राप्ती प्रादेशिक अस्पतालमा सिकलसेल एनिमियाको जाँच सुरु, प्रदेश ५ सरकारको सहयोग

दाङको राप्ती प्रादेशिक अस्पताल, तुलसीपुरमा सिकलसेल एनिमियाको जाँच सेवा सुरु भएको छ । प्रदेश ५ सरकार र तुलसीपुर उपमहानगरपालिकाको आर्थिक सहयोगमा इलेक्ट्रोफोरेसिस मेसिन जडानपछि दाङमै पहिलोपटक सिकलसेल एनिमियाको जाँच सुरु भएको हो । सेवा सुरु भएसँगै बिरामीले सिकलसेल जाँच गर्न नेपालगन्ज वा काठमाडौं जानुपर्ने बाध्यता हटेको छ ।

प्रदेश सरकारको १० लाख र उपमहानगरपालिकाको ८ लाख रूपैयाँको लगानीमा मेसिन खरिद गरी सेवा सुरु गरेको अस्पतालका प्रमुख निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. सर्वेश शर्माले जानकारी दिए । उनका अनुसार सिकलसेल एनिमिया जाँचको अत्याधुनिक मेसिन आएकाले पूर्ण जाँच हुनेछ । जाँचपश्चात् सिकलसेल पुष्टि भएका बिरामीका लागि औषधि सिफारिस गरिने उनले बताए । ‘हामीले अत्याधुनिक मेसिन सञ्चालनमा ल्याएका छौँ, डाइग्नोस्टिक टुल प्रयोग गरेर पूर्ण रोगको जाँच गरेर सिकलसेल भएका बिरामीलाई औषधिका लागि सिफारिस गर्छौं,’ उनले भने । दाङ थारूहरूको बाहुल्य भएको जिल्ला भएको र यहाँका थुप्रै थारू समुदायमा सिकलसेल एनिमिया भएको भए पनि जाँच नगराउँदा समस्या भएपछि उक्त मेसिन ल्याउन पहल गरिएको डा. शर्माको भनाइ छ ।

थारू समुदायका अगुवाले पटक–पटक सबै थारूको सिकलसेल जाँच गर्नुपर्ने माग गर्दै आएका छन् । अब दाङका स्थानीय सरकारसँग सहकार्य गरेर सबै थारू समुदायलाई सिकलसेल एनिमिया जाँचका लागि उत्प्रेरित गर्दै पहुँच बिस्तार गर्नु जरुरी रहेको समेत उनले बताए ।

सिकलसेल जाँचका लागि अहिले बिएमएलटी इन्चार्जसहित ३ चिकित्सकलाई खटाइएको अस्पताल प्रशासनले जनाएको छ । निमित्त मेडिकल सुपरिटेन्डेन डा. शर्माका अनुसार उक्त मेसिनले दैनिक ५० बिरामीको जाँच गर्न सकिन्छ । ‘एकपटकमा ९ जनाको रगत जाँच गर्न सकिन्छ, यसरी जाँच गर्दा दैनिक ६ घण्टामा ५० जनाको जाँच गर्न सकिन्छ,’ डा. शर्माले भने ।

एक व्यक्तिको रगत जाँच गर्न एक हजार दुई सय रुपैयाँ लाग्नेछ । यसमा पनि स्थानीय सरकारले सहयोग गरेमा बिरामी जाँचसंख्याका आधारमा सम्बन्धित स्थानीय तहले भुक्तानी दिने हो भने वास्तविक बिरामीको संख्या पत्ता लाग्ने उनको भनाइ छ । ‘रगत जाँच गर्दा लाग्ने रकम अलि महँगो भएका कारण स्थानीय तहहरूले जाँचका लागि सहयोग गरिदिए यकिन तथ्यांक आउने थियो,’ शर्माले भने ।

अहिले दाङमा स्वास्थ्य कार्यालयको सिफारिसका आधारमा राप्ती स्वास्थ्यविज्ञान प्रतिष्ठानले सिकलसेलका बिरामीलाई एक लाखसम्मको निःशुल्क औषधिको व्यवस्था गरेको छ । तर, पछिल्लो समय प्रतिष्ठानमा औषधि अभाव छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय