदाहरणका लागि घुँडामा रहेको नसा यही भागमा छ भनी पत्ता लगाउन सकिँदैन । नर्मल आरएफ मेसिनको सहायताले उपचार गर्ने हो भने तापक्रमको माध्यमबाट करेन्ट लिने र नसालाई लठ्याउने काम गर्छ । डा. रायमाझी भन्छन्, ‘नर्मल आरएफले नसाको प्वाइन्ट सानो क्षेत्रमा कभर गर्छ, तर कुल्ड आरएफले झन्डै नर्मल आरएफको भन्दा ४ गुणा बढी क्षेत्रलाई समेट्ने गर्छ ।’ उनका अनुसार घुँडामा इन्जेक्सन प्रयोगपछि कुल्ड आरएफको माध्यमबाट नसा मार्ने कामको सकारात्मक नतिजा आउने सम्भवना धेरै हुन्छ, जसले यसको विश्वसनीयता बढी हुन्छ ।

७ हजार ५ सयमा दीर्घकालीन दुखाइको उपचार
नसाहरू छरिएर रहेको हुने हुँदा एउटा मात्र नसालाई मार्नुपरेमा पनि त्यसवरपरका सबै नसा मार्नुपर्ने हुन्छ । नसाहरू जालीजस्तो आकारमा रहेका हुन्छन् । डा. भन्छन्, ‘ नर्मल आरएफबाट उपचार गर्दा १ वर्षसम्म नदुख्न सक्ने अवस्थामा कुल्ड आरएफ मेसिनबाट उपचार गरेको खण्डमा ३ वर्षसम्म दुखाइ कम हुन जान्छ ।’

कुल्ड आरएफ प्रयोग गर्दा केही बढी शुल्क लाग्ने हुन्छ । एकपटकको कुल्ड आरएफबाट उपचार गर्दा ७ हजार ५ सयको हाराहारीमा पर्न आउँछ । एकपटक उपचार गरिसकेपछि सामान्यतया २ देखि ३ वर्ष गर्नुनपर्ने डा. रायमाझी बताउँछन् ।

दुखाइको डाक्टरलाई किन देखाउने ?
शल्यक्रिया चरणमा पूरै बेहोस बनाउँदा जोखिम हुन्छ । विभिन्न रोग तथा उमेर समूहका बिरामीदेखि दीर्घकालका दुखाइको व्यवस्थापनमा उपयोगी भएका कारण यो प्रविधिको लोकप्रियता बढ्दै गएको छ ।

सामान्यतः अहिले एनेस्थेसियामा पूरै बेहोस गराउने, स्पाइनल एनेस्थेसिया, ब्लक एनेस्थेसिया र लोकल प्रचलनमा छन् । अल्ट्रासाउन्ड गाइडेड रिजनल एनेस्थेसियामा भने शल्यक्रियाको समयमा यी परम्परागत एनेस्थेसियाका तरिकाहरूले बेहोस गराउँदा बढी जोखिम हुन सक्ने, उमेर समूह, उच्च रक्तचाप, फोक्सोको रोग, मिर्गौलारोग, क्यान्सर तथा मधुमेहका समस्या भएका बिरामीलाई आवश्यक ठाउँमा र आवश्यक मात्रामा मात्रै दिएर शल्यक्रियालाई सहज बनाइन्छ ।

जनरल एनेस्थेसियामा फोक्सो, मुटु, मिर्गौला कमजोर भएको अवस्थामा ती अंगलाई औषधि दिँदा जोखिम धेरै हुन्छ । ‘यो यस्तो पद्धति हो, जसमा नसाबाट अल्ट्रासाउन्डले हेर्दै एक्युरेट्ली उपचार दिइन्छ,’ रायमाझीले भने, ‘जसले जोखिम घटाउँछ ।’

उदाहरणका लागि कुनै मानिसलाई चोटपटक लागेका कारण शरीरका भाग दुखेको छ भने नदुख्ने औषधिसेवनबाट केही दिनका लागि आराम दिन सकिन्छ । त्यसपछि सबै डाक्टरले गराउने भनेको फिजियोथेरापी नै हो । डा. रायमाझी भन्छन्, ‘त्यसपछि पनि दुखाइ कम नभएको खण्डमा रिजनल एनेस्थेसिया एन्ड पेन विशेषज्ञले मात्र दीर्घकालीन दुखाइको उपचार गर्न सक्छन् ।’

दीर्घकालीन दुखाइको उपचारका लागि लेटेस्ट प्रविधि कुल्ड आरएफ मेसिनको माध्यमबाट उपचार दिन थालिएको डा. रायमाझी बताउँछन् । भविष्यमा नयाँ–नयाँ पद्धतिबाट उपचार गर्न खोजिरहेको डा. रायमाझी बताउँछन् ।

हरेक साताको मंगलबार सेवा
कुल्ड आरएफ मेसिनको प्रयोग सफा ठाउँमा गर्नुपर्ने हुँदा अस्पतालले अप्रेसनकक्षमा सञ्चालन गर्दै आएको छ । अस्पतालमा बेड नपाएर फर्कने बिरामी धेरै छन् । त्यसैले दीर्घकालीन दुखाइको उपचार कम प्राथमिकतामा पर्दै आएको छ । ‘लठ्याउने औषधि हाल्नुपर्ने हुँदा बिरामीलाई गाह्रो भएको अवस्थामा सुताएर उपचार गर्नुपर्ने हुन्छ,’ डा. रायमाझी भन्छन्, ‘आकस्मिक बिरामीलाई बढी प्राथमिकता दिनुपर्ने हुँदा दीर्घकालीन दुखाइको बिरामीका लागि पर्यात्त समय हुँदैन ।’

दीर्घकालीन दुखाइ संसारमा विकसित भएको विषय हो । फेलोसिप रहेका कुनै डाक्टरले क्यान्सरको दुखाइ, घुँडाको दुखाइ, हातको दुखाइको कुनै विधामा उपचार गर्न सक्छन् । तर, शरीरका सबै भागको दीर्घकालीन दुखाइको उपचार विश्वमा बिस्तारै विकसित रूपमा बढ्दै गएको छ । नेपालको सन्दर्भमा हेर्ने हो भने भर्खरै मात्र सेवाविस्तार हुँदै गएको भन्न सकिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय