चाबहिलमा एनआरएनको निःशुल्क स्वास्थ्यशिविर

हेल्थपोस्ट नेपाल

गैरआवासीय नेपाली संघ (एनआरएन)को ‘ग्लोबल हेल्थ एन्ड हाइजिन कमिटी’ले काठमाडौं महानगर–७, चाबहिलमा निःशुल्क स्वास्थ्यशिविर सञ्चालन गरेको छ । शनिबार बिहान मैजुबहालस्थित बंगलामुखी मन्दिरमा आयोजित शिविरमा १ सय ५० भन्दा बढी स्थानीयले स्वास्थ्यजाँच गराए ।

मोरङ जिल्ला पुर्ख्यौली घर भई हाल संयुक्त राज्य अमेरिका (युएसए)मा ‘कार्डियोपल्मोनरी रिससिटेसन (सिपिआर)’को प्रशिक्षकका रूपमा कार्यरत, एनआरएन स्वास्थ्य समिति प्रमुख डा. सञ्जीव सापकोटाको नेतृत्वमा सञ्चालित शिविरका सेवाग्राहीले विभिन्न स्वास्थ्यपरीक्षणसेवासहित स्वास्थ्यसम्बन्धी परामर्श लिएका थिए । उच्च रक्तचाप, मधुमेह, अक्सिजन स्यानुरेसनलगायत विभिन्न स्वास्थ्यजाँचका साथै तिनले स्वास्थ्यमा पार्ने असर र अपनाउनुपर्ने सावधानीबारे बिरामीले स्वास्थ्यकर्मीसित परामर्श लिएका थिए ।

‘परीक्षणका क्रममा देखिएको डाइबिटिज र हाई ब्लडप्रेसरले विभिन्न रोगहरू निम्त्याउनुका साथै स्वास्थ्यमा गम्भीर जटिलता सिर्जना गर्न सक्छन्,’ डा. सापकोटाले भने, ‘त्यसैले यसलाई सामान्य नठानेर नियमित रूपमा चेकजाँच गराउनु र चिकित्सकको परामर्शअनुसार स्वस्थ आचरण अपनाउनु अन्यन्त जरुरी हुन्छ ।’
एनआरएन स्वास्थ्य समितिले आगामी दिनमा बृहत् रूपमा स्वास्थ्य शिविरहरू सञ्चालन गर्ने उनको भनाइ थियो ।

यसअघि, शुक्रबार डा. सापकोटाले बालुवाटारस्थित एनआरएनको सचिवालयमा मुटुको धडकन आकस्मात् थामिएमा कसरी सिपिआर दिएर धडकन फर्काउन सकिन्छ भन्नेबारे जानकारीमूलक प्रदर्शन गरेका थिए । डा. सापकोटा ‘अमेरिकन हार्ट असोसिएसन’का प्रशिक्षकसमेत हुन् ।

समाजसेवी भक्ति सिटौला तथा स्वास्थ्यकर्मी रवि खतिवडाको व्यवस्थापनमा सम्पन्न शिविरमा डा. सापकोटासहित अस्ट्रेलियामा जैविक विज्ञानसम्बन्धी अध्ययन गरिरहेका विद्यार्थी सुव्रत सिटौला, नर्सिङकी विद्यार्थी अभिश्री प्रसाईं, समाजसेवी तथा स्वयंसेविका काश्या अधिकारीलगायतले सेवा प्रदान गरेका थिए । शिविर सफल पार्न उत्साहपूर्वक सहयोग गरेकोमा डा. सापकोटाले वडावासीलाई धन्यवाद दिए ।

यसअघि, शुक्रबार डा. सापकोटाले बालुवाटारस्थित एनआरएनको सचिवालयमा मुटुको धडकन आकस्मात् थामिएमा कसरी सिपिआर दिएर धडकन फर्काउन सकिन्छ भन्नेबारे जानकारीमूलक प्रदर्शन गरेका थिए । डा. सापकोटा ‘अमेरिकन हार्ट असोसिएसन’का प्रशिक्षकसमेत हुन् ।

डा. सापकोटाले १२ वैशाख ०७२ को विनाशकारी महाभूकम्पपश्चात् सिन्धुपाल्चोक र धादिङ जिल्लामा निःशुल्क स्वास्थ्यशिविरहरू सञ्चालन गरेका थिए । त्यसैगरी, गत चैतमा तराईका बारा र पर्सामा विशाल हावाहुरीले आहत पुर्याएको समयमा डा. सापकोटाले नेपाली चिकित्सक विद्यार्थी संगठनसँग मिली प्रभावित क्षेत्रका सर्वसाधारण बिरामीको निःशुल्क स्वास्थ्यपरीक्षण गरेका थिए ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *