शल्यक्रियाबाट जन्मिएका बच्चामा अकल्पनीय स्वास्थ्य समस्या हुन्छ, तैपनि अस्पतालले अनावश्यक चिरिरहेका छन्

नेपालमा पछिल्लो समय शल्यक्रियामार्फत प्रसूति गराउने ट्रेन्ड तीव्र गतिमा बढ्दो छ । विश्व स्वास्थ्य संगठनको मापदण्डअनुसार आमा र बच्चाको स्वास्थ्यअवस्थालाई हेरेर बढीमा १५ प्रतिशतसम्म डेलिभरीमा शल्यक्रियाको आवश्यकता पर्छ । तर, यस हिसाबले हेर्दा नेपालको अवस्था विकराल छ । नेपालमा सरकारी स्वास्थ्यसंस्थामा कुल डेलिभरीको ३५ प्रतिशत र निजीमा ८० प्रतिशतसम्म शल्यक्रियामार्फत हुने गरेको तथ्यांक छ । प्रसूतिमा किन यसरी अस्वाभाविक रूपमा शल्यक्रिया (सिजेरियन सेक्सन) मौलाउँदो छ, शल्यक्रियाबाट प्रसूति हुँदा आमा तथा बच्चामा के–कस्ता जोखिम रहन्छन्, महिलामा यसबारे जनचेतनाको स्तर कुन अवस्थामा छ, यीलगायत विषयमा केन्द्रित भएर यौन तथा प्रजनन स्वास्थ्य एवम् जनस्वास्थ्य विशेषज्ञ डा. लक्ष्मी तामाङसँग हेल्थपोस्टकर्मी पुष्पराज चौलागाईंले गरेको कुराकानीको सम्पादित अंश :

नेपालमा शल्यक्रियामार्फत प्रसूतिको पछिल्लो अवस्था कस्तो पाउनुभएको छ ?
नेपाल सरकारको तथ्यांकलाई हेर्ने हो भने सरकारी अस्पतालमा हुने गरेका प्रसूतिमा १६ देखि ३७ प्रतिशतसम्म शल्यक्रिया हुने गरेको छ । चालू आर्थिक वर्षको चैत मसान्तसम्मको तथ्यांकअनुसार भरतपुर अस्पतालमा ३७ प्रतिशत सि–सेक्सनमार्फत शल्यक्रिया भएको पाइएको छ । निजी अस्पतालमा हेर्ने हो भने यो संख्या ८० प्रतिशतसम्म रहेको पाइएको छ ।

नेपाल जनसांख्यिक तथा स्वास्थ्य सर्वेक्षण २०१६ ले पनि औसतमा ३५ प्रतिशत निजी अस्पतालमा हुने देखाएको छ । नेपाल जनसांख्यिक तथा स्वास्थ्य सर्वेक्षण ५ वर्षको फरकमा हुने गर्छ । पछिल्लो सर्वेक्षणको प्रतिवेदनले सहरिया महिला, पहिलोपटक बच्चा जन्माउने महिला, सम्पन्न घरका शिक्षित महिलाले बढी अप्रेसन गरेर बच्चा पाउने गरेको देखाएको छ ।

पहिलो प्रसूतिका क्रममा अप्रेसन गरिएको छ भने दोस्रोपटक पनि अप्रेसन गर्नुपर्ने सम्भवना बढी हुन्छ । डेनमार्कको एक अनुसन्धानले शल्यक्रियामार्फत जन्मिएका बालकमध्ये करिब ५० प्रतिशतमा पछि गएर दमरोग देखापरेको देखाएको छ ।

महिलामा शल्यक्रियामार्फत प्रसूति गराउँदा पीडा र जोखिम दुवै कम हुन्छ भन्ने धारणा रहँदै आएको छ नि ?
कतिपय महिलाले प्राकृतिक प्रक्रियाबाट बच्चा जन्माउन नचाहने गरेको पाइएको छ । उनीहरूमा दुईवटा बच्चा पाउनका लागि कसले जोखिम लिइरहन्छ भन्ने धारणा छ । तर, यो सोचाइको मुख्य कारण भनेको महिलामा यससम्बन्धी गलत बुझाइ र चेतना अभाव नै हो ।

अस्पतालमा सेवा लिन जाँदा जुनकिसिमको सूचना पाउनुपर्ने हो, त्यो पूर्ण रूपमा नपाएपछि सजिलो उपायका रूपमा अप्रेसन नै रोजिरहेको अवस्था छ । अस्पतालहरूले मानसिक रूपमै महिलालाई अप्रेसन गर्नतर्फ केन्द्रित गराएको पाइन्छ । अप्रेसन गर्दा कति प्रतिशत जोखिम हुन्छ, कति प्रतिशत सामान्य हुन्छ, बच्चा तथा आमामा के–कस्ता जोखिम हुन्छन् जस्ता कुरामा सायदै महिलाको जानकारी पुगेको होला । जनचेतना अभावमै व्यथा नखपी सजिलैसँग अप्रेसनमार्फत प्रसूति हुने बाटो रोज्ने गरेको पाइन्छ ।

शल्यक्रिया गर्दा आमा तथा बच्चामा जोखिम छन् भन्नुहुन्छ, के–कस्ता जोखिम रहन्छन् ?
हाम्रो शरीरमा सानो चोट लाग्दा पनि दीर्घकालसम्म दाग बस्ने गर्छ । अप्रेसन गरेर प्रसूति गराउँदा आमालाई भन्दा पनि बच्चालाई दीर्घकालीन रूपमा जोखिम रहन्छ । आमालाई पहिलोपटक अप्रेसन गरेर प्रसूति भएको हो भने दोस्रोपटक गर्भवती हुँदा सालनाल चिरिएको ठाउँमा टाँसिन सक्ने समस्या आउने गर्छ । त्यसैगरी, ३ वर्षभन्दाअघि नै गर्भवती भएमा पाठेघर फुट्न सक्ने सम्भावना रहन्छ । किनभने, जुन टाँका लगाएको ठाउँ हुन्छ, त्यसको घाउ पूर्ण रूपमा निको भए पनि त्यसको तन्किन सक्ने क्षमता न्यून हुन्छ ।

पहिलो प्रसूतिका क्रममा अप्रेसन गरिएको छ भने दोस्रोपटक पनि अप्रेसन गर्नुपर्ने सम्भवना बढी हुन्छ । डेनमार्कको एक अनुसन्धानले शल्यक्रियामार्फत जन्मिएका बालकमध्ये करिब ५० प्रतिशतमा पछि गएर दमरोग देखापरेको देखाएको छ । १७ हजार ५ सय जना स्वाभाविक रूपमा योनिमार्गबाट जन्मिएका र त्यति नै संख्यामा अप्रेसनमार्फत जन्मिएका गरी १८ वर्ष पूरा भइसकेका ३५ हजार व्यक्तिमा उक्त अनुसन्धान गरिएको थियो । स्वाभाविक रूपमा जन्मिएका र अप्रेसनमार्फत जन्माइएको बराबर संख्याका ती व्यक्तिहरूबीच गरिएको तुलनात्मक अध्ययनमा अप्रेसनमार्फत जन्मिएकामध्ये आधाजसोमा चढ्दो उमेरमै दमरोग देखिएको हो ।

महिलाले सात–आठ घण्टासम्म व्यथा किन खप्ने, अप्रेसन गरे त झन्झट नै हुँदैन भन्ने किसिमले क्षणिक फाइदा हेरेको पाइन्छ । दीर्घकालीन रूपमा अप्रेसनको आफू र बच्चामा कस्तो प्रभाव पर्छ भन्नेतर्फ उनीहरूको सोच र बुझाइ पुगेको हुँदैन ।

यौनिमार्गबाट प्राकृतिक रूपमा बच्चा जन्माउँदा के–कस्ता फाइदा हुन्छन् ?
प्राकृतिक रूपमा यौनिमार्गबाट जन्मिएका बच्चामा प्राकृतिक रूपमा समस्यासित जुध्ने क्षमता बढी हुन्छ । आमाको योनिद्वार सानो हुन्छ । बच्चा जन्मिँदा ३, साढे ३ केजीको जन्मिन्छ । सानो प्वालबाट ३ केजीको बच्चा निस्कनेक्रममा टाउको (खप्पर)मा रहेका धेरै प्वालहरू खप्टिएर जन्मिने भएका कारण प्राकृतिक रूपमा समस्यासँग जुझ्ने क्षमता वृद्धि हुन्छ ।

पाठेघरमा बच्चा पानी (एमुनियुटी फ्ल्युट)मा बसेको हुन्छ । पानीमा बस्दा बच्चाले मुख तथा आँखा चलाइरहेको हुन्छ । सालनालमार्फत श्वास फेर्ने भएका कारण पानी खाए पनि सर्किने हुँदैन, किनभने बच्चाको फोक्सोले काम नै गरेको हुँदैन । सानो यौनिमार्गबाट बच्चा जन्मिनेक्रममा करङहरू एकअर्कामा खप्टिन्छन् । खप्टिनेक्रममा बच्चाको फोक्सो पनि च्यापिन्छ । बच्चा च्यापिएपछि मुखबाट थोरै पानी निस्कन्छ । आमाको यौनिमार्गबाट बच्चा निस्किएपछि उसले मुखबाट हावा लिन सक्छ र फोक्सो पानीविहीन हुन्छ । त्यसैले यौनिमार्गबाट निस्केका बच्चालाई दम हुने सम्भावना धेरै कम हुन्छ ।

पहिलोपटक बच्चा जन्माउँदा साधारणतया महिलालाई १० घण्टा देखि १२ घण्टासम्म व्यथा लाग्छ । दोस्रोपटक ५ वर्षभित्रमा बच्चा जन्माउनेलाई ६ देखि ८ घण्टा व्यथा लाग्छ । व्यथा लाग्नेक्रममा बच्चा पाठेघरबाट तल सर्दै गरेको हुन्छ । योनिमार्गमा बच्चा तीन–चार घण्टासम्म रहनेक्रममा यौनिमार्गमा भएको नर्मल भेजाइनल फ्लोराहरू बच्चाको मुख, आँखा, नाक, कानबाट पस्ने भएका कारण उसले प्रतिरक्षात्मक क्षमता प्राप्त गर्ने अध्ययनले देखाएको छ ।
महिलाले सात–आठ घण्टासम्म व्यथा किन खप्ने, अप्रेसन गरे त झन्झट नै हुँदैन भन्ने किसिमले क्षणिक फाइदा हेरेको पाइन्छ । दीर्घकालीन रूपमा अप्रेसनको आफू र बच्चामा कस्तो प्रभाव पर्छ भन्नेतर्फ उनीहरूको सोच र बुझाइ पुगेको हुँदैन ।

धेरै अस्पतालले मापदण्डविपरीत प्रक्रिया अपनाएर शल्यक्रियामार्फत प्रसूति गराइरहेको सुनिन्छ, यस्तो प्रवृत्ति बढ्नुको कारण के हो ?
प्रसूतिमा शल्यक्रिया सुरक्षित होइन, शल्यक्रिया गर्दा सबै रक्तनली खुलेका हुन्छन् । रक्तनली खुल्नेवेलामा पाठेघर चिरिएको हुन्छ । चिर्नेक्रममा रगतका नली पनि चिरिने, काटिने हुन्छन् । पाठेघरमा भएको पानी (एमुनियुटी फ्ल्युट) रक्तनलीमा पसेर मुत्यु भएका घेरै घटना छन् । तर, हाम्रो जस्तो देशमा यस्ता घटना बाहिर निस्कने गरेका छैनन् ।

प्रसूतिका लागि अप्रेसन गर्दागर्दै महिलाको के कारणले मुत्यु भयो भन्ने कुराको खोजतलाजसम्म पनि हामीकहाँ हुँदैन । विकसित मुलुकमा महिलाको अधिकार, त्यसमाथि पनि बच्चा पाउने महिलाका हकमा विशेष अधिकार सुनिश्चित गरिएका कारण यसकिसिमका घटनामा खोजतलास हुने गर्छन् । हाम्रो देशमा त जतिसक्यो यस्ता घटनालाई ढाकछोप गरेर राख्ने तथा स्थास्थ्यकर्मीलाई बचाउनेतर्फ पूरै संयन्त्र लाग्छ । सरकारले आमा सुरक्षा कार्यक्रम दिइरहेको छ ।

पाटन, टिचिङजस्ता अस्पतालले यो सेवा लिनुपर्ने हो, तर, उनीहरूले लिएका छैनन् । किनभने, म्याटर्निटी वार्डलाई आयको मुख्य स्रोतका रूपमा लिने गरेका छन् । पाटन अस्पतालमा करिब ४५ प्रतिशत महिलाले अप्रेसन गरी बच्चा जन्माउने गरेको पाइन्छ । त्रिभुवन विश्वविद्यालय टिचिङ अस्पतालमा पनि करिब ४५ प्रतिशत गर्भवती महिलाले शल्यक्रिया गरी बच्चा जन्माउने गरेको पाइएको छ । नेपाल सरकारले महिलाको अकालमा मुत्यु नहोस्, स्वास्थ्यसंस्थामा आएर सुत्केरी गराऊन् भनेर कार्यक्रम लागू गरेको हो । सरकारकै बजेट पाउने संस्थाहरूले यो सेवा लागू नगर्नु अनौठो विषय हो ।

नक्कली व्यथा लागाइसकेपछि पाठेघर चाँडो–चाँडो खुम्चिने गर्छ, बच्चाले अक्सिजन पाउँदैन । त्यसमाथि पनि आमा उत्तानो परेर सुतेकी हुन्छिन् । उत्तानो परेर सुत्दा मेरुदण्ड र बच्चाको बीचको भागमा जुन रगतको नली हुन्छ, त्यो थिचिइसकेपछि आमाको रक्तनलीबाट बच्चाले श्वास फेर्न पाउँदैन र बच्चा छटपटिन्छ ।

कस्तो अवस्थामा शल्यक्रिया अत्यावश्यक हुन्छ ?
विश्व स्वास्थ्य संगठनका अनुसार आमाको कारणले गर्दा ५ प्रतिशतसम्म अप्रेसन गर्नुपर्ने हुन्छ । किनभने, कुनै–कुनै आमाको नितम्ब नै साँघुरो हुन्छ, जसका कारण बच्चा तल नआउन सक्छ । कतिपय आमालाई रक्तचाप उच्च हुन्छ । यीलगायत अन्य विभिन्न समस्या भएका कारणले गर्दा ५ प्रतिशत महिलालाई शल्यक्रिया गर्नुपर्छ भनिएको हो ।

त्यसैगरी, बच्चाको कारणले पनि ५ प्रतिशत प्रसूतिमा शल्यक्रिया गर्नुपर्ने अध्ययनले देखाएको छ । किनभने, कुनै बच्चा आमाको पेटभित्र छड्के वा तेस्रो बसेको हुन्छ । कहिलेकाहीँ बच्चा अगाडि निस्कनुपर्नेमा नाल तथा साल अगाडि निस्कने हुँदा बच्चालाई बचाउनका लागि शल्यक्रिया गर्नुपर्ने हुन्छ । त्यसैले समग्रमा बढीमा १५ प्रतिशतसम्म शल्यक्रिया गर्न सकिन्छ भनेर विश्व स्वास्थ्य संगठनले जनाएको छ ।

महिलालाई अस्पतालहरूले अनावश्यक रूपमा शल्यक्रिया गर्न प्रेरित गराउने गरेको पनि आरोप छ नि ?
अस्पतालहरूले शल्यक्रिया मुख्य रूपमा बच्चाले दिसा खाएकाले शल्यक्रिया गर्नुपर्छ भनेर कारण देखाइरहेका हुन्छन् । व्यथा लगाउन योनिमार्गमा वेलै नभई सुई लगाइदिने गर्छन् । नक्कली व्यथा लागाइसकेपछि पाठेघर चाँडो–चाँडो खुम्चिने गर्छ, बच्चाले अक्सिजन पाउँदैन । त्यसमाथि पनि आमा उत्तानो परेर सुतेकी हुन्छिन् । उत्तानो परेर सुत्दा मेरुदण्ड र बच्चाको बीचको भागमा जुन रगतको नली हुन्छ, त्यो थिचिइसकेपछि आमाको रक्तनलीबाट बच्चाले श्वास फेर्न पाउँदैन र बच्चा छटपटिन्छ । त्यसपछि बच्चाले पाठेघरभित्रको पानीको थैलोमा दिसा गर्छ । अनावश्यक रूपमा अक्सिन्टोसिन दिने गरिन्छ । अक्सिन्टोसिन हाम्रो शरीरमा पनि निष्कासन हुन्छ, तर त्यसका लागि क्वाइट वातावरण बनाउनुपर्छ । धेरै होहल्ला गर्यो भने प्राकृतिक रूपमा अक्सिन्टोसिन हर्मोन निस्कँदैन । महिलामा मात्र नभएर स्तनधारी सबै प्राणीमा अक्सिन्टोसिन हर्मोन उत्पादन हुने गर्छ ।

महिलाको कमजोर चेतनास्तरका कारण उनीहरू अनावश्यक रूपमा सेवाको नाममा प्रसूति हिंसाको सिकार भइरहेका छन् । यसमा हाम्रो कमजोर कानुनी व्यवस्था र शिथिल संयन्त्रले पनि उत्तिकै भूमिका खेलिरहेको छ । अनावश्यक रूपमा स्लाइनपानी चढाउनु, यौनिमार्गबाट कृत्रिम व्यथा लाग्ने औषधि चलाउनुजस्ता विषयलाई विश्व स्वास्थ्य संगठनले पनि प्रसूति हिंसा भनेको छ । विश्वका कतिपय देशले प्रसूति हिंसासम्बन्धी ऐन नै पारित गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय