रूपन्देहीमा स्वास्थ्यबिमा अभिमुखीकरण

नेपाल सरकारद्वारा सञ्चालित स्वास्थ्यबिमा कार्यक्रम रूपन्देहीमा पनि सुरु गरिएको छ । आगामी ३ वर्षभित्र देशका सबै नागरिकलाई स्वास्थ्यबिमा कार्यक्रममा समेट्ने रणनीतिअनुसार आउँदो साउनदेखि रूपन्देहीमा पनि विस्तार गर्न लागिएको स्वास्थ्यबिमा बोर्डले जानकारी दिएको छ ।

कार्यक्रमअन्तर्गत यतिवेला यहाँका स्थानीय तहहरूमा स्वास्थ्यबिमासम्बन्धी अभिमुखीकरण कार्यक्रम सञ्चालन गरिएको छ । रूपन्देहीको तिलोत्तमा नगरपालिकामा स्थानीय तहका सरोकारवाला तथा स्वास्थ्यकर्मीको बीचमा स्वास्थ्यबिमासम्बन्धी अभिमुखीकरण गरिएको छ ।

नेपाल सरकार स्वास्थ्यबिमा बोर्ड काठमाडौंको आयोजनामा भएको कार्यक्रममा बोर्डका तर्फबाट सहजीकरण गर्दै सहजकर्ता रामकुमार श्रेष्ठ र हीरा शाहले बिमाको पृष्ठभूमि, उद्देश्य, दर्ताप्रक्रिया तथा सुविधाका विषयमा प्रस्ट पारेका थिए । गरिबीको रेखामुनि रहेका अति विपन्न परिवारका व्यक्तिहरूमा समेत स्वास्थ्यसेवाको पहुँचमा पुर्याउने कार्यक्रमको लक्ष्य रहेको त्यस अवसरमा जानकारी गराइएको थियो ।

कार्यक्रममा तिलोत्तमा नगरपालिकाका प्रमुख वासुदेव घिमिरेले कार्यक्रमको उद्देश्य महत्वपूर्ण रहेको बताउँदै दीर्घरोगहरूको समेत उपचार हुने गरी समेट्दा अझ उपयुक्त हुने बताए । उनले भने, ‘सरकारले तोकेको बिमा रकममा नगरपालिकाको तर्फबाट के–कति सहयोग गर्न सकिन्छ, त्यसबारे उपयुक्त निर्णय गर्छौं ।’

तिलोत्तमा नगरपालिकाका स्वास्थ्यशाखा संयोजक काशीनाथ बन्जाडेले नेपाल सरकारको स्वास्थ्यबिमा कार्यक्रमबारे सबैले बुझ्नु आवश्यक रहेको बताए । कार्यक्रममा नगरपालिकाभित्रका वडाध्यक्षहरू, विभिन्न राजनीतिक दलका प्रतिनिधि, संघ–संस्थाका प्रतिनिधि, स्वास्थ्यकर्मीलगायतको सहभागिता थियो ।

स्वास्थ्यबिमा कार्यक्रममा आबद्ध हुन चाहने पाँचजना सदस्यसहितको परिवारले बिमाशुल्कबापत प्रत्येक वर्ष २ हजार ५ सय रूपैयाँका दरले शुल्क बुझाउनुपर्नेछ । ५ भन्दा बढी सदस्य हुने परिवारले प्रत्येक अतिरिक्त सदस्यबापत थप ४ सय २५ रूपैयाँका दरले शुल्क बुझाउनुपर्नेछ । बिमारकम तिर्न नसक्ने विपन्न वर्गको हकमा भने सरकारले नै बिमाशुल्क तिरिदिने व्यवस्था छ । उक्त व्यवस्थाअन्तर्गत सरकारले अति विपन्न नागरिकलाई शतप्रतिशत, विपन्नलाई ७५ प्रतिशत तथा गरिबीको रेखामुनि रहेका नागरिकलाई ५० प्रतिशतका दरले बिमाबापतको शुल्क तिरिदिने व्यवस्था छ ।

सरकारले बिमा कार्यक्रममा आबद्ध सदस्यहरूको निःशुल्क उपचारकै लागि विभिन्न जिल्ला अस्पताल, प्राथमिक स्वास्थ्यकेन्द्र, सरकारी तथा निजी अस्पतालहरूसित सम्झौतासमेत गरेको छ । बिरामीको अवस्था, अस्पतालले दिने सुविधा तथा नजिकको पायक पर्ने स्थानका आधारमा समितिले अस्पतालहरूको सूची तयार पारेको छ । त्यही सूची तथा सम्झौताका आधारमा बिरामीले विभिन्न सरकारी तथा निजी अस्पतालबाट स्वास्थ्यसेवा लिइरहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय